काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि गठबन्धन गर्ने सहमति भएको छ । गए राति एमाले अध्यक्ष केपी ओली कांग्रेस सभापति शेरबहादुर देउवाबीच आलोपालो प्रधानमन्त्री बन्ने पनि सहमति जुटेको हो ।
दुई दलबीच एमाले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने गरी सहमति जुटेको हो ।
सहमतिअनुसार ओली नेतृत्वको सरकारमा एमालेले अर्थसहित ९ मन्त्रालय र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने सहमति जुटेको छ।
यस्तै एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने ओली-देउवाबीच सहमति बनेको छ ।
यस्तै दुई दलबीच निर्वाचन प्रणालीलगायतमा संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने सहमति पनि भएको छ ।
यस्तो छ, प्रारम्भिक मस्यौदामा
कांग्रेस र एमालेबीच केपी ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको छ ।
सुरुको चरण एमाले अध्यक्ष ओलीले, दोस्रो चरणमा कांग्रेस सभापति देउवाले सरकार चलाउने छन् । संविधानको धारा ७६.२ अन्तर्गतकै सरकार बनाउन चाहेका यी दलले संविधानको व्याख्याबारे राष्ट्रपति कार्यालयको स्पष्टता चाहेका छन् ।
ललितपुरमा एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकसहितको छलफलमा यो समझदारीको प्रारम्भिक खाका तयार भएको थियो । खाका तयार गरिसकेर नेताहरु सभापति देउवा र अध्यक्ष ओलीसहित एक व्यवसायीको महाराजगन्जस्थित निवासमा छलफल गरेका छन् ।
छलफलमा सहभागी एक नेताका अनुसार सहमतिको प्रारम्भिक खाका अनुसार उनीहरुले प्रदेश सरकारहरुमा पनि ३र३ वटा सरकार बाँडेका छन् । मधेश प्रदेशमा चाहिँ मधेशकेन्द्रित दलकै नेतृत्व हुन सक्ने उनीहरुको समझदारी छ ।
उनीहरुले संविधान संशोधनका लागि प्रारम्भिक सहमतिको खाका तयार गरेका छन्, जसमा समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी छ ।
प्रतिनिधिसभा र राष्ट्यि सभा दुवैको सिट संख्याबारे पनि पुनर्विचार गर्न सकिने सम्भावनाबारे समेत छलफल भएको छ । पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्न संविधान संशोधन प्रस्तावमा सहमति गर्ने सम्भावना छ । संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने उनीहरुले तयारी गरेका छन् ।
प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने विकल्पबारे उनीहरुबीच छलफल भएको छ । देउवा र ओलीले हस्ताक्षर गरेर सहमतिलाई पूर्णता दिने तयारी छ ।
सत्ता समीकरणका लागि सोमबारको समय(चक्र स् बालुवाटार बार्दलीदेखि चपली हाइटसम्म
यसरी सफल भयो सहमतीको दौड
बिहान ९ बजे : बालुवाटार बार्दली
प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच डेढ घण्टा वार्ता । ओलीका असन्तुष्टि सम्बोधन गर्न दाहालको प्रयास, ओलीले चाहे प्रधानमन्त्री तत्काल छाडिदिन दाहालको प्रस्ताव । तर ओलीले प्रधानमन्त्रीभन्दा पनि एजेन्डामा असन्तुष्टि जनाए । उनलाई मनाउन धितोपत्र बोर्ड ९सेबोन० का अध्यक्षको नियुक्ति प्रक्रिया तुरुन्तै थाल्ने, बजेटका असन्तुष्टि सम्बोधन गर्ने, उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउने दाहालको प्रतिबद्धता । ‘स्वर्ग र नर्क जहाँ गए पनि सँगै जाने’ वचन लेनदेन गरेर वार्ता समाप्त ।
