सिमकोट । रसुवाको बाढीमा परेर बेपत्ता भएका हुम्लाको ताँजकोट गाउँपालिका २ का नवकुल शर्मा मृत भेटिएका छन् ।
भन्सार कार्यालयमा भन्सार अधिकृतका रुपमा कार्य शर्मा भदौं १० गते बुधबार बिहान बाढी गएको समयदेखि सम्पर्क बिहिन अवस्थामा थिए ।
घर परिवार र जिल्ला प्रशासन कार्यालयले खोजि कार्यका लागि सबै तिर सूचना गरिएका शर्माको शव त्रिशुली नदी किनारमा भेटिएको छ ।
गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गरे ।
उनका अनुसार प्रादेशिक अस्पताल गोरखामा राखिएको शव हुम्लाको ताँजाकोट गाउँपालिका–२ कट्टेलगाउँ निवासी नरप्रसाद शर्माका छोरा नवकुल शर्माको भएको पुष्टि भएको हो ।
नदी किनारमा मृत अवस्थामा फेला परेको शवको शारीरिक बनावट, अनुहार, दाह्री तथा कपाल, हातको बुढीऔँलामा रहेको पुरानो खत र दाँतको बनावटलगायतका आधारमा हुम्लाका ३६ वर्षीय शर्माकै शव भएको पुष्टी भएको हो, सहायक प्रमुख जिल्ला अधिकारी शर्माले नेपालवोटसँग भने, पहिचान खुल्ने विभिन्न चिन्हका आधारमा उहाँको वश भएको सनाखत गरेर आफन्तलाई बुझाउने काम भैसकेको छ ।
पहिचान भएपछि जेठान नाता पर्ने जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ सन्माल टोल निवासी ४१ वर्षीय गणेशप्रसाद सन्ज्यालसहितले शवको सनाखत गरेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
कानूनी प्रक्रिया पूरा गरेपछि सोमबार नै सन्ज्यालले शर्माको शव बुझेर एम्बुलेन्समार्फत काठमाडौं लगिएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३ ०८:१०