हुम्ला । जिल्लाका न्यायधीसले नै कानून मिचेपछि उपनिर्वाचनको नतिजा आएको हप्तादिन बित्दा पनि हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित रुपा शाहीको शपथ ग्रहण विवादित बनेको छ ।
उपनिर्वाचनको मत परिणाम सार्वजनिक भएकै दिन मंसिर १५ गते जिल्ला न्यायधीससमेत रहेका मुख्य निर्वाचन अधिकृत चन्द्रकान्त पौडेलले उपाध्यक्ष शाहीलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरीत शपथ खुवाएपछि विवाद शुरु भएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०९ को उपदफा २ ले सपथ ग्रहण गराउने अधिकार प्रष्ट रुपमा सम्बन्धित गाउँपालिका अध्यक्षलाई दिएको छ । उक्त कानूनी व्यवस्था अनुसार आफूलाई दिएकोअधिकारमा जिल्लाको न्यायमुर्तिका रुपमा रहेका मुख्य निर्वाचन अधिकृत पौडेलले कानून मिचेको भन्दै खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलले बिरोध जनाएपछि उपाध्यक्ष शाहीको सपथ ग्रहणको विवाद सतहमा आएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०९ को उपदफा २ मा ‘उपाध्यक्ष, उपप्रमुख, वडा अध्यक्ष र सभाका सदस्यले अध्यक्ष वा प्रमुखले सपथ लिएको सात दिनभित्र सम्बन्धित अध्यक्ष वा प्रमुख समक्ष अनुसूची–२ बमोजिमको ढाँचामा सम्बन्धित जिल्ला न्यायाधीस समक्ष पद तथा गोपनियताको सपथ लिनुपर्नेछ’ भन्ने कुरा उल्लेख गरिएको छ । तर खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी शाहीलाई उक्त कानूनी व्यवस्था मिचेर जिल्ला न्यायाधीस तथा मुख्य निर्वाचन अधिकृत पौडेल आफैले गाउपालिका अध्यक्ष रावलको उपस्थितिमा मंसिर १५ गते अन्तिम मत परिणाम सार्वजनिक भए लगत्तै उपाध्यक्ष पदमा निर्वाचित भएको प्रमाण पत्र वितरण सँगै सपथ गराएका थिए ।
‘२०७४ साल वैशख ३१ गते सम्पन्न भएको निर्वाचनबाट निर्वाचित उपाध्यक्ष र वडा अध्यक्ष र सभाका सदस्यलाई मैले नै सपथ ग्रहण गराएको हुँ । तर मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा मुख्य निर्वाचन अधिकृत आफैले सपथ ग्रहण गराएपछि मलाई त कानून परवर्तन भएछ भन्ने लाग्यो ।’ खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावल कर्णालीपत्रसँग भने, ‘कानूनको संरक्षण गर्ने न्यायमुर्तिले नै जनप्रतिनिधिलाई दिएको कानून मिच्ने अधिकार कहाँबाट आयो ? त्यसको स्पष्ट जवाफको खोजिका लागि मैले विरोध गरेको हुँ ।’
उपनिर्वाचनको मत परिणाम सार्वजनिक भएकै दिन मंसिर १५ गते अध्यक्ष रावलकै उपस्थितीमा आफूले सपथ गराएको स्विकारेका मुख्य निर्वाचन अधिकृत पौडेलले कानून बमोजिक केही कमजोरी भएपनि त्यसलाई ठूलै इस्यूका रुपमा लिन नहुने बताए । ‘मैले अध्यक्ष ज्यूलाई नवनिर्वाचित उपाध्यक्ष ज्यूको सपथ फेरी गराउन अनुरोध गरेको छु ’ उनले भने, ‘तर पनि यसलाई विवादको रुपमा विवाद मात्रै गराउने कुराले राम्रो म्यासेज जाँदैन ।’
सपथ विवादले पद बहालीमा ढिलाई
गएको मंसिर १४ गते सम्मपन्न उपनिर्वाचनको अन्तिम मत परिणाम अनुसार मंसिर १५ गते उपाध्यक्ष पदमा निर्वाचित भएकी रुपा शाहीको सपथ ग्रहण विवादले पद बहालीमा समेत ढिलाई भएको छ ।
उपाध्यक्षमा निर्वाचित भएको दश दिन बित्दा समेत मेरो पदबहाली भएको छैन ।’ नवनिर्वाचित उपाध्यक्ष शाहीले भनिन, ‘सपथ ग्रहणको विवादका बारेमा म केही भन्न सक्ने अवस्थामा छैन ।’ जननिर्वाचित प्रतिनिधिका रुपमा आश मानेर स्थानीय नागरिक आएपनि मैले उपाध्यक्षका रुपमा केही काम गर्न सक्ने अवस्था छैन् । उनले भनिन्, ‘आधिकरिक रुपमा मलाई गाउँपालिकाले पद बहाली गराउने काम समेत गरेको छैन ।’
उपाध्यक्षको सपथ ग्रहणमा कानूनी व्यवस्थाको उपहास गर्दै मुख्य निर्वाचन अधिकृत पौडेलले क्षेत्रधिकार मिचेका कारण सार्वजनिक रुपमा माफी नमागेसम्म निर्वाचित उपाध्यक्षलाई शपथ ग्रहण र उपाध्यक्षको पद बाहली नगराउने खार्पुनाथ गाउँपालिकाका अध्यक्ष रावलले बताए ।