सिमकोट । नाम्खा गउँपालिकाको महाबौद्ध माध्यमिक विद्यालयमा पहिलो पटक वुक कर्नर सञ्चालनमा ल्याइएको छ ।
आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीको पढ्ने बानीको विकाससँगै अतिरिक्त ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले बुक कर्नर सञ्चालनमा ल्याइएको विद्यालयका प्रधानाध्यापक श्रीधर कार्कीले बताए ।
उनका अनुसार विद्यालयमा सहयोग गर्दै आएको आधार विकास नेपाल नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा विद्यालयको आधारभूत तह अन्तर्गत कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई लक्षित गरी कक्षा कोठा मै पुस्तक पढ्ने सुविधा प्रदान गर्न वुक कर्नर सञ्चालनमा ल्याएको हो ।
'बुक कर्नरमा आधारभूत तहका कक्षागत किताबका साथै विभिन्न विषय र विधाका सन्दर्भ पुस्तकहरू प्रदर्शनमा राखिएको छ', प्रधानाध्यापक कार्कीले नेपालवोटसँग भने, 'विद्यार्थीले आफूलाई मन परेको पुस्तक छनोट गरी कक्षाकोठा मै पढ्न सक्ने व्यवस्था समेत गरिएको छ ।'
विद्यार्थीलाई सहज रूपमा पुस्तक पढ्ने वातावरण सिर्जना गर्ने उद्देश्यले विद्यालयमा ५ वटा बुक कर्नरका लागि र्याक राखिएका छन् । उक्त र्याकमा तिन सय भन्दा बढी पुस्तकहरु राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लातार लामाले जानकारी दिए ।
वुक कर्नरले विद्यार्थीमा पाठ्यपुस्तक बाहेक अन्य ज्ञानमूलक तथा सिर्जनात्मक सामग्री पढ्ने रुचि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको आधार विकास नेपाल हुम्लाका शिक्षा संयोजक कञ्जोक लामाले बताए ।
बुक कर्नरकालागि आवश्यक र्याक तथा पुस्तक आधार विकास नेपालले सहयोग गरेको हो । जसमा विद्यार्थीका लागि विभिन्न विषयवस्तु समेटिएका पुस्तकहरू प्यारा साथी, स्याउ र सालिग्राम, भरिया र आँप, पानी मेरो साथी, कौवा र सुन्दरी परेवी लगायतका पुस्तक राखिएका छन् ।
विद्यार्थीलाई कक्षाकोठा मै पाठ्य पुस्तक उपलब्ध भएपनि विद्यार्थीले खाली समयको सदुपयोग गर्दै आफ्नो रुचि अनुसारका पुस्तक पढ्न वुक कर्नरले सजिलो गरेको छ । यसबाट उनीहरूको पढ्ने संस्कारको विकास हुनुका साथै भाषा, कल्पना शक्ति, सिर्जनशीलता र सामान्य ज्ञानमा समेत सुधार आउने विश्वास विद्यालयले गरेको छ ।
'विद्यालयका विद्यार्थीलाई सानै उमेर देखि पुस्तक पढ्ने संस्कारलाई थप व्यवस्थित र प्रभावकारी बनाउन बुक कर्नरले महत्वपूर्ण भूमिका खेल्ने छ । विद्यार्थीलाई किताबसँग नजिक बनाउँदै ‘पढ्ने बानी, ज्ञानको खानी’ भन्ने भावनालाई व्यवहारमा उतार्न यो सुविधा उपयोगी हुनेछ', 'प्रधानाध्यापक कार्कीले थपे, जिल्लामै वुक कर्नर राख्ने पहिलो विद्यालयका रुपमा हाम्रो विद्यालयलाई छनोट गरेर सहयोग गर्ने आधार विकास नेपालप्रति हामी आभारी छौं ।'
जिल्लाका हरेक विद्यालयमा वुक कर्नर राख्न सकिएको खण्डमा सानै उमेरदेखि बालबालिकाहरुलाई पठन संस्कृतीको विकास गर्नुका साथी गुणस्तरिय शिक्षा प्रदान भूमिका खेल्ने ठहर विद्यालयले गरेको छ ।
प्रकाशित मिति: आइतबार, साउन २४, २०८३ २२:४६