सिमकोट । हुम्लाको अदानचुली गाउँपालिका वडा नं ५ को ‘भेरा’मा पहिरोमा परेका मरेका १२ बाख्रा निकालिएको छ ।
७२ वटा बाख्रा सहित तिन जना खर्काला रहेको खर्कमा पहिरो जाँदा कति बाख्रा छोपिएका छन् भन्ने बारेमा एकिन नभएको खर्काला बिरबल रोकायालाई उदृत गर्दै दिपबहादुर रोकायाले जानकारी दिए ।
उनका अनुसार पहिरोमा परेर गम्भीर घाइते भएका अदानचुली ५ करगईका टेकबहादुर शाहीलाई श्रीनगर स्वास्थ्य चौकीमा पुर्याइएको छ ।
गाउँका स्थानीयले स्टेचरमा बोकेर खर्कबाट पालिकाको केन्द्र श्रीनगरमा भएको स्वास्थ्य चौकीमा पुर्याएर प्राथमिक उपचार भैरहेको छ । माथिबाट आएको ढुंगाले टाउकोमा गम्भीर चोट लागेकाले उनको थप उपचारका लागि बाजुरको कोल्टी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजनाने तयारी भैरहेको स्थानीय दिपबहादुर रोकायले बताए ।
घाइतेको टाउको र कानबाट रगत बगिरहेकोले थप उपचारका लागि श्रीनर बाहिर लिनु पर्ने भएपछि कोल्टी लिने तयारी भैरहेको जानकारी रोकायले दिए ।
‘खर्कमा लगिएका दुवै घरधुरीका ७२ बाख्रा मध्ये शुरुमा तिनवटा बाख्रामात्र जिवित भेटिएका छन् । अरु बाख्रा कतागए भन्ने बारेमा अहिलेसम्म एकिन भएको छैन् । अहिले साँझ १२ वटा बाख्रा पुरिएको अवस्थामा मरेका भेटिएपनि अन्यको कुनै पत्तो छैन’, रोकायाले भने, ‘पहिरो गएको स्थल गाउँभन्दा निकै माथि भएकाले खोजविनमा समेत समस्या भएको छ ।’
शनिबार वेलुका देखि निरन्त सिमसिमे पानी परिरहेकोले आइतबार बिहान अबेर अर्थात ११ बजे तिर खर्कबाट बाख्रा लिकालिएका थिए । बाख्रा चराउने खर्कबाट निकालेर नजिकै लिएको बेला माथिबाट एक्कासी पहिरो आएको थियो । बाख्रासँग शाही सहित विरवल रोकाया र देउलु छत्याल गरी तिन जना भएपनि अन्य दुई जनालाई चोट नलागेको बताइएको छ । घटनका कारण रोकाया र छत्यालले पनि अहिलेसम्म बोल्ने नसकेको जानकारी उनका आफन्तले दिएका छन् ।
घटना स्थल पुग्न नजिकको गल्फागाड प्रहरी चौकीलाई निकै समय लाग्ने भएकाले क्षतिको बिस्तुत विवरण आउन सकेको छैन् । घटनाको जानकारी पाउने बित्तिकै गल्फागाड प्रहरी चौकीको टोली घटना स्थलतर्फ गएपनि टेलिफोन नलाग्ने र घटना स्थल टाढा भएकाले खबर आइ नपुगेको गल्फागाड प्रहरी चौकीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २४, २०८३ २३:३८