काठमाडौं । नेकपा माओवादी केन्द्रभित्रको आन्तरिक कलहमा उपमहासचिव जनार्दन शर्मालाई एक्ल्याउने रणनीति तयार गरिएको छ। पार्टीको आन्तरिक विषयमा बाहिर बोल्दै हिँडेको भन्दै शर्मालाई नेताहरूले आत्मालोचना गर्न दबाब दिँदै एक्ल्याउने रणनीति लिएका हुन्।
स्थायी समिति बैठकबाट सार्वजनिक कार्यक्रममा पुगेका अर्का उपमहासचिव वर्षमान पुनले दिएको अभिव्यक्तिले यस्तो संकेत गरेको छ। पुनले शनिबार एउटा सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल युगनायक भएको अभिव्यक्ति दिँदै पार्टीभित्र जति रिस उठे पनि नेताहरूले दायाँबायाँ गर्न र भाग्न नपाउने बताएका थिए।
शर्माले पार्टी नेतृत्वबारे सार्वजनिक रूपमा दिएका अभिव्यक्तिबारे माओवादी स्थायी समितिमा छलफल भइरहेका बेला पुनको यो भनाइ सार्वजनिक हुनुले शर्मालाई एक्ल्याउने रणनीति तय गरिएको संकेत मिलेको एक नेताको दाबी छ। ती नेताका अनुसार स्थायी समितिमा धारणा राख्ने अधिकांश नेताले पार्टीको आन्तरिक विवाद बाहिर लैजान नहुने र अध्यक्षको कामकारबाहीबारे पार्टीभित्रै छलफल गर्नुपर्ने बताएका थिए। स्थायी समिति बैठकमा समितिका १८ सदस्य, पाँच पदाधिकारी र अनुशासन आयोगका एक पदाधिकारीले धारणा राखे। बैठक आइतबार पुनः बस्नेछ। बैठक शुक्रबारदेखि जारी छ।
स्थायी समिति सदस्य राम कार्कीले बैठक संयमित ढंगले अघि बढेको बताए। ‘बाहिर हल्ला र चर्चा भएअनुसार बैठकमा कडिकडाउ भएको छैन। कसैलाई कारबाही भइहाल्छ भन्ने खालको अवस्था होइन। जनार्दन शर्माजीले पार्टीको विषयमा बाहिर नबोल्दा राम्रो हुन्छ भन्ने सुझाव आएको छ। यो सुझावलाई सकारात्मक रूपमा लिनुपर्छ भन्ने धारणा आउनु स्वाभाविक हो,’ उनले भने।
उनका अनुसार पार्टीको विशेष महाधिवेशन गर्नुपर्छ भन्ने विषयवस्तु पनि उठान भएको छ। ‘विशेष महाधिवेशनका विषयमा विविध धारणा आएका छन्,’ उनले भने।
स्थायी समिति बैठकमा अधिकांश नेताहरूले दाहाल प्रधानमन्त्री भएका बेला राम्रो काम भएको, भ्रष्टाचार नियन्त्रणको कदम चालिएको भन्दै उनको बचाउ गरेका थिए। ‘शनिबार आफ्ना धारणा राख्ने नेताहरूले दाहालको प्रशंसामै शब्द खर्चेका थिए। पार्टी सुदृढीकरणबारे धारणा भने खासै आएनन्। विशेष महाधिवेशनबारे त झन् कसैले पनि बोलेनन्,’ स्थायी समितिका एक सदस्यले भने।
बैठकमा सहभागी अर्का नेताका अनुसार स्थायी समिति सदस्य गणेशमान पुनले कमिटीको कुरा बाहिर लगेर भन्नु गलत भएको, यस्तै भए पार्टीको गोपनीयता भंग हुने र पार्टीप्रति गलत धारणा बन्दै जाने बताएका थिए। सत्या पहाडी र कमला रोकाले पनि पुनकै कुरामा समर्थन जनाउँदै अहिले माओवादी केन्द्र एकजुट भएको सन्देश दिने बेलामा पार्टीभित्र गुट रहेको देखाएर उपमहासचिव शर्माले राम्रो नगरेको टिप्पणी गरेका थिए।
