सिमकोट । हुम्लाको अदानचुली गाउँपालिका–५ करगईबाट श्रीनगरतर्फ आउँदै गरेको बोलेरो जीप अदानचुली गाउँपालिका–४ लौठीस्थित बाइकोट उकालोमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
भे १ च १६८५ नम्बरको बोलेरो जीप अदानचुली–४ लौठीको बाइकोट उकालोमा दुर्घटना भएको हो।
जीपमा पाँच जना सवार रहेको र तीन जना घाइते भएको गल्फागाड प्रहरी चौकी श्रीनगरका हवल्दार मानबहादुर अधिकारीले जानकारी दिनुभयो। दुर्घटनामा अदानचुली गाउँपालिका–५ की २३ वर्षीया बिमला शाही, सोही वडाकी ३५ वर्षीया कालु छत्याल र जीप चालक चंखेली गाउँपालिका–३ का उज्वल बुढा घाइते भएका छन्।
चालक बुढाको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेमध्ये बिमला शाहीको बायाँ हात भाँचिएको छ भने कालु छत्यालको टाउकोमा चोट लागेको छ। उनीहरूको अहिले श्रीनगर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। प्रहरीका अनुसार जीप उकालोबाट ओरालो झर्ने क्रममा सडकमा नै पल्टिएको थियो। दुर्घटनामा जीपको अगाडिको भाग तथा बायाँ साइडको सिसामा क्षति पुगेको छ।
सडकको अवस्थाप्रति स्थानीय आक्रोशित
दुर्घटनापछि स्थानीयवासीले भने सडकको दुरावस्थाका कारण दुर्घटना भएको हुन सक्ने बताएका छन्। बाइकोटको उक्त सडकखण्ड निकै ठाडो हुनुका साथै सडकमा ठाउँ–ठाउँमा ठूला खाल्डाखुल्डी रहेका कारण सवारीसाधन सञ्चालनमा समस्या हुने गरेको स्थानीयको भनाइ छ।
स्थानीयका अनुसार सडकको जोखिमबारे पटक–पटक आवाज उठ्दै आए पनि सडक सुधारका लागि जिम्मेवार निकायले प्रभावकारी काम गर्न सकेको छैन। उक्त सडकको स्तरोन्नतिका लागि कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षमा ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। सोही बजेटअन्तर्गत सडक स्तरोन्नतिको ठेक्का समेत परिसकेको भए पनि ठेक्का सम्झौताको म्याद सकिँदासम्म ठेकेदार कम्पनी काममा नआएको स्थानीयको आरोप छ।
प्रदेश सरकारले विनियोजन गरेको बजेटअन्तर्गतका यस्ता पूर्वाधार योजनाको कार्यान्वयन तथा अनुगमन जिल्लास्थित पूर्वाधार विकास कार्यालयमार्फत हुँदै आएको छ। तर ठेक्का सम्झौताको म्याद सकिएको करिब एक महिना बितिसक्दा समेत सडक स्तरोन्नतिका लागि कार्यालय र ठेकेदार कम्पनी दुवै सक्रिय नभएको स्थानीयको गुनासो छ।
ठेक्का रद्द गरेर तत्काल सडक मर्मत गर्न माग
सडकको अवस्था सुधार नगर्दा आगामी दिनमा पनि यस्तै दुर्घटना दोहोरिन सक्ने भन्दै अदानचुलीका स्थानीयले आक्रोश व्यक्त गरेका छन्। स्थानीयले काम गर्न नआएको ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरी पुनः ठेक्का आह्वान गरेर भए पनि जोखिमयुक्त सडकखण्डको तत्काल स्तरोन्नति तथा मर्मत गर्न माग गरेका छन्।
सडकको दुरावस्थाका कारण सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै स्थानीयले सम्बन्धित कार्यालय र ठेकेदार कम्पनीलाई गम्भीर बन्न आग्रह गरेका छन्। आगामी दिनमा यही सडकखण्डमा सडककै कारण दुर्घटना दोहोरिए त्यसको जिम्मेवारी सम्बन्धित ठेकेदार कम्पनी र सरोकारवाला निकायले लिनुपर्ने स्थानीयको भनाइ छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३ २२:१२