सुर्खेत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभाको आसन्न निर्वाचनका लागि आफ्ना उम्मेदवारको टुङ्गो लगाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सम्पन्न नेकपाको सचिवालय बैठकले निर्वाचनका लागि उम्मेदवार चयन गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । निर्वाचन आगामी माघ ९ गते हुँदैछ । उनका अनुसार प्रदेश नं १ मा महिलातर्फ इन्दु गौतम, दलितमा गोपी अछामी र अन्यमा देवेन्द्र दाहाललाई चयन गरेको छ । यसैगरी प्रदेश नं २ मा महिलामा तुल्सा दाहाल, दलितमा राधेश्याम पासवानलाई चयन गर्ने निर्णय बैठकले गरेको छ ।
प्रदेश नं २ मा नेकपाले दुई स्थानका लागि राष्ट्रिय जनता पार्टी (राजपा) सँग सहकार्य गर्ने सहमति गरेको छ । बैठकले प्रदेश नं ३ मा महिलामा गङ्गा बेल्वासे र अन्यमा वेदुराम भुसाल, गण्डकी प्रदेशमा अन्यमा नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने, प्रदेश नं ५ मा महिलामा विमला घिमिरे, अपाङ्गता/अल्पसङ्ख्यकमा जगप्रसाद शर्मा, अन्यमा गोपाल भट्टलाई उम्मेदवार तय गरेको छ ।
कर्णालीबाट विसी र शर्मा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभाका सदस्यका लागि कर्णाली प्रदेशबाट जाजरकोटका मायाप्रसाद शर्मा र सुर्खेतकी सुमित्रा बिसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शर्मा पार्टीको प्रदेश कमिटीको सचिव हुन् भने बिसी तत्कालीन अखिल नेपाल महिला संघको सचिव थिइन् । जनयुद्धकालीन अवस्थादेखि भूमिगत रहेका पुराना नेता शर्मा पछिल्लो समय कुनै राजकीय जिम्मेवार नदिएको भन्दै असन्तुष्ट थिए । २०६४ सालमा जाजरकोटबाट समानुपातिक सांसद रहेका उनी तत्कालीन माओवादी केन्द्र फुटाल्दा मोहन बैद्य समूहतिर लागेका थिए । वर्तमान गृहमन्त्री रामबहादुर थापा बादललेसँग एकता गरेसँगै उनी फेरि मूलधारको नेकपामा समाहित भए । २०७४ सालको निर्वाचनमा उनी जाजरकोटबाट प्रतिनिधिसभाको टिकटको आकाँक्षी थिए । तर पार्टी स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतले सो स्थानबाट टिकट पाए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रबीच एकीकरण भइसकेपछि कर्णाली प्रदेशको पार्टी सचिव जिम्मा दिएपछि उनले अस्वीकार गरेका थिए । हालै पार्टीको सचिवालय बैठकले उनको राजीनामा अस्वीकृत गर्दे काममा फर्कन निर्देशन दिएको थियो । आफनै जिल्लाबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने कालीबहादुर मल्लको म्याद सकिएपछि उनको स्थानमा शर्मालाई पार्टीले उम्मेदवार बनाएको हो । पार्टीले उम्मेदवार घोषणा गरेपछि शर्माले जनअपेक्षाअनुसार काम गर्न राष्ट्रिय सभामा भूमिका खेल्ने बताएँ । ‘म त्यहाँ जाँदा कर्णालीका पींडा, जनताका दुःख–सुखका विषयमा आवाज उठाउने छु,’ उनले भने, ‘पछाडि पारिएको कर्णालीलाई राज्यको मूलधारमा ल्याउन मेरो भूमिका रहने छ । त्यसबाहेक जनचाहना बमोजिमका नीति बनाउन, पारित गर्न मैले भूमिका खेल्ने छु । विकास निर्माणमा आवाज उठाउने छु ।’
राष्ट्रिय सभाको सदस्यका लागि कर्णालीबाट उम्मेदवारमा सिफारिस भएका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ की सुमित्रा बिसी लामो समयदेखि राजनीतिमा सक्रिय थिइन् । राष्टिय वाणिज्य बैंकमा अधिकृतको कर्मचारीबाट ४ वर्ष अघि राजिनामा दिएकी बिसी अघिल्लो प्रतिनिधिसभामा समानुपातिक उम्मेदवारको अन्तिम सूचीबाट हटाइएकी हुन् । तत्कालीन एमाले निकट अखिल नेपाल महिला संघको केन्द्रीय सचिव थिइन् । ‘विगतमा लामो समय पार्टीको सांगठनिक अभ्यासमा सक्रिय थिएँ,’ उनले भनिन्, ‘अहिले संसदीय अभ्यास गर्ने पालो आउन लागेको छ । राष्ट्रियसभा सदस्यका रुपमा निर्वाचित भएपछि मैले सरकारलाई सफल बनाउन विगतकोभन्दा थप सशक्त भूमिका खेल्नेछु ।’ बिसीले लामो समयपछि आफूले न्याय पाएको बताइन् ।
मनोनयन दर्तामा उपस्थित हुन नेकपाको निर्देशन
आगामी आइतबार हुने राष्ट्रिय सभा सदस्यको उम्मेदवारको मनोनयनपत्र दर्ता कार्यक्रममा सहभागी हुन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटीले निर्देशन दिएको छ ।
आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले भोलि पुस २० गते आइतबार बिहान १० देखि अपराह्न ३ बजेसम्मको समयमा राष्ट्रिय सभा सदस्यका उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम सार्वजनिक गरे लगत्तै आफ्नो फेसबुकमा पार्टीका नेता तथा कार्यकर्ताका लागि जरुरी सूचना जारी गर्दै नेकपा कर्णाली प्रदेश कमिटीका अध्यक्ष गोरखबहादुर बोगटीले सुर्खेतमा उपलब्ध हुने पार्टीका केन्द्रीय कमिटी, प्रदेश कमिटी सदस्य, प्रदेशसभा सदस्य र जनवर्गीय संