सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा आजबाट भरी एलपी ग्याँस (एलपीजी) सिलिन्डरको बिक्री–वितरण शुरु भएको छ ।
लामो समयदेखि ग्यास अभावका कारण उपभोक्ताले सास्ती खेपिरहेका बेला बजारमा ग्यास उपलब्ध हुन थालेपछि सर्वसाधारणले केही राहत महसुस गरेका छन् । तर यसपटक ग्यासको मूल्य भने उल्लेखनीय रूपमा वृद्धि भएको छ ।
यसअघि प्रतिग्यास सिलिन्डर २ हजार ५ सय रुपैयाँमा बिक्री हुँदै आएकोमा अहिले प्रतिलिन्डर ३ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ । यसअनुसार एउटै सिलिन्डरमा ७ सय रुपैयाँले मूल्य वृद्धि भएको छ । बढेको मूल्यसँगै उपभोक्तामा आर्थिक भार थपिएको उपभोक्ताको गुनासो रहेको छ ।
ग्यास व्यवसायीका अनुसार ढुवानी खर्च, सडक अवस्थाको कठिनाइ तथा अन्य व्यवस्थापन खर्च बढेकाले मूल्य समायोजन गर्नुपरेको हो । हुम्ला सडक सञ्जालसँग पूर्ण रूपमा सहज रूपमा नजोडिएको तथा दुर्गम भौगोलिक अवस्थाका कारण ढुवानी लागत अन्य जिल्लाको तुलनामा धेरै पर्ने भएकाले मूल्य बढेको उनीहरूको भनाइ छ ।
मूल्य बढे पनि बजारमा ग्यास उपलब्ध भएपछि खाना पकाउन सहज हुने अपेक्षा सहित उपभोक्ताले ग्यास खरिद गरिरहेका छन् । पछिल्ला केही समयदेखि ग्यास अभाव हुँदा धेरै परिवार दाउरा तथा अन्य वैकल्पिक इन्धन प्रयोग गर्न बाध्य भएका थिए । अहिले बजारमा पुनः ग्यास आपूर्ति सुरु भएपछि दैनिक जीवन सहज हुने विश्वास गरिएको छ ।
स्थानीय उपभोक्ताले भने मूल्यवृद्धिले घरायसी खर्चमा थप बोझ परेको बताएका छन् । विशेषगरी न्यून आय भएका परिवारलाई ग्यास खरिद गर्न कठिन हुने भन्दै सम्बन्धित निकायले ढुवानी व्यवस्थापन र मूल्य नियन्त्रणमा ध्यान दिनुपर्ने उनीहरूको माग छ ।
हुम्लामा खाद्यान्न, इन्धन तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य ढुवानी लागतका कारण प्रायः अन्य जिल्ला भन्दा बढी रहने गरेको छ । त्यसैले स्थानीयवासीले अत्यावश्यक वस्तुको सहज आपूर्ति र उचित मूल्य कायम गर्न सरोकारवाला निकायले प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता औँल्याएका छन ।
प्रकाशित मिति: आइतबार, साउन ३, २०८३ २०:०७