सुर्खेत । उपनिर्वाचन हुने हुम्लाको खार्पुनाथ र कुमाख गाउँपालिका ५ मा मतदान शुरु भएको छ ।
बिहान ७ बजेदेखि शुरु हुने मतदान प्रक्रियामा ५ हजार २६ मतदाता मतदानमा सहभागिता जनाउने भएका छन् ।
हुम्लाको खार्पुनाथ गाउँपालिकाका ३ हजार १ सय ८७ र सल्यानको कुमाख गाउँपालिका ५ का १ हजार ८ सय ३९ जना मतदाता उप–निर्वाचनमा सहभागी हुने भएका हुन् ।
हुम्लाको खार्पुनाथ गाउँपालिका वडा १ मा ८ सय ८९, २ मा ४ सय ८०, ३ मा ३ सय २३, ४ मा ६ सय ४२ र ५ मा ८ सय ५३ जना मतदाताले आसन्न निर्वाचनमा मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय हुम्लाका मतदान अधिकारी महेश शर्माले जानकारी दिए ।
सल्यानकोे कुमाख गाउँपालिका वडा ५ मा १ हजार ८ सय ३९ मतदाता रहेका छन् । सरस्वती माध्यमिक विद्यालय झारकाँडालाई मतदान स्थल तोकिएको छ । मतदान केन्द्र ‘क’ मा ९ सय ५२ र ‘ख’ मतदान केन्द्रमा ८ सय ८७ मतदाता रहेको लिल्ला निर्वाचन कार्यालय सल्यानका प्रमुख हरिबहादुर बुढाथोकीले जानकारी दिए ।
दुवै क्षेत्रमा नेकपा र कांग्रेसकै प्रतिस्पर्धा
गाउँपालिका उपाध्यक्ष पदका लागि हुन थालेको खार्पुनाथको उप–निर्वाचनमा नेकपाका उम्मेरदवार रुपा शाही र नेपाली कांग्रेसका उम्मेरदवार तारा शाहीबीच कडा प्रतिस्पर्धा हुने भएको छ । २०७४ वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी भएको नेपाली कांग्रेस खार्पुनाथमा आफ्नो पकट कायमै रहेको भन्दै आफ्ना उम्मेरदवार तारा शाहीले यो पटक निर्वाचन आफूले जित्ने दाबी गरिरहेको छ । भने उक्त निर्वाचनमा तत्कालिन एमालेको तर्फबाट एक्लै निर्वाचन लडेकी रुपा शाहीले ५८ मत अन्तरले पराजय भोग्नु परेको र यो पटक तत्कालिन मोओवादी केन्द्रले प्राप्त गरेको मतसमेत अहिले रुपालाई आउने भन्दै नेकपाले आफ्ना उम्मेरदवारले निर्वाचन जित्ने आंकलन गरेको छ ।
यसैगरी रिक्त वडा अध्यक्ष पदका लागि हुने सल्यानको कुमाख गाउँपालिका ५ मा नेकपाका धर्मे बुढाथोकी, नेपाली कांग्रेसका खड्गबहादुर बोहराबीच प्रतिस्प्रर्धा हुने भएको छ । २०७४ सालको निर्वाचनमा तत्कालिन माओवादी केन्द्रका हरिप्रकाश बुढाथोकीले ठूलो मतान्तरले निर्वाचन जितेको र दोस्रोमा तत्कालिन नेकपा (एमाले) का उम्मेरदवार र तेस्रोमा नेपाली कांग्रेसका खड्गबहादुर बोहरा भएकाले यो निर्वाचनमा नेकपा र कांग्रेसबीच नै प्रतिस्प्रर्धा हुने भएको हो ।
दुइजना स्वतन्त्रसहित पाँचजनाले उम्मेरदारी दिएकोमा स्वतन्त्रले आफ्नो मनोनयन फिर्ता लिएपछि नेकपा, कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल शाहसहित तीनजना चुनावी मैदानमा छन् ।
एक नेतालाई एक गाउँको नेतृत्व
हुम्लाका राजनीतिक दलहरूले खार्पुनाथ गाउँपालिकामा भएका हरेक गाउँमा जिल्लास्तरको नेता खटाएका छन् । स्रोतका अनुसार पार्टीले निर्वाचनलाई आफ्नो पक्षमा पार्न यसरी जिल्लास्तरका नेताको जिम्मा लगाएका हुन् । निर्वाचनको मत परिणामलाई प्रतिष्ठाकै विषय बनाएको नेकपाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विजय भण्डारी प्रतिरोध र जिल्ला अध्यक्ष लालकेश जैसीलाई खर्पेलगाउँ, प्रदेश कमिटी सदस्य दल फडेरालाई लाली, लोकबहादुर हमाल र छिरिङडम्डोल लामालाई छिप्रा, छिमीदोर्जे लामालाई थाली, हस्तबहादुर शाही र रणसिंह परियारलाई रायामा पठाएका छन् । जिम्मेवार बनाएर पठाएका नेकपाका नेताहरू शुक्रबार साँझसम्म गाउँमै रहेको बताइएको छ ।
उता नेपाली कांग्रेसले भने केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशसभाका प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीलाई खर्पेलगाउँकै जिम्मेवार बनाएको छ भने जिल्ला नेता तथा गाउँपालिका अध्यक्ष कर्ण रावललाई छिप्राको जिम्मेवार तोकेको छ । जहाँ दुवैजनाको मताधिकार रहेको गाउँ समेत हो ।
यसैगरी जिल्ला पार्टी सचिव जयपति रोकायालाई लाली तोकेको भए पनि कार्यक्रममा हसभागी हुन शुक्रबार साँझ रोकाया सदरमुकाम आएकाले जाने नजाने बारेमा कुनै टुङ्गो नलागेको बताइएको छ ।
कांग्रेसलाई समाजवादीले सहयोग गर्ने
हुम्लाको खार्पुनाथमा नेपाली कांग्रेसकी उम्मेरदवार तारा शाहीलाई समाजवादी पार्टीले सहयोग गर्ने भएको छ ।
निर्वाचनको अघिल्लो दिन शुक्रबार दुइ बुँदे सहमतिमा हस्ताक्षर भएपछि समाजवादीले आफ्ना मतदातालाई कांग्रेसकी उम्मेरदवार शाहीलाई खुलेरै सहयोग गर्ने भएको हो ।
शुक्रबार साँझ सदरमुकाम सिमकोटमा काँग्रेस सभापति जयपति रोकाया र समाजवादी पार्टीका अध्यक्ष धर्मराज बोहराद्वारा दुई बुँदे सहमति–पत्रमा हस्ताक्षर भएको छ । सहमतीको पहिलो बुँदामा खार्पुनाथ उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई समाजवादीले सहयोग गर्ने र दोस्रो बुँदामा आगामी दिनमा जनसरोकारका विषयमा दुईपार्टी बीच सहमति र सहकार्य गरेर अगाडि बढ्ने कुरा उल्लेख छ ।