गमगढी । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम घट्दै गएपछि बहुमूल्य जडीबुटी यार्सागुम्बाको उत्पादन र गुणस्तरमा असर पर्न थालेको छ।
मुगुको उत्तरी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटनमा पछिल्ला वर्षहरूमा यार्सागुम्बाको उत्पादन र गुणस्तर घट्दै गएको स्थानीयले बताएका छन्।
मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीय पाल्ज थोजिङ लामाका अनुसार पर्याप्त हिउँ नपर्दा यार्सागुम्बाको प्राकृतिक उत्पादन चक्र प्रभावित भएको छ। गाउँपालिकाको वन क्षेत्रमा पर्ने सानो कुइकी, ठूलो कुइकी, रिउगाड, च्याप्ने र छापाखोलालगायतका पाटनमा जेठदेखि असारसम्म यार्सागुम्बा सङ्कलन गरिन्छ।
समुद्री सतहबाट करिब तीन हजार पाँच सयदेखि पाँच हजार पाँच सय मिटर उचाइमा पाइने यार्सागुम्बा औषधिजन्य गुण भएको बहुमूल्य जडीबुटी हो। लामाले यस वर्ष पाटनमा पर्याप्त हिउँ नपर्दा यार्सागुम्बाको आकार र गुणस्तर विगतको तुलनामा कमजोर देखिएको बताए।
जुम्लाको पातारासी गाउँपालिका–४ का तेजबहादुर रोकायाका अनुसार विगतका वर्षमा एक जनाले तीन सयदेखि चार सय वटासम्म मोटा र गुणस्तरीय यार्सागुम्बा सङ्कलन गर्ने गरेका थिए। तर, यस वर्ष पाटनमा हिउँ नपरेर सुक्खा भएपछि यार्सागुम्बा सुक्ने र गुणस्तर कमजोर हुने समस्या देखिएको उनले बताए।
“पहिले एक जनाले तीन सयदेखि चार सयसम्म यार्सा सङ्कलन गथ्र्यौं। यस वर्ष मुस्किलले ५० देखि एक सय वटासम्म मात्रै पाउन सकियो,” रोकायाले भने।
यार्सागुम्बाको उत्पादन घटेपछि त्यसमा निर्भर परिवारको आम्दानीमा समेत असर परेको छ। विगतका वर्षमा यार्सागुम्बाबाट भएको आम्दानीले घरखर्च धान्दै आएका सङ्कलनकर्तालाई यस वर्ष उत्पादन घटेपछि दैनिक खर्च व्यवस्थापन गर्न समस्या हुने चिन्ता बढेको रोकायाले बताए।
डिभिजन वन कार्यालय मुगुका प्रमुख निरझ झाका अनुसार यार्सागुम्बा पुतलीको लार्भा र ढुसीको जैविक प्रक्रियाबाट विकास हुने भएकाले यसको प्राकृतिक चक्रमा हिउँ र वातावरणको महत्वपूर्ण भूमिका हुन्छ। ढुसी परिपक्व भएर बीज माटोमा झर्न करिब ३५ देखि ३८ दिन लाग्ने अध्ययनबाट देखिएको उनले बताए।
झाका अनुसार अत्यधिक सङ्कलनसँगै पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा यार्सागुम्बाको उत्पादन घट्नु र वनस्पति सुक्नु संवेदनशील अवस्थाको संकेत हो। यार्सागुम्बा र यसमा निर्भर समुदायको दिगो विकास तथा आर्थिक सुधारका लागि सम्बन्धित निकायले संरक्षण, अनुसन्धान र व्यवस्थापनमा आवश्यक कार्यक्रम ल्याउनुपर्ने उनले बताए।
मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जलवायु परिवर्तन र अत्यधिक सङ्कलनका कारण यार्सागुम्बासहित हिमाली क्षेत्रमा पाइने विभिन्न जडीबुटी लोपोन्मुख हुने जोखिम बढेको बताए। यार्सागुम्बाबाट सरकारले हरेक वर्ष करोडौँ रुपैयाँ राजस्व सङ्कलन गर्दै आए पनि यसको संरक्षण, अनुसन्धान र अध्ययनमा पर्याप्त लगानी हुन नसकेको स्थानीयको गुनासो छ।
यार्सागुम्बाको उत्पादनमा आएको गिरावटले हिमाली क्षेत्रमा वातावरणीय परिवर्तनको असर देखाउनुका साथै यसमा निर्भर स्थानीय समुदायको आम्दानी र जीविकोपार्जनमा समेत प्रत्यक्ष प्रभाव पार्न थालेको छ। त्यसैले यार्सागुम्बाको संरक्षणसँगै जलवायु परिवर्तनको असर न्यूनीकरण, वैज्ञानिक अध्ययन र दिगो सङ्कलन प्रणाली विकास गर्नुपर्ने आवश्यकता देखिएको छ।
यसअघि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ ९आईयुसिएन० ले चिराइतो, लगुपत्र र सतिसाललाई संवेदनशील सूचीमा राखिसकेको छ।
प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३ २२:२१