सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्मचारीलाई कागजमा समय खेर फालेर बस्नुभन्दा परिणाम निस्कने काम गर्न निर्देशन दिएका छन् ।
आफैले जिम्मेवारी लिएको भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीमा सहभागी कर्मचारीलाई निर्देशन दिँदैं मुख्यमन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन् ।
‘कार्यालयको प्रगतिका नाममा कागजमा समय खेर फाल्नुभन्दा प्रदेशकै नमुना बन्ने परिणाममुखी काम गर्नुस् ।’ मुख्यमन्त्री शाहीले भने, ‘विधि प्रक्रियाको नाममा योजना कार्यान्वयनलाई ढिलाई गर्ने, काम रोक्ने, टेवलमा आएको नागरिकको काम अल्झाउने प्रवृत्ति अब कुनै पनि हालतमा सैह्य हुन्न ।’
भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट कार्यान्वयनमै समग्र प्रदेश सरकारको प्रभावकारिता निर्धारण हुने उल्लेख गरेका उनले विगत वर्षबाट पाठ सिकेर चालु आर्थिक वर्षमा बजेट कार्यान्वयनको गतिलाई बढाउनुपर्ने बताए । मन्त्रालय मातहतका सबै कार्यालयलाई समय तालिका तय गरेरै परिणाममुखी काम गर्न निर्देशन दिएका मुख्यमन्त्री शाहीले सोही बमोजिम काम भए नभएको अनुगमन गर्न मन्त्रालय र समग्र प्रदेश सरकारलाई समेत सहज हुने प्रतिक्रिया दिए ।
‘प्रदेश सरकारले तय गरेको नयाँ संगठन संरचना बमोजिमका जिल्लास्तरमा कार्यालय स्थापना तथा कर्मचारी व्यवस्थापनका कारण पहिलो चौमासिकमा बजेट कार्यान्वयन ढिला भएको स्वीकार गरेका शाहीले दोस्रो चौमासिकमा मन्त्रालयबाट प्राप्त बजेटलाई खर्च गरिसक्ने स्प्रिडका साथ काम गर्नुपर्नेमा जोड दिए ।
‘अबदेखि बजेट कार्यान्वयनमा देखाएको सक्रियता र कार्य सम्पादनका आधारमा कर्मचारीलाई प्रदेश सरकराले पुरस्कृत गर्छ ।’ उनले भने, ‘स्वयम् कर्मचारीले गरेको कार्य सम्पादनका आधारमा कर्णालीमा काम गर्ने कर्मचारीहरुलाई क, ख, ग र घ वर्गमा विभाजन गरेर थप सुविधा प्रदान गर्ने तयारी समेत प्रदेश सरकारले गरिरहेको छ ।’
मन्त्रालयको प्रथम चौमासिक समीक्षा कार्यक्रमलाई सम्वोधन गर्दै भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रामआधार शाहले गएको वर्षको तुलनामा यो वर्ष मन्त्रालयको कार्य प्रगति राम्रो रहेको दाबी गरे । गएको वर्ष यो अवधिमा मन्त्रालय योजना छनौटको काममै अल्झिएको बताएका शाहले चालु आर्थिक वर्षमा धेरै योजनाहरु टेण्डर प्रक्रियामा गएको र धेरै योजनाहरु त्यसको अन्तिम चरणमा रहेको उल्लेख गरे ।
चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा सन्तोषजनक परिणाम देखाई छाड्ने प्रतिवद्धता व्यक्त गरेका सचिव शाहले मातहतका कर्मचारीलाई निर्देशन दिदैं भने, ‘योजना कार्यान्वयनलाई तिव्र बनाउन आजैदेखि तपाईहरु लाग्नुहोस् । त्यसका लागि के गर्नुपर्छ मन्त्रालय तयार छ ।’
बैंकिङ कसुर आरोपमा गएको साउन ३१ गते तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्री बर्खास्त भएपछि रिक्त मन्त्री पद मुख्यमन्त्री शाही आफैले सम्हाल्दै आएका छन् ।