कर्णालीपत्र
काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गरेका दीपक हमालले स्वर्ण पदक जितेका छन् । बुधबार सम्पन्न उसु खेलको थाउलुतर्फ भारतका साजन लामालाई पछि पार्दै हमालले स्वर्ण पदक हात पारेका हुन् । दीपकले १९ः३२ अंक जोडेका थिए भने १९ः१२ अंकका साथ लामाले रजत पदक प्राप्त गरेका छन् । हमालको यो पहिलो अन्तर्राष्ट्रिय पदक हो । हालै चीनको सांघाईमा सम्पन्न १५औं विश्व उसु च्याम्पियनसिपमा ५४ जना प्रतियोगी मध्ये हमाल नवौं स्थानमा परेका थिए । सांघाईमा भएको वल्र्ड च्याम्पियनसीपमा उनको प्रदर्शन राम्रो थियो । विश्व च्याम्पियनसीपको शीर्ष १० भित्र पर्ने हमाल नेपालको पहिलो खेलाडी थिए । त्यस्तै सन् २०१७ मा रसियामा सम्पन्न विश्व च्याम्पियनसीप प्रतियोगितामा जम्मा ५५ खेलाडीमध्ये २०औं स्थान प्राप्त गरेका थिए ।
भारतमा सम्पन्न १२औं सागको छनोटबाटै फालिएका दीपक जारी संस्करणमा स्वर्ण पदक जित्न सफल भएका छन् । ‘नेपालका खेलाडीलाई सागमा स्वर्ण जित्ने सपना हुन्छ । त्यो पूरा भएकोमा खुशी छु । पहिलो सहभागितामै स्वर्ण पदक जित्न पाउँदा अझ खुसी लागेको छ,’ हमालले स्वर्ण पदक जितेपछि प्रतिक्रिया दिँदै भने, ‘विश्व च्याम्पियनसीपमा नवौं स्थान ल्याएकाले म स्वर्ण पदक जित्नेमा विश्वस्त थिए । यो धेरै वर्षपछि नेपालको राम्रो रिजल्ट थियो । त्यसमाथि होम ग्राउण्ड भएकाले गोल्ड जित्छु भन्ने थियो ।’ ‘सागमा स्वर्ण जित्ने सपना आज पूरा भएको छ, एकदमै खुसी लागेको छ’, उनले भने । यद्यपि, भारतका साजन लामा अनुभवी खेलाडी भएकाले केही डर लागेको हमाल बताउँछन् ।
स्वर्णको खुसी मनाउने क्रममा उनले परिवार र गुरुहरुलाई सम्झिए । उनलेअघि भने, ‘२०२० डिसेम्बरमा दिल्लीमा एसीयन गेम हुँदैछ । त्यसमा मेडल छुने धोको छ ।’
जिल्ला खेलकुद विकास समिति सुर्खेतका उसु खेलका सहायक प्रशिक्षक रमेश तुलाधरले दीपक अत्यन्तै सम्भावना खेलाडी भएको बताए । उनले भने, ‘सानै उमेरमा उसले अन्तर्राष्टिय पदक जित्न जुन खालको पदर्शन गरेको छ यसले उसको भविष्य राम्रो देखाएको छ ।’ दीपक सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता हुन् ।
यसअघि काठमाडौंमा सम्पन्न आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सुर्खेतका सोना थापा र तेजु गुरुङ्गले करातेको सामूहिक प्रदर्शनतर्फ स्वर्ण पदक जितेका थिए ।
सुर्खेतदेखि काठमाडौँ यात्रा
२०५१ सालमा सुर्खेतको छिन्चुमा जन्मेका दीपकले २०६५ सालमा स्थानीय शारदा माध्यमिक विद्यालयबाट एसएलसीसम्म अध्ययन गरे । छिन्चुमा रहँदा उनले सामान्य हिसाबले कराँते सिकिरहेका थिए । तरबार चलाएको, खेलेको देख्दा निक्कै मजा लाग्थ्यो, उनले भने, ‘चीनका ज्याकी चेन र उनले फिल्ममा खेलेको उसु चाख दिएर हेर्थे । उसुमा चाख भए पनि उनले खेलाडी बन्छु भनेर कहिल्यै सोचेका थिएनन् । त्यसैले प्लस टु सकिने बित्तिकै ब्रिटिस लाहुरेमा भर्ना हुनका लागि प्रतिस्पर्धा गरे । पहिलो वर्षमा सफल हुन सकेनन् । दोस्रो पटक लाहुरेमा भिड्नुअघि उनी उसुको प्रशिक्षणमा भर्ना भए ।
शरीरका लागि पनि राम्रो हुने लाहुरे भइयो भने प्लस प्वाइन्ट हुन्छ भन्ने लागेर उसु सिक्न थाले, उनले भने ।
