काठमाडौं । नेपालले आफ्नो दाबी गर्दै आएको दार्चुलाको कालापानी(लिम्पियाधुरा क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक औपचारिक कार्यक्रममा पुगेका छन् ।
भारतीय नियन्त्रणमा रहेको उक्त विवादित क्षेत्रमा भारतका प्रधानमन्त्री पहिलो पटक पुगेको भन्दै भन्दै नेपालमा कतिपयले आपत्ति व्यक्त गरेका छन्। भारतीय प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा मोदीले पार्वतीकुण्डमा पूजा गर्ने र गुन्जी गाउँका बासिन्दाहरूसँग अन्तरक्रिया गर्ने तथा स्थानीय उत्पादनहरूको प्रदर्शनी अवलोकन गर्ने उल्लेख छ।
कतिपयले गुन्जी गाउँ नेपालले आफ्नो दाबी गर्दै आएको क्षेत्रमा पर्ने बताएका छन्। त्यस ठाउँमा यसअघि नेपालले जनगणना समेत गरेको बताइन्छ। एकजना पत्रकार शुभक महतोले मोदीको उक्त क्षेत्र भ्रमणको भिडिओ सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै परराष्ट्र मन्त्रालयको धारणा माग गरेका छन्।
नेपाललाई जानकारी नदिइएको दाबी
नेपालले दाबी गर्दै आएको क्षेत्रमा भारतीय प्रधानमन्त्रीको भ्रमणबारे भारतले नेपाललाई औपचारिक जानकारी नगराएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
गृह मन्त्रालयका अधिकारीहरूका अनुसार नेपालको गुप्तचर निकायले गराएको जानकारीपछि मात्रै मोदीको भ्रमणबारे नेपाललाई थाहा भएको आफ्नो नाम उल्लेख नगर्ने सर्तमा ती जानकारी दिएका हुन्।
दार्चुला जिल्लाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले आफूहरूले अनौपचारिक माध्यमबाट जानकारी पाए पनि भारतीय पक्षले उक्त भ्रमणबारे केही जानकारी नदिएको बताइन्।
“हामी त्यहाँ जान, हेर्न पाउँदैनौँ। भारतीय प्रधानमन्त्री पिथौरागढ आएको जानकारी छ। नेपालको भूमिमा पनि गए वा नगएकोबारे यकिन गर्न सकिरहेका छैनौँ,” उनले भनिन्।
भारतका प्रधानमन्त्री मोदीको सामाजिक सञ्जालमा पार्वतीकुण्डमा उनले पूजा गरिरहेका तस्बिरहरू राखिएका छन्। उनले गुन्जीमा तिब्बतसँगको सीमामा खटिएका भारतीय सैनिकहरू र सीमामा सडक निर्माणमा संलग्न निकायका अधिकारीहरूसँग पनि अन्तरक्रिया गरेको भिडिओहरू उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले (यसअघि ट्विटर भनिने) सामाजिक सञ्जाल एक्समा राखेका छन्।
नेपालका परराष्ट्र मन्त्रालयका अधिकारीहरूले मोदीको भ्रमणबारे स्थानीय अधिकारीहरूबाट जानकारी लिने कार्य भइरहेको बताए पनि औपचारिक टिप्पणी गर्न अस्वीकार गरे।
विवादित क्षेत्रमा भारतको निरन्तर गतिविधि
नेपालले आफ्नो दाबी गर्दै आएको लिपुलेक(कालापानी क्षेत्रमा भारतले निरन्तर सडक विस्तार गरिरहेको अधिकारीहरू बताउँछन्।
भारतले पिथौरागढ हुँदै लिपुलेक र त्यहाँबाट तिब्बतको मानसरोवर जान सकिने सडक विस्तार गरिरहेको छ। अहिले अधिकांश भारतीयहरू नेपाली बाटो हुँदै तिब्बतको मानसरोवर जाने गरेका छन्।
भारतीय प्रधानमन्त्री मोदीले गत वर्ष नेपाल र भारतबीच विवादित भूमि लिपुलेकमामा सडक विस्तार गर्ने बताएका थिए।
नेपालमा कञ्चनपुरको भीमदत्तबाट १०० किलोमिटर टाढाको सहर हल्द्वानीमा राज्य विधानसभा निर्वाचनको पूर्वसन्ध्यामा पुगेका मोदीले लिपुलेकमा भारतीय जनताहरूलाई मानसरोवर र कैलाश पहुँच सहज बनाउन सडक विस्तार गर्ने योजनाअघि सारिएको बताएका थिए।
मोदीले उक्त क्षेत्रमा विकास र पूर्वाधार निर्माणका लागि ४२ अर्ब भारतीय रुपैयाँ बजेट घोषणा गर्ने कार्यक्रम पनि रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसअघि भारतले महाकाली नदीको प्राकृतिक धार नेपालतर्फ सोझ्याउँदै तटबन्ध निर्माण कार्य अघि बढाएको विषयमा नेपाल सरकारले गत वर्ष भारतलाई कूटनीतिक नोट पठाएको थियो।
संसदमा रविको आक्रोस
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमिमा आएकोबारे सरकारको धारणा माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै छिमिकी मुलुकको प्रधानमन्त्री आउँदा सरकारले किन औपचारिक कार्यक्रम नराखेको ? भन्दै प्रश्न गरे ।