जाजरकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सूर्य उदाउने र अस्ताउने समय हेरेर काम नगर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
प्रदेश सरकारको बजेट खर्च हुन नसकेको कुरा उठिरहेका बेला प्रदेश मातहतका सरकारी कार्यालयको प्रथम चौमासिक समीक्षा कार्यक्रमका लागि जाजरकोट पुगेका म्ुख्यमन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन् । तपार्ई कर्मचारी साथीहरूले प्रदेश मातहतका कार्यालयको विकासे बजेट जनआकांक्षाअनुसार तिब्र गतिमा परिणाम निस्किने गरी काम शुरु गर्नुहोस् ।’ उनले भने, ‘साना आयोजनामा बोलपत्र आव्ह्वान र ठूला आयोजनामा मात्र वातावरणीय प्रभाव मूल्यांकनको काम अनिबर्य रुपमा गर्नुहोस् ।’ जिल्लामा स्थापना गरिएका प्रदेशका कार्यालयमा लेखापाल अभाव टार्न संघीय सरकारको मताहातमा रहेका कार्यालयका लेखापालबाट तत्काल आर्थिक कारोबार गर्नसमेत जिल्लाका कार्यालयलाई मुख्यमन्त्री शाहीले निर्देशन दिए ।
अबको ६ दिनभित्र जिल्लाको प्रगति विवरण प्रदेश सरकारलाई पेश गर्नसमेत निर्देशन दिएका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले भने, ‘प्रदेश सरकारको मताहतका कार्यालयमा कहिल्यै बजेट अभाव हुदैन तर काम तोकिएकै मितिमा हुनुपर्छ ।’
मातहतका सबै कार्यालयमा अक्तियारी पठाई सकिएकाले योजनाको कार्यान्वयन तिब्र रुपमा अघि बढाउन मन्त्री ज्वालाले निर्देशन दिए । तत्कालका लागि भए पनि प्राविधिक कर्मचारी पठाइएको छ । उनले भने, ‘अन्य कर्मचारी अभाव भएका कार्यालयमा छिट्टै कर्मचारी पठाउने व्यवस्था हामीले गरिरहेका छौं ।’
यसैबीच ५० शैयाको स्वास्थ्य सेवा कार्यालयको भवनको समेत उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले एम्बुलेन्सको अभावलाई पूर्ति गर्न प्रदेश सरकारले अब छिट्टै पहल गर्ने बताए । भौतिक पूर्वाधार र सडक निर्माणलाई मुख्य प्राथमिकता दिनसमेत आग्रह गरेका शाहीले प्रदेश सरकारको बजेट कार्यान्वयनको अवस्थाका बारेमा आयोजनास्थलमा गएर अनुगमन गर्न प्रदेशसभा सदस्यहरूलाई आग्रह गरे ।
विद्यार्थीलाई झोला वितरण
मुख्यमन्त्री शाहीले भेरी नगरपालिकाका ४७ सामुदायिक विद्यालयका ४ हजार ४ सय ५३ विद्यार्थीहरूलाई उपहार स्वरुप झोला वितरण गरेका छन् । रुपान्तरण नेपालको आयोजनामा जापानमा बस्ने नेपाली विद्यार्थीको आर्थिक सहयोगमा नगरपालिकाले समन्वय गरेको कार्यक्रममा कक्षा ४ देखि ८ सम्म अध्ययनरत विद्यार्थीलाई उक्त झोला वितरण गरिएको हो ।