यस्ता विषयहरू सार्वजनिक गर्न पार्टीले नै रोक लगाउनुपर्नेमा उनीहरूले जोड दिएका थिए। बैठकमा कुलप्रसाद केसी, जोखबहादुर महरा, खगराज भट्ट, विश्वनाथ साहसहित १८ जनाले धारणा राखिकेका छन्। आइतबारको बैठकमा पनि सदस्यहरूले धारणा राख्नेछन्।
बैठकमा शनिबार धारणा राख्नेमध्ये अन्जना विशंखेले मात्रै पार्टी निर्णयलाई विधि र पद्धतिमा सञ्चालन गर्नुपर्ने बताएकी थिइन्। ‘पार्टी फुट्छ वा फुट्दैन भनेर अध्यक्षले बाहिर भन्दै हिँड्ने कुरा नै गलत हो। सबैले विधि र विधानलाई अक्षरशः पालना गर्नुपर्यो र गराउनुपर्यो,’ स्थायी समितिका एक सदस्यले विशंखेलाई उद्धृत गर्दै भने, ‘म पार्टीको एउटै कमिटीमा बसेको १८ वर्ष भइसक्यो। पार्टी बनेन भनेको मैले सुनेकै आठ वर्ष भइसक्यो। यसको जवाफ हामीले कोबाट पाउने हो त ? पार्टी नबन्नुमा हामी पनि जिम्मेवार थियौं होला नि १ पार्टी अध्यक्षले नै पार्टी फुट्छ भन्दै वा फुट्दैन भन्दै हिँड्नुहुन्छ भने जिम्मेवार को हो ? आजै निर्क्योल गरियोस्।’
साउन ६ गते काठमाडौंमा आयोजित पुष्पलाल स्मृति दिवसको कार्यक्रममा उपमहासचिव शर्माले अध्यक्ष दाहालको नाम नलिई कम्युनिस्ट प्रधानमन्त्रीहरू सबै भ्रष्ट भएको अभिव्यक्ति दिएको विषयलाई स्थायी समिति बैठकमा जोडतोडले उठाइएको थियो। शर्माले नेताहरूको सम्पत्ति छानबिन गर्न स्वतन्त्र निकायलाई दिनुपर्नेदेखि कम्युनिस्ट नेतामा मनमोहन अधिकारीबाहेक अन्य सबै नेताले असुली धन्दा चलाएको टिप्पणी गरेका थिए।
दुई वर्षयता माओवादी केन्द्रमा नेतृत्वको बहस पेचिलो हुँदै गएको छ। यही क्रममा शर्माले पार्टीभित्र पुस्तान्तरणको विषय उठाइरहेका छन्। पार्टीको वरीयताक्रममा तल रहेका तर देशव्यापी नेटवर्क बनाएका उपमहासचिव शर्माले लामो समयदेखि चलाउँदै आएको नेतृत्व परिवर्तनको बहस अहिले पेचिलो बन्न थालेको हो। माओवादी केन्द्रभित्र नेतृत्वको बहस चलिरहँदा करिब ३७ वर्षयता निरन्तर नेतृत्वमा रहँदै आएका अध्यक्ष दाहाल अप्ठेरोमा परेका छन्।
पार्टी संरचनामा बहुमत दाहलको पक्षमा भए पनि ठुलो युवा पंक्ति नेतृत्व परिवर्तनको पक्षमा छ। माओवादी केन्द्रभित्रको नेतृत्वमाथि उठेको प्रश्न र यसको लडाइँ निकै लामो हुने देखिन्छ। लामो समय नेतृत्वमा रहँदा आलोचित भइरहेका दाहाललाई पार्टीभित्रको दबाब थेग्न मुस्किल पर्दै गएको छ।
अझ पछिल्लो पटक दाहालले थप पाँचरसात वर्ष नेतृत्वमै रहने अभिव्यक्ति दिएपछि विशेष महाधिवेशनको माग गरेर कार्यकर्ताहरूले थप अप्ठेरो बनाउँदै लगेका छन्। गत बुधबार (साउन १४) मा बसेको पदाधिकारी बैठकमा उपमहासचिव शर्माले चार बुँदे प्रस्ताव राख्दा दाहालकै योजना र दबाबमा महासचिव देव गुरुङले ‘पार्टीको आन्तरिक एकता’ शीर्षकको प्रस्तावलाई पनि समेटेका थिए। जारी स्थायी समिति बैठकमा समेत गुरुङले यो प्रस्ताव पेस भैसकेको छ।
शुक्रबार दाहालले यही विषयमा थोरै छलफल समेत गरेका छन्। शनिबारको बैठकमा आन्तरिक एकताको नाममा शर्माले उठाएको विषयलाई ओझेलमा पार्न खोजिरहेका छन्।