सिमकोट । सिमकोटको कालाशिल्ता आधारभूत विद्यालयले गएको आर्थिक वर्ष २०८२।८३ मा झण्डै १२ लाख रुपैयाँ बचत गरेको छ ।
विद्यालयको २७ औ वार्षिकोत्सव तथा अभिभावक भेलामा विद्यालयको वर्षिक आय तथा व्यय प्रस्तुत गर्दै विद्यालयको प्रधानाध्यापक गणेश बहादुर शाहीले सबै खर्च गरेर ११ लाख ९५ हजार रुपैयाँ विद्यालयको बैंक खातामा जम्मा भएको जानकारी दिए ।
सामुदायिक विद्यालयमा आम्दानी शिर्षक नभएको अवस्थामा प्रशासन चलाउन मुष्किल भएका खबर सार्वजनिक भएका बेला हुम्ला सदरमुकाम सिमकोट आधारभूत विद्यालयले उक्त रकम बचत गर्न सफल भएको बताइएको छ ।
चार कोठे पक्की भवन उद्घाटन
विद्यालयको आप्mनो वार्षिक उत्सवको अवसरमा चार कोठे पक्की भवन उद्घाटन गरेको छ ।
विद्यालयको शैक्षिक वातावरणलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले निर्माण गरिएको उक्त भवन सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीबाट उद्घाटन गराइएको विद्यालयले जनाएको छ । उक्त नव निर्मित भवनमा चारवटा कक्षा कोठा रहेका छन् ।
विद्यालयका प्रधानाध्यापक शाहीका अनुसार उक्त भवन निर्माण गर्न १ करोड १० लाख रुपैयाँ लागत लागेको छ । दुई वर्षको अवधिमा निर्माण सम्पन्न भएको भवनका लागि अघिल्लो आर्थिक वर्षमा सिमकोट गाउँपालिका–६ को ६५ लाख रुपैयाँ र चालु आर्थिक वर्षमा सिमकोट गाउँपालिकाले ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही बजेटबाट भवन निर्माण सम्पन्न गरिएको विद्यालयले जनाएको छ ।
नवनिर्मित पक्की भवन सञ्चालनमा आएसँगै विद्यार्थीलाई अध्ययन–अध्यापनका लागि थप सहज र सुरक्षित वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ ।
लामो समयदेखि भौतिक पूर्वाधारको अभाव झेल्दै आएको विद्यालयका लागि चारकोठे भवन निर्माण हुनु महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।
हाल कालाशिल्ता आधारभूत विद्यालयमा १ सय ३३ जना विद्यार्थी अध्ययनरत रहेका छन । विद्यार्थीको संख्या बढ्दै गएको अवस्थामा नयाँ भवनले कक्षा सञ्चालनमा सहजता ल्याउने विद्यालयको अपेक्षा छ ।
भवन उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीको सहभागिता रहेको थियो । सहभागीहरूले विद्यालयको भौतिक पूर्वाधारसँगै शिक्षाको गुणस्तर सुधारमा पनि ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
नवनिर्मित भवनले विद्यार्थीको सिकाइ वातावरण सुधार गर्नुका साथै विद्यालयको शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास विद्यालयले लिएकोे छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३ १९:२२