हुम्ला, ९ कात्तिक। उपराष्ट्रपति नन्दबहादुर पुनले दुर्गम हिमाली जिल्ला हुम्ला ढिलोमा एक वर्षभित्रै राष्ट्रिय सडक सञ्जालसँग जोडिने विश्वाश व्यक्त गरेका छन् । सिमकोटस्थित मानसरोवर नमूना माध्यमिक विद्यालयको नमूना भवन शिलान्यास गर्न हुम्ला पुगेका उपराष्ट्रपति पुनले उक्त विश्वाश व्यक्त गरेका हुन् ।
हुम्ला काठमाडौंबाट हेर्दा अति टाढा र दुर्गम देखिए पनि प्राकृतिक विविधता र सौन्दर्यका हिसाबले नेपालका अन्य स्थानभन्दा सयौंगुणा उत्तम भएको दाबी गरे । ‘उत्तरी छिमेकी राष्ट्र चीनका मोटर हाम्रो (हुम्ला) क्षेत्रमा गुडिरहेका छन्,’ उपराष्ट्रपति पुनले भने, ‘नेपाल सरकारको प्राथमिकतामा हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने काम उच्च प्राथमिकतामा परेको छ ।’
धार्मिक र सांस्कृतिकरूपले भरिपूर्ण हुम्लालाई संघीय र प्रदेश सरकारले विकासमा उच्च प्राथमिकता दिए सदियौंदेखि हुम्लीले पाएका दुःख र पीडाको अन्त्य हुनेमा उनले जोड दिए । मानसरोवर नमूना माध्यमिक विद्यालयको नमूना भवनको शिलान्यासको कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न करिब ८० किलोमिटर बाँकी रहे पनि सबै तहका सरकारको तत्परताप्रति खुसी व्यक्त गरे । उनले कर्णाली प्रदेश सरकारले चीन र भारतसँग फास्ट ट्रयाक जोड्ने लक्ष्य पूरा गर्न देखाएको सक्रियताको प्रशंसा गरे ।
‘नेपाल भारत चीनसँग जोड्ने १३३ केभिए विद्युत् प्रसारण लाइनको पनि काम शुरू भइसकेको छ,’ उपराष्ट्रपति पुनले भने, ‘कर्णाली करिडोर र विद्युत्को प्रसारण लाइन विस्तारको योजनाले मात्रै हुम्ला र हुम्ली जनताको जीवनस्तरमा अकल्पनीय परिवर्तन आउने छ ।’ जिल्लाको विकासमा एकाकार भएर जान स्थानीय राजनीतिक दलहरूलाई आग्रह गरेका पुनले लामो बलिदानीले सिंहदरबारको सेवालाई गाउँका नागरिकको घरदैलोमा दिने संविधानको मर्मअनुसार काम गर्नुपर्नेमा जोड दिए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरूसहित सिमकोट पुगेका उपराष्ट्रपति पुनले नेपाल–चीनको सीमा क्षेत्र हिल्सा र लिमीको हवाई अवलोकन गरेर शुक्रबारै जुम्ला फर्केका थिए ।
जुम्ला पुगेका उनले सिंजामा आयोजित एक महोत्सव उद्घाटन गरे । उक्त महोत्सव उद्घाटन गर्दै उपराष्ट्रपति पुनले भने, ‘कर्णालीको सिंजा क्षेत्र हामी नेपाली भाषाको उद्गम थलो मात्रै होइन, गौरवपूर्ण इतिहास पनि हो ।’ ‘समृद्ध कर्णाली बनाउन यस क्षेत्रको प्रचारप्रसार आवश्यक छ,’ उनले भने, ‘यसतर्फ सबै अघि बढन जरुरी छ ।’ उनले सिंजा क्षेत्र आफैँमा ऐतिहासिक क्षेत्र भएको बताउँदै सवल सिंजा बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए । ‘कोही एकाध व्यक्तिले सिंजा क्षेत्रको जगेर्ना गर्न सक्दैन, त्यसका लागि सबैको साथ सहयोग र सहकार्य आवश्यक छ,’ उनले भने, ‘त्यसका लागि प्रचारप्रसार गरौं र नेपालीभाषीको मुटुको रूपमा संसारभर चिनाऔं ।’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार सिंजा क्षेत्रको प्रचारप्रसारका लागि विभिन्न कार्यक्रम ल्याउन लागिरहेको बताए । ‘हामी यहाँ भाषिक सम्मेलन गर्नेछौं, यहाँको भौतिक पूर्वाधारको विकास गर्नेछौं, कम्तिमा रारा घुम्न आउने पर्यटकलाई यहाँ एक दिन राख्ने गरी सरकारले योजना अघि बढाउनेछ,’ मुख्यमन्त्री शाहीले भने, ‘सरकारले यो वर्ष संग्रहालय खोल्ने तयारी गरेको छ । जुन संग्रहालयले खस भाषाको बारेमा, संस्कृति र परम्पराको बारेमा सबैलाई जानकारी दिनेछ ।’ सामाजिक विकास मन्त्री दल रावलले मन्त्रालय पर्यटकीय गन्तव्यको रूपमा सिंजा क्षेत्रलाई हेरिरहेको बताए । ‘धार्मिक तथा सांस्कृतिकरूपले सिंजा क्षेत्र कर्णालीको महŒवपूर्ण क्षेत्र हो,’ उनले भने, ‘सरकार खस भाषा तथा सिंजा सभ्यताको संरक्षण तथा सम्वद्र्धन गर्न लागिरहेको छ । सबैको साथ सहयोग पाउनेमा हामी आशावादी छौं ।’