सिमकोट । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले चौरिखर्कमा घुम्ती खोप शिविर सञ्चालन गरेको छ ।
‘खोज र खोप, हरेक बच्चाको पहुँचमा पुगौं’ भन्ने लक्ष्यका साथ रानीखर्कमा घुम्ती खोप शिविर सञ्चालन गरिएको हो । खोपबाट वञ्चित भएका तथा नियमित खोपको पहुँचमा आउन नसकेका बालबालिकालाई लक्षित गरी शिविर सञ्चालन गरिएको सिमकोट स्वास्थ्य शाखाले जनाएको छ ।
वर्षाको समयमा यहाँका बालबालिका खर्कमा रहने भएकाले बालबालिकालाई खोपको पहुँचमा ल्याउने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखा संयोजक नर बहादुर भण्डारीले बताए ।
शिविरका क्रममा बालबालिकाको खोप अवस्था पहिचान गरी आवश्यकता अनुसार खोप सेवा प्रदान गरिएको थियो । नियमित खोप कार्यक्रमबाट कुनै पनि बालबालिका नछुटून्न् भन्ने उद्देश्यले रानी खर्कमा रहेका ६ जना बालबालिकालाई खोप सेवा प्रदान गरिएको संयोजक भण्डारीले बताए ।
खोप सेवा लिनबाट छुटेका बालबालिकाको खोजी गरी उनीहरूलाई आवश्यक खोप उपलब्ध गराउनु राष्ट्रिय खोप कार्यक्रमको महत्वपूर्ण उद्देश्य रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
विशेषगरी खर्कमा रहेका बालबालिकाहरु भौगोलिक विकटताका कारण स्वास्थ्य संस्थासम्म पुग्न कठिन हुने परिवारका बालबालिकालाई लक्षित गरी यस्ता घुम्ती शिविर प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
घुम्ती खोप शिविरसँगै स्थानीय बासिन्दाका लागि स्वास्थ्य परीक्षण तथा उपचार सेवा समेत प्रदान गरिएको थियो। शिविरमा थप ३२ जना बिरामीको स्वास्थ्य जाँच तथा उपचार गरिएको सिमकोट स्वास्थ्य शाखा संयोजक भण्डारीले जानकारी दिए । उनका अनुसार खोप सेवा मात्र नभई गाउँमै पुगेर सामान्य स्वास्थ्य समस्या भएका बिरामीको स्वास्थ्य परीक्षण र उपचार गर्ने उद्देश्यले शिविरलाई एकीकृत रूपमा सञ्चालन गरिएको हो ।
स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका बस्तीमा नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्न सके बालबालिकाको खोप पहुँच विस्तारसँगै स्थानीय नागरिकले आधारभूत स्वास्थ्य सेवा समेत सहज रूपमा प्राप्त गर्न सक्ने स्वास्थ्य शाखाको विश्वास छ। आगामी दिनमा पनि आवश्यकता र स्वास्थ्य सेवाको पहुँचका आधारमा दुर्गम बस्तीमा घुम्ती खोप तथा स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिने बताइएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २५, २०८३ १७:२३