काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन्। शनिबार बिहान प्रदेश प्रमुख परशुराम खार्पुङले उनलाई संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनी सत्ता साझेदार कांग्रेससहितको गठबन्धनले उठाएका उम्मेदवार भने होइनन्।
गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। तर कार्कीले एमालेका ३९ सांसदसहित कांग्रेस इतर समूहका ८ सांसद जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। कांग्रेसको कोइराला परिवार निकट मानिने उनलाई संस्थापन इतर पक्षका नेता शेखर कोइरालाको समर्थन थियो। कोशीमा कोइराला पक्षका अन्य ७ सांसदकै सहयोगमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन्।
मुख्यमन्त्रीमा दाबी पेस गरेपछि नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिले कार्कीलाई समर्थन गर्ने अन्य ७ सांसदलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको थियो। प्रदेशबाट जोर नचलेपछि केन्द्रमा शेखरलाई फकाउने प्रयास भएका थिए। शुक्रबार मात्रै विवादबारे समाधान गर्न कांग्रेस सभापति शेरबहादुर देउवाको निमन्त्रणमा धुम्बाराहीमा प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो। उक्त बैठकमा शेखर उपस्थित भएका थिएनन्। शेखरले गठबन्धनका सबै प्रस्ताव अस्वीकार गर्दै बैठक बहिष्कार गरेका थिए। बैठक शनिबार बिहान पुनः बोलाइएको थियो, तर बैठक बस्न सकेन। राष्ट्रपति, प्रधानमन्त्री र पार्टी सभापतिको दबाब अस्वीकार गर्दै कोइरालाले कोशीमा अगाडि बढाइएको कदमबाट फिर्ता नहुने अडान लिएका थिए।
गठबन्धनविरुद्ध विद्रोह गरेर शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्की कोइराला परिवार निकट मानिन्छन्। स्वर्गीय गिरिजाप्रसाद कोइराला र नोना कोइरालाको अभिभावकत्वमा कार्कीले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक करियर सुरु गरेका थिए।
२०४४ मा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उनी २०५२ मा महेन्द्र मोरङ क्याम्पसको क्याम्पस इकाइ सभापति बनेका थिए। २०५९ मा जिल्ला सभापति हुँदै उनी २०६३ मा केन्द्रीय सदस्य बनेका थिए।
२०७४ मा पहिलोपटक निर्वाचनमा सहभागी भएका उनी पहिलो प्रदेशसभामा मोरङ ६ (ख)मा एमालेका रमेश पोखरेललाई पराजित गर्दै निर्वाचित भएका थिए। संसदीय दलको प्रमुख सचेतक हुँदै २०७८ मा उनी आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए।
गत वर्ष मंसिर ४ मा सम्पन्न निर्वाचनमा कार्की नेकपा एमालेका परशुुराम बस्नेतलाई पराजित गर्दै निर्वाचित भएका थिए।
आठ महिनामै सबै विकल्प प्रयोग
कोशी प्रदेशमा सरकार नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएका छन्। शनिबार प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। नियुक्ति गर्नुअघि प्रदेश प्रमुख कार्यालयमा सांसदहरूको सनाखत गराइएको थियो। कार्कीको पक्षका ४७ सांसदले सनाखत गरिदिएपछि उनी नै मुख्यमन्त्री नियुक्त भएका हुन्।
कार्की जस्तै मुख्यमन्त्रीमा दाबी पेश गरेका माओवादी केन्द्रका इन्द्र आङ्बो पक्षका सांसदहरू भने सनाखतका लागि उपस्थित भएका थिएनन्।
कार्की संविधानको धारा १६८ ९५० अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन्। 'नेपालको संविधानको धारा १६८ (५) बमोजिम तपाईंलाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेको छुु, खापुङले कार्कीलाई नियुक्त सम्बन्धी पत्रमा भनिएको छ, 'मुख्यमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाईसहित कार्यकालको सफलताको कामना गर्दछु।'
कार्कीको नियुक्तिसँगै कोशी प्रदेशमा सरकार गठनका लागि सबै संवैधानिक विकल्प प्रयोग भएको छ। र यसका लागि करिब आठ महिना मात्रै खर्च भएको छ।
प्रदेश सभामा कुनै पनि पार्टीको बहुमत नरहेकाले संविधानको धारा १६८ ९१० अनुसारको सरकार गठनको सम्भावना थिएन।
त्यसैले सुरुवातमै १६८ ९२० को सरकार गठनका लागि आह्वान भएको थियो। सोही अनुसार एमाले र माओवादी केन्द्र लगायतका दलको सहयोगमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएका थिए। उनको सरकार ढलेपछि सोही उपधारा अनुसार कांग्रेसका उद्धव थापा दुई पटक मुख्यमन्त्री नियुक्त भएका थिए। तर पहिलो पटक उनको नियुक्त असंवैधानिक र दोस्रो पटक उनले लिएको विश्वासको मत असंवैधानिक ठहर भएको थियो।
चौथो मुख्यमन्त्रीका रुपमा पुनः कार्की नै आएका थिए। उनी संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको रुपमा मुख्यमन्त्री नियुक्त भएका थिए। तर, उनले पनि विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएका थिए।
प्रदेश प्रमुख खापुङले असोज २० मा धारा १६८ ९५० अनुसारको सरकार गठनका लागि आह्वान गरेका थिए। बहुमतको आधार देखाउन सक्ने प्रदेश सभाका जुनसुकै सदस्यले यस अनुसार दाबी प्रस्तुत गर्न सक्ने भएको र नयाँ मुख्यमन्त्री नियुक्त नभए मध्यावधि निर्वाचनमा होमिने भएकाले यो उपधाराको प्रयोगलाई चासोपूर्वक प्रतीक्षा गरिएको थियो।
बिहीबार माओवादी केन्द्रका आङ्बो र कांग्रेसका कार्कीले दाबी प्रस्तुत गरेका थिए। तर केही सांसदलाई दुवैले आफ्नो समर्थकको रुपमा प्रस्तुत गरेकाले प्रदेश प्रमुख खापुङले शनिबार सनाखत गराएका हुन्।
मुख्यमन्त्री नियुक्त भएका कार्कीले तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। उनले विश्वासको मत नलिएमा वा लिन नसकेमा ६ महिनाभित्र प्रदेश सभाका लागि अर्को निर्वाचन हुनेछ।
कार्की कांग्रेसका शेखर कोइराला पक्षका सांसद हुन्। उनलाई आफ्नो दलभन्दा पनि एमालेको समर्थन छ। उनका लागि एमालेका ३९ सांसदले हस्ताक्षरयुक्त समर्थन दिएका थिए। तर, केन्द्रीय गठबन्धनमा कांग्रेस र माओवादी केन्द्र लगायतका दलहरू एक ढिक्का भएकाले कोशीमा पनि कार्कीलाई मुख्यमन्त्री मानेर सत्ता निरन्तरता दिने सम्भावना ज्यादा देखिन्छ। तर यसबारे आगामी दिनमा नै प्रष्ट हुनेछ।