कैलाली । सोमबार कैलालीमा पुलमा होली खेल्नेहरूको घुइँचो थियो । पर्यटकीय क्षेत्र भएको हुँदा पनि वरिपरिका युवाहरू होलीमा रङ्गिन कर्णाली पुगेका थिए ।
एक हुल युवाहरू कर्णाली पुलतर्फ लागे । केहीको शरीरको माथिल्लो भागमा लुगा थिए, रङ्गले रङ्गिएका थिए । पानीले रुझेका थिए ।
इलाका प्रहरी कार्यालय चिसापानीकाअनुसार माथिल्लो शरीरको कपडा फुकालेर सडकमा डुलिरहेका उनीहरूलाई नदीतर्फ नजान भनिएको थियो । तर साथीहरू धेरैपछि भेट भएकाले सामूहिक तस्बिर खिच्ने भन्दै उक्त समूह अघि बढ्यो ।
प्रहरीले सोधे, ‘कता हिँड्नु भएको ?’
‘ऊ पुलसम्म । फोटो खिचेर फर्किहाल्छौँ,’ उनीहरुले प्रहरीलाई भने ।
फाटो खिच्न भनेर पुल पुगेका युवाहरू एकाएक पुल माथिबाट हाम्फाल्न थाले ।
केहीले नगर भने । तर, एकएक गर्दै १७ जनाले पुलबाट हाम्फाल्न । तीमध्ये १६ औँ पटकमा हामफालेका लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही अहिलेसम्म पनि फेला परेका छैनन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरको टोली र स्थानीय समेतले शाहीको खोजी गरेपनि उनी भेटिएका छैनन् । साँझ परेका कारण मंगलबार९आज० लाई खोजी कार्य स्थगित गरिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए ।
‘हामीले सशस्त्र प्रहरीको गोताखोरको टोलीसहित नदीमा उहाँको खोजी गरेका थियौँ तर भेटिनुभएको छैन’, प्रहरी निरीक्षक डाँगीले भने, ‘आज साँझ परिसकेकाले खोजी कार्य स्थगित गरिएको छ । भोलि बिहानैदेखि पुनः खोजी गरिनेछ ।’
प्रहरी निरीक्षक डाँगीले कर्णाली नदीमा हामफालेकामध्ये ६ जनालाई घटनाबारे सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए । उनकाअनुसार उनीहरूलाई सोधपुछपछि मात्र घरपरिवारको जिम्मा लगाइनेछ ।