नकपुर । शुक्रबार मध्यराति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका (५ महेन्द्रनगरमा भएको बम विष्फोट घटनाले पूरै धनुषा जिल्ला शोकमा डुबेको छ ।
घटनामा इलाका प्रहरी कार्यालय महेन्द्रनगर (धनुषा) का इन्चार्ज प्रहरी निरीक्षक ४५ वर्षीय अमिरकुमार दाहाल, स्थानीय औषधि व्यवसायी ४७ वर्षीय राजेश साह र उनका २३ वर्षीय छोरा आनन्दको मृत्यु भएको छ ।
राजेश बाबु(छोराको घटनास्थलमै र दाहालको उपचारको क्रममा शनिबार बिहान करिब सात बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।
घटनामा परेका अन्य तीन जनाको अवस्था गम्भीर छ । मृतक राजेशका छोरा १३ वर्षीय प्रकाश, १९ वर्षीया छोरी अन्जली र प्रहरी जवान रिझनाथ महतोको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय, महेन्द्रनगरका नायब प्रहरी निरीक्षक रामपदार्थ साहले जानकारी दिए । उनीहरु तीनैजना उपचारार्थ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना छन् । मृतक राजेश र आनन्दको शव जनकपुरस्थित प्रादेशिक अस्पताल र दाहालको शव धरानस्थित प्रतिष्ठानमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कसरी भयो घटना ?
शुक्रबार राति करिब सावा ११ बजे राजेशकी श्रीमति अञ्जु ओछ्यानबाट उठेर घर बाहिर रहेको शौचालय गइन् । उनले बाहिरको ढोका खोल्दा ह्यान्डलमा एउटा झोला झुन्ड्याइएको थियो । उनले वास्ता नगरी फर्केर ओछ्यानमा पुगिन् । लगत्तै राजेश पनि शौचालय गए । उनले पनि झोलालाई नछोइकनै ढोका खोले र फर्केर बन्द पनि गरिदिए । कोठामा आएपछि श्रीमतिसँग त्यो झोलाको बारेमा कुरा गरे । शंका लाग्यो र छोरा आनन्दलाई उठायो । छोराले विष्फोटक पदार्थ हुनसक्ने आशंका गरे ।
“राति सुत्न जाने बेलासम्म कुनै झोलासोला नभएको ठाउँमा मध्यराति बाहिरबाटै आएर कसैले झोला झुन्ड्याएको हुन सक्ने स्पष्ट भइसकेपछि हामी सबै डरायौं,” मृतक राजेशकी श्रीमति अञ्जुले बाह्रखरीसँग भनिन्, “छोरी र अर्को छोरालाई पनि उठाएर हामी सुरक्षित हुन बाहिर निस्क्यौं । सबै बालबच्चालाई लिएर चोकमा औषधी पसल रहेको घरमा पुगेर प्रहरीलाई खबर गर्ने सल्लाह भयो ।”
अञ्जुको अनुसार राजेश र उनका छोरा आनन्द नजिकै रहेको इलाका प्रहरी कार्यालयमा पुगेरै घटनाबारे जानकारी गराए । भर्खरै मोबाइल ड्यूटीबाट फर्केर कार्यालय पुगेका इन्सपेक्टर दाहाल आफूसमेत पाँच जनाको टोली लिएर घटनास्थल पुगे ।
राजेश र उनको परिवार पनि त्यहाँ पुग्यो । दाहालले ढोकामा झुन्ड्याइएको झोलामा कुनै प्रकारको तार वा अन्य वस्तु जडान भए नभएको हेरे । नजिक पुगेपछि पुरानो कुकर रहेको र त्यो डराउनका राखेको हुन सक्ने बताए । त्यो झोला हटाउन पुगेका दाहालसँगै राजेश र उनका छोराछोरी पनि वरीपरी थिए । त्यहीँबेला विष्फोट भयो । राजेश र उनका छोरा आनन्दको घटनास्थलमै मृत्यु भयो ।
करिब आधा शरीर जलेको दाहालको पेटमा छर्रा लागेर बनेको प्वालबाट ह्वाल्ह्वाल्ती रगत बग्न थाल्यो । “बम विष्फोट भएको जानकारी पाउने बित्तिकै म त्यहाँ पुगेको हुँ,” नायब प्रहरी निरीक्षक साहले भने, “घटनामा को(को परे भनेर हेर्न गएको त इन्सपेक्टरसाब आफँै पनि उठ्नै नसक्ने अवस्थामा पुगिसक्नुभएको रहेछ । उठाएर गाडीमा हाल्न खोजेँ उहाँको कम्मरमा दुखेको हुनुपर्छ, कम्मरमुनि हात हाल्दिनुस् भन्नुभयो । उहाँको मुखबाट मैले सुनेको अन्तिम वाक्य त्यो नै हो ।” नायब प्रहरी निरीक्षक साहले बाह्रखरीसँग घटनाबारे पूरै बोल्नै नसकी भक्कानो छाडे । उनीसमेत इलाका प्रहरी कार्यालयका सबै जनशक्ति विक्षिप्त बनेका छन् ।
यता, राजेशकी श्रीमति अञ्जु बेहोस् छन् । उनका बाबु भिखारी साह र वृद्ध आमाको पनि होस् हराएको छ । राजेशका दुई छोराछोरी उपचारको क्रममा धरानमै छन् । घर, आँगन र वरीपरी ठूलो भिड लागेको छ । छिमेकी घर भएका नगर प्रमुख योगेन्द्र पजियार निशब्द छन् ।