काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गोकर्ण फरेस्टमा रिसोर्ट सञ्चालन गर्न दिए वापत् नेपाल ट्रस्टलाई एक अर्ब भाडा र अप्रत्यक्ष करमार्फत् राज्यलाई झन्डै तीन अर्ब आम्दानी हुने प्रष्ट्याएका छन् ।
राष्ट्रियसभाका सांसद्हरूले उठाएका प्रश्नको बिहीबार जवाफ दिँदै नेपाल ट्रस्टका अध्यक्ष पोखरेलले भने, “कौडीको भाउमा भाडामा दिएको छैन । फेरि यो सरकारले दिएको पनि होइन । नेपाल ट्रस्ट ऐन २०६४ र नियमावली २०६५ मुताविक लिजमा दिएको हो ।”
नेपाल ट्रस्टको नाममा रहेको करिब २८ सय रोपनी क्षेत्रफलको जग्गा लिज अवधि समाप्त हुनु पाँच वर्षअघि नै सरकारले एलएम सुवीर ब्रदर्स नेपाल, प्रालिलाई थप ३० वर्षका लिजमा दिने सम्झौता गरेको थियो ।
उपप्रधानमन्त्री पोखरेलले गोकर्ण जंगलमा रिसोर्ट सञ्चालन गर्न तत्कालीन राजदरबारको डिपार्टमेन्ट अफ् क्राउन प्रोपर्टी, रोयलप्यालेस काठमाडौं तथा एलएस सुवीर ब्रदर्स नेपाल प्रालिबीच २०५२ साउन ३१ गते ३० वर्षका लागि जग्ग्गा लिजमा दिने सम्झौता भएको जानकारी दिए ।
त्यतिबेला ५० लाख डलरमा लिज सम्झौता भएको उल्लेख गर्दै संसद्ले बनाएको कानुनमै टेकेर सरकारले लिज अवधि बढाएको जिकिर गरे ।
कम्पनीले बाँकी लिज अवधि (साढे पाँच वर्ष) को ३७ लाख डलर बुझाउने र त्यसपछि २५ वर्षको १ अर्ब १ करोठ ५१ लाख २ सय ७० नेपाली रुपैयाँ ट्रस्टलाई बुझाउने सम्झौता भएको पोखरलेको भनाइ छ ।
यसबाहेक अप्रत्यक्ष करवापत राज्यले ३ अर्ब रुपैयाँ कमाउने पनि दाबी गरे ।
“नेपाल चार्टड एकाउन्टेन एसोसिएसनले ट्रस्टको कार्यालयलाई बुझाएको फेयर मार्कट भ्यालुको आधारमा, गोकर्ण नगरपालिका, नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसनको सिफारिस, वातावरणीय मूल्याङ्कनका आधारमा र रोजगारी सिर्जना, पर्यटन उद्योगमा टेवा, सम्पत्तिको संरक्षण, सामाजिक सांस्कृतिक प्रवद्र्धन हुने ठानेर लिज अवधि बढाइएको हो,” उनले भने ।
कम्पनीले २९ करोड लगानी गरेर ४८ वटा सुविधायुक्त ४०० जना अट्ने सभाहल बनाउने र लिज अवधि बढाउने सम्झौता भएको उनको भनाइ थियो ।