सिमकोट । हुम्लाको एक मात्र बौद्ध धार्मिक विद्यालय नाम्ख्युङ महामाया आधारभूत विद्यालयले डिजिटल अध्ययन शुरु गरेको छ ।
नाम्खा गाउँपालिकामा रहेको उक्त विद्यालयमा स्मार्ट बोर्ड तथा कम्प्युटर ल्याब मार्फत विद्यार्थीलाई अध्ययन–अध्यापन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक पाद्मा लामाले जानकारी दिए ।
३ सय ३५ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा सरकारी पाठ्यक्रम सँगै बौद्ध धर्मसँग सम्बन्धित विषयवस्तु तथा बौद्धिस्ट भाषामा समेत पठन पाठन हुने गरेको छ । विद्यार्थीलाई परम्परागत धार्मिक शिक्षा र आधुनिक शिक्षाबीच समन्वय गराउँदै गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रयास स्वरुप विद्यालयमा डिजिटल माध्यमबाट अध्ययन शुरु गरेको विद्यालयका प्रधानाध्यापक लामाले बताए ।

‘विद्यालयमा भर्ना भएका विद्यार्थीलाई प्रविधिमैत्री शिक्षण सिकाइका लागि विद्यालयमा स्मार्ट बोर्ड र कम्प्युटर ल्याबको व्यवस्था गरिएको छ । स्मार्ट बोर्डको प्रयोगबाट विद्यार्थीलाई विषयवस्तु दृश्यात्मक तथा व्यवहारिक रूपमा बुझाउन पनि सहज भएकोे छ,’ विद्यालय प्रधानाध्यापक लामाले नेपालवोटसँग भने, ‘कुनै दिन शिक्षक विद्यालयमा उपस्थित हुन नसकेमा अफ लाईनबाटै स्माट बोर्डबाट पढाउने व्यवस्था गरेका छौं ।
विद्यालयमा कम्प्युटर ल्यावमार्फत विद्यार्थीलाई सूचना प्रविधि सम्बन्धी आधारभूत ज्ञान तथा सीप प्रदान गरिँदै आएको छ । त्यस्तै, विद्यालयमा पुस्तकालयमा समेत व्यवस्था रहेको छ । पुस्तकालयबाट विद्यार्थीले पाठ्यपुस्तकसँगै विभिन्न ज्ञानबर्धक तथा सन्दर्भ सामग्री अध्ययन गर्ने अवसर पाउँदै आएको विद्यालका शिक्षक शिक्षक मंगल महताराले जानकारी दिए । यसले विद्यार्थीको अध्ययन प्रतिको रुचि बढाउन सहयोग पुगेको विद्यालयको विश्वास छ ।

वि.सं. २००७ सालमा स्थापना भएको नाम्ख्युङ महामाया आधारभूत विद्यालयले लामो समयदेखि हुम्लामा शिक्षा र बौद्ध संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा योगदान पुर्याउँदै आएको छ । दुर्गम हिमाली क्षेत्रमा रहेर पनि आधुनिक प्रविधिको प्रयोग गर्दै विद्यार्थीलाई शिक्षा प्रदान गरिनु विद्यालयको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । विद्यालयले आगामी दिनमा पनि प्रविधिको विस्तारसँगै शिक्षाको गुणस्तर सुधार, विद्यार्थीको क्षमता विकास र बौद्ध संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ ।

विद्यालयमा हुम्ला सहित छिमेकी जिल्ला मुगु, बाजुरा, बझाङ भारतरबाट समेत विद्यार्थीहरू आएर अध्ययन गर्दै आएका छन । बौद्ध धर्म तथा संस्कृतिसँग सम्बन्धित शिक्षालाई प्राथमिकता दिँदै विद्यालयले आधुनिक शिक्षण विधिलाई समेत जोड दिएको विद्यालय प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३ २१:०८