अपराह्न ३ बजेः कांग्रेस पदाधिकारी बैठक
ओलीसँग संवाद भएको र सम्बन्ध सुमधुर बनेको देउवाद्वारा जानकारी । यसबारे गरिएका अनुमान स्वाभाविक रहेको देउवाको टिप्पणी ।
अपराह्न ४ बजे: भिभान्तामा मस्यौदा
एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकबीच ललितपुर झम्सिखेलस्थित होटल भिभान्तामा भेटघाट । संविधान संशोधनसहितको एजेन्डामा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिपत्रको मस्यौदा तयार ।
अपराह्न ४ बजे : मन्त्रिपरिषद् बैठक
ओलीको चासो सम्बोधन गर्न भन्दै सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया फेरि अघि बढाउन पुरानै समिति जगाउने निर्णय । गठबन्धन र सरकार तलमाथि केही नहुने भन्दै ढुक्क हुन मन्त्रीहरूलाई प्रधानमन्त्री दाहालको ‘ब्रिफिङ’ ।
अपराह्न साढे ४ बजेः ओली–देउवा संक्षिप्त भेट
बबरमहलस्थित एक घरमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता । सहमतिको मस्यौदा बनाएर सोमबार नै हस्ताक्षर गर्ने सहमति ।
अपराह्न ५ बजे : संसद्मा ओली
संसद् पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सञ्चारकर्मीहरूको प्रश्न– प्रधानमन्त्रीको शपथ कहिले लिनुहुन्छ ? ओलीको जवाफ– यो वर्ष त त्यस्तो लाग्दैन मलाई ।
साँझ ६ बजे: माओवादी पदाधिकारी बैठक
प्रधानमन्त्री दाहाल र माओवादीका पदाधिकारीबीच छलफल । सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहने, निर्वाचनमा एमालेसँग तालमेल गर्ने र निर्वाचनपछि कम्युनिस्ट एकता गर्ने योजना रहेको ब्रिफिङ ।
राति ९ बजे :दुवै नेता सहकर्मीसँग
कांग्रेस सभापति देउवाको बुढानीलकण्ठस्थित निवासमा कांग्रेसका नेताहरूबीच छलफल । उता, एमालेका मन्त्री तथा सचिवालय सदस्यहरू ओली निवास बालकोटमा । कांग्रेससँगको सम्भावित सत्ता सहकार्यबारे आएका समाचारमाथि मन्त्री र नेताहरूको जिज्ञासा । छलफल चले पनि आफू यही सरकार अघि बढाउन सकारात्मक रहेको ओलीको जवाफ । उपाध्यक्ष विष्णु पौडेल र उपप्रधान तथा भौतिक योजनामन्त्री रघुवीर महासेठ घर फर्किए ।
राति ११ बजे : निवासबाट निस्किए ओली–देउवा
एमाले महासचिव शंकर पोखरेललाई लिएर अध्यक्ष ओली महाराजगन्ज, बाँसबारी हुँदै चपली हाइटतर्फ प्रस्थान । उद्यमी रामेश्वर थापाको निवासमा कांग्रेस सभापति देउवा सहकर्मी नेताहरू रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्कीसहित पर्खिरहेका थिए ।
राति १२ः१५ बजे : चपली हाइट सहमति
एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकले तयार पारेको सहमतिपत्रमा हस्ताक्षर । सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने, डेढ वर्षपछि देउवालाई पालो दिने । राष्ट्रिय सहमतिको सरकार भएकाले सकेसम्म सबै दललाई सहभागी हुन आमन्त्रण गर्ने । निर्वाचन प्रणाली सुधारलगायतका विषयमा संविधान संशोधन गर्ने ।
देशमा सुशासन कायम गरी समृद्धितर्फ अघि बढ्ने । यो सहमतिपत्रमा कांग्रेसका तर्फबाट सभापति देउवा र एमालेका तर्फबाट अध्यक्ष ओलीको हस्ताक्षर छ । सहमतिपत्रमा उल्लेख नभए पनि अर्थसहितका मन्त्रालय एमाले र गृहसहितका मन्त्रालय कांग्रेसले लिने मौखिक समझदारी । हस्ताक्षर गरेको १५ मिनेटपछि राति साढे १२ मा नेताहरू आ–आफ्नो निवासतर्फ लागे ।