सिमकोट । कर्णाली करिडोरको कालीकोटको खुलालुदेखि हुम्ला जिल्लाको सलीसल्ला खण्डको सडकमा पर्ने खोलामा निर्माण गर्नुपर्ने पक्की पुलको निर्माण अगाडि नबढाउने निर्माण कम्पनीको ठेक्का रद्द गरिएको छ।
सम्झौताअनुसार ती पुलको निर्माण कार्य सम्पन्न गर्नुपर्ने मिति सकिँदा पनि पुलको डिजाइन समेत स्वीकृत गर्न नसकेपछि बाध्य भएर हिल्सा सिमकोट सडक योजनाले उक्त ठेक्का रद्द गरेको हो।
कर्णाली करिडोरको कालीकोट, बाजुरा र हुम्ला खण्डका नदी र खोलामा निर्माण गर्नुपर्ने पुलको काम अगाडि बढ्न नसकेपछि सार्वजनिक सुचना जारी गरेर ती पुलको ठेक्का रद्द गरिएको हिल्सा सिमकोट सडक योजनाका इन्जिनियर कुशल भुसालले बताए।
२०७९ साल असारमा ती पुल निर्माणका लागि डिजाईन एण्ड ब्लिडर्स प्रकृयाबाट ठेक्का लागेकोमा यी तीन वटै पुलहरुको अन्तिम डिजाईन सडक विभागबाट स्वीकृत हुन नसकेको कारण ठेक्का रद्द गर्नु परेको हो।
ती पुल निर्माण सुरु गर्न हिल्सा सिमकोट सडक योजनासंग बीकोई ब्लीडर प्रालिले २०७९ साल असार ३० गते सम्झौता गरेर २०८२ साल असोज ३० गते सम्पन्न गर्ने गरि सम्झौता गरेको थियो। नियमतः सम्झोता भएको मितिले नौ महिनाभित्र डिजाइन तयार पारेर सडक विभागको स्वीकृति लिइसक्नुपर्ने हुन्छ। तर, उक्त कम्पनीले हालसम्म डिजाईन समेत स्वीकृत गर्न नसकेको कारण अव कम्पनीले काम नगर्ने निष्कर्षमा कार्यालय पुगेर ठेक्का रद्द गरिएको हो।
सम्झौतापछि पटक–पटक पुल निर्माण अगाडि बढाउन कार्यालयले ताकेता गरिए पनि प्रालिले कुनै काम अगाडि बढाउन सकेको थिएन।
यी तीन वटा पुलको निर्माण प्रालिले सम्झौता भएको मितिले ३९ महिनाभित्र सम्पन्न गर्नुपर्ने थियो। निर्माणको ठेक्का रद्द गरिएका पुलहरुमा कर्णाली करिडोरको कालीकोट सलीसलला खण्डको खुलालु खोला, सान्नीघाट खोला र पुगाड खोला छन्।
यो कामका लागि प्रालिले १८ करोड २५ लाख २८ हजार छ सय लागत लाग्ने गरि भ्याट सहित जिम्मा लिएको थियो। ती पुल निर्माणको ठेक्का तोडिएपछि अब नयाँ ठेक्काको ब्यवस्थापनतर्फ कार्यालय लाग्नेछ। यसका लागि केही समय भने लाग्ने देखिएको छ। यसरी काम नगर्ने निर्माण कम्पनीसंग हुम्लामा पहिलो पटक ठेक्का रद्द गरिएको कारण यसको सकरात्मक प्रभाव पर्ने विश्वास योजनाले गरेको छ।
प्रकाशित मिति: सोमबार, भदौ १, २०८३ १६:५१