सुर्खेत । जल तथा मौसम विज्ञान विभागले ११ र १२ भदौमा कर्णालीका दैलेख, सुर्खेत, सल्यान र रुकुम पश्चिममा भारी वर्षाको सम्भावना रहेको भन्दै जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले ११ र १२ भदौमा कर्णालीका पहाडी जिल्लाका केही भू-भागमा भारी वर्षाको पूर्वानुमान गरेपछि दैलेख, सुर्खेत, सल्यान र रुकुम पश्चिमका जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
प्रदेश सरकारले बाढीपहिरोको सम्भावित जोखिम न्यूनीकरणका लागि सुरक्षा तथा सम्बन्धित निकायलाई पूर्वतयारी अवस्थामा राख्दै यात्रुहरूलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।
रसुवा र जाजरकोटका विपद् प्रभावितको उद्धार तथा राहतबारे जानकारी लिँदै कर्णालीका सम्भावित प्रभावित नागरिकको तथ्यांक संकलन र विपद् जोखिम कायम रहुन्जेल कर्मचारीलाई तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ।
'११ र १२ भदौमा कर्णालीका पहाडी जिल्लाका केही भू-भागमा भारी वर्षाको पूर्वानुमान गरेसँगै प्रदेश सरकारले दैलेख, सुर्खेत, सल्यान र रुकुम पश्चिमका जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह छ', विभागका वरिष्ट मौशमविद् बरुण पौड्यालले भने, 'बाढी, पहिरो तथा अन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै प्रदेशका सबै सुरक्षा तथा सम्बन्धित निकायलाई आवश्यक सर्तकता अपनाउने सूचना गरेका हौं ।'
भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै दैलेखको महाबु, बाजुराको बडिमालिका, मुगुको ऋणमोक्षधाम र जुम्लाको ठाकुरज्यूलगायत क्षेत्रमा तीर्थयात्रा तथा पदयात्रामा रहेका यात्रुहरूलाई प्रयोग गर्ने सडक तथा पैदलमार्गको मौसम अवस्था बुझेर मात्र यात्रा गर्न र आवश्यक सावधानी अपनाउन आग्रह गर्ने निर्णय विपद् व्यवस्थापन समन्वयात्मक बैठकले गरेको हो ।
कर्णाली प्रदेशमा पछिल्लो समय बाढी तथा पहिरोका घटना बढिरहेका बेला मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वसूचना, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । कर्णालीका प्रमुख सचिव राधिका अर्यालले सबै सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई विपद् जोखिमको अवस्थामा तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहेको बताइन् ।
यसैबीच, रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाएकाप्रति बैठकले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ । रसुवाको घटनामा कर्णाली प्रदेशका नागरिकसमेत प्रभावित भएको हुन सक्ने भन्दै विभिन्न कामको सिलसिलामा तथा तीर्थयात्रामा रहेका नागरिकको तथ्यांक संकलन गरी उनीहरूका परिवारसँग सम्पर्क स्थापित गर्ने व्यवस्था मिलाउन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरिएको छ ।
प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट संकलन हुने विपद्सम्बन्धी घटनाका प्रमुख सूचकहरूको विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना बोर्डमा नियमित रूपमा प्रकाशन गर्ने व्यवस्था मिलाउने निर्णयसमेत गरिएको छ । विपद्को जोखिम कायम रहेसम्म प्रदेशअन्तर्गतका कार्यालय प्रमुख तथा जिम्मेवार कर्मचारीलाई अति आवश्यक कामबाहेक बिदामा नबस्न र अत्यावश्यक काम परे वैकल्पिक व्यवस्था मिलाएर मात्र बिदामा बस्न निर्देशन दिइएको छ ।
जाजरकोटमा बाढी तथा पहिरोबाट प्रभावित व्यक्तिका लागि सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकायबाट भइरहेका उद्धार तथा राहतसम्बन्धी कामको जानकारी बैठकमा लिइएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३ ०५:३०