उसु सिक्न थालेपछि उनलाई प्रशिक्षकले थाउलोको नानछ्वान खेल्न सुझाव दिए । ‘मेरो शरीर र जम्पिङ नान्छवानका लागि फिट भएको गुरुहरूले सुझाव दिए’ उनले भने । उच्च शिक्षाका लागि डिल्लीबजारस्थित एनआइसी कलेजमा अध्ययन गर्दै गर्दा उनलाई उसु खेलमा इच्छा भए पनि समय दिन सकेनन् । उच्च शिक्षा सकेपछि २०६९ सालदेखि मात्र उनी उसुको प्रशिक्षणमा लागे । पाँच वर्षमै सातांै राष्ट्रिय खेलकुदमा उनी स्वर्ण पदक विजेता बने । उनको यात्रा रोकिएन । नेपालगञ्जमा गत जेठमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदकको यात्रालाई निरन्तरता दिए ।
जागिरबाट राजिनामा दिएर तयारी
सधै घर परिवारबाट खर्च पठाउन अप्ठ्यारो हुन थालेपछि दैनिक जिविकोपार्जनका लागि काठमाडौंको एक प्राइभेट कम्पनीमा दीपकले जागिर शुरु गरेका थिए । जागिर गर्दा उसुमा भने जति समय दिन सकेनन् । गत जेठमा सम्पन्न राष्ट्रिय खेलकुद प्रतियोगिता अगावै जागिरबाट राजीनामा दिएर पूर्णकालीन खेलकुदमा लागे । उनी भन्छन, ‘अन्तर्राष्ट्रिय पदक जित्ने ठूलो धोको थियो । जागिर गर्दा सम्भव हुँदैन भनेर राजीनामा दिए ।’ राजीनामा दिएर उनले आठौं राष्ट्रिय खेलकुदको तयारी गरे । आठौंमा पनि उनले स्वर्ण जिते । पदक जितेपछि मन्त्रीदेखि आफन्त र शुभचिन्तकको बधाई थाप्न उनलाई भ्याई नभ्याई छ । तर राज्यबाट उचित सहयोग नभएकोमा उनले गुनासो गरे ।
नजिकिदैं गएको एशीयन खेलकुदमा पदक जित्ने उनको ठूलो सपना छ । त्यसका लागि प्रशिक्षणमा विदेश जाने उनको सोच पनि छ । तर आवश्यक खर्चको अभावमा आँट्न सकेका छैनन् । उनी भन्छन, ‘राज्यले व्यवस्था ग¥यो भने चीनमा अझै सिक्न पाए, अझ प्रगति गर्ने थिए ।’
विश्व च्याम्पियन भएको हेर्ने धोको छ
मलाई पनि खेलकुदमा रुचि थियो । सानैदेखि छोरा लगनशील थियो । चार वर्षको उमेरमा बिहानै उठेर दौडाउँथे । देख्नेले छोरालाई मार्ने भयो भनेर गाली गर्थे । छोराले केही गरेर नाम राखोस् भन्ने चाहना थियो । एसएलसीसम्म तेक्वान्दो खेलिरहेको थियो । पढ्न काठमाडौं जान्छु भन्यो । उतै गएपछि उसुतिर लागेछ । दुईपटक विदेश गयो । पदक हात लागेन भनेर गुनासो गरिरहन्थ्यो । मेहेनत गरेपछि एकदिन राम्रो हुन्छ भनेर सम्झाइरहँे । आठौं खेलकुदको तयारी शुरु हुन थालेको थियो । जागिर गर्दै तयारी राम्रो हुन्न भनेपछि, हुँदाखाँदाको जागिर छोडेर खेलतिर लाग्यो । पदक पाएको सुनेपछि एकदमै खुशी छु । गाँउ ठाँउको नाम राख्यो छोराले भनेर धेरैले बधाई दिइराखेका छन् । ऊ विश्व च्याम्पियन भएको हेर्ने धोको छ । देशको इज्जत राख्ने खेलाडीलाई सरकारले सुविधा दिनुपर्छ ।
उचित सम्मान गछौँ
कर्णाली प्रदेशबाट एक्लो प्रतिनिधित्व गरेका दीपकले स्वर्ण पद जितेकोमा मैले फोन गरेर बधाई दिएँ । उनले हाम्रो प्रदेशको इज्जत र प्रतिष्ठा राखेका छन् । सीमित साधन र श्रोतका बाबजुद पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नु ठूलो उपलब्धि हो । प्रदेश सरकारले यस्ता खेलाडीहरुको हौसला बढाउने काममा कन्जुस्याइँ गर्दैन । उनलाई प्रदेश सरकारको तर्फबाट उचित सम्मान दिइने छ ।