गमगढी । कर्णालकिा अधिकांश महिला आफूभित्रको गभीर स्वास्थ्य समस्या लुकाएर बस्न बाध्य छन् ।
प्रजनन सम्बन्धि समस्याका बारेमा श्रीमानलाई समेत भन्न लजाउने कर्णालीका महिलाहरु भित्रभित्रै ज्यान जावस तर तिसमस्याका बोमा खुलेर भन्न सकेका हुदैनन् ।
कर्णालीका हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पालगायतका जिल्लाहरुका महिलामा यो समस्या विकराल बन्दै जान थालेको छ ।
पछिल्लो समय विभिन्न स्वास्थ्य शवरि गाउँमा जान थालेपछि पाठेघरसम्बन्धी समस्या भएका महिलाको संख्या बढ्दै गएको तथ्य सार्वजनिक हुन थालेको छ ।
पोषणयुक्त खानाको कमी, कम उमेरमै गर्भधारण र सुत्केरीपछि पर्याप्त आराम नपाउने अवस्थाका कारण महिलामा आङ खस्ने समस्या बढ्दै गएको हो। ग्रामीण क्षेत्रका धेरै महिलाले समस्या लुकाएर बस्ने भएकाले पीडितको वास्तविक संख्या अझै बढी हुनसक्ने स्वास्थ्यकर्मीले बताएका छन्।
यो तथ्य भर्खरै मुगु जिल्ला अस्पतालले सार्वजनिक गरेको विवरणले पनि प्रमाणीत गरेको छ । तथ्यांक अनुसार जिल्लामा आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका चारवटै स्थानीय तह र जिल्ला अस्पतालमा पाठेघरसम्बन्धी परीक्षण तथा उपचार गराएका महिलामध्ये एक हजार ६७ जनाले रिङ प्रेसरीमार्फत उपचार सेवा लिएका छन्।
जिल्ला अस्पताल मुगुकी नर्सिङ सहायक मनीषा लामिछानेका अनुसार परीक्षण गरिएका महिलामध्ये २७७ जनामा पाठेघरसम्बन्धी समस्या देखिएको छ। समस्या देखिनेमा २० देखि २९ वर्ष उमेर समूहका महिला सबैभन्दा धेरै ९४ जना छन्।
त्यस्तै, १० देखि १९ वर्षका १४ जना, ३० देखि ३९ वर्षका ८४ जना, ४० देखि ६७ वर्षका ७६ जना र ७० वर्षभन्दा माथिका नौ जनामा समस्या देखिएको उनले जानकारी दिइन्।
ग्रामीण क्षेत्रका महिलाले लाज, सामाजिक डर तथा घरायसी कामको चापका कारण आफ्नो समस्या खुलेर राख्ने नगरेकाले आङ खस्ने समस्याबाट पीडित महिलाको वास्तविक संख्या तथ्याङ्कमा आएभन्दा धेरै हुनसक्ने उनले बताइन्।
छायानाथ रारा नगरपालिका–६ की धनदेवी ऐडी पनि आङ खस्ने समस्याबाट पीडित छन्। सुत्केरी अवस्थामा पर्याप्त पोषणयुक्त खाना र आराम गर्न नपाउँदा आफूमा पाठेघरसम्बन्धी समस्या देखिएको उनले बताइन्।
“पाठेघरको शल्यक्रिया गर्दा घरको काम गर्न गाह्रो हुने भएकाले रिङ प्रेसरीको माध्यमबाट उपचार गराउँदै आएकी छु,” उनले भनिन्।
जिल्ला अस्पताल मुगुका कार्यालय प्रमुख डा. निर्मल शिवाकोटीका अनुसार किशोरी अवस्थामै आमा बन्ने, पटकपटक गर्भधारण गर्ने तथा सुत्केरी भएको केही दिनमै खेतबारीको काममा खटिनुपर्ने अवस्थाले महिलामा आङ खस्ने समस्या निम्त्याउने गरेको छ।
पाठेघरसम्बन्धी समस्या भएका महिलालाई जिल्ला अस्पतालले रिङ प्रेसरीमार्फत उपचार सेवा दिँदै आएको उनले बताए। रिङ प्रेसरी प्रयोग गरेका महिलाले प्रत्येक तीन महिनामा स्वास्थ्य संस्थामा आएर रिङ निकालेर सफा गरी पुनः राख्नुपर्ने उनले जानकारी दिए।
छायानाथ रारा नगरपालिका–८ स्थित पिना स्वास्थ्य चौकीका प्रमुख पदम सेजुवालले ग्रामीण क्षेत्रका महिलालाई आङ खस्ने समस्या, यसको कारण, रोकथाम र उपचारबारे नियमित रूपमा सचेत गराउन आवश्यक रहेको बताए।
स्वास्थ्यकर्मीका अनुसार किशोरी अवस्थामा हुने विवाह तथा गर्भधारण न्यूनीकरण गर्नुका साथै गर्भवती र सुत्केरी महिलालाई पर्याप्त पोषणयुक्त खाना, आराम र समयमै स्वास्थ्य परीक्षणको व्यवस्था गर्न आवश्यक छ।
प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३ ११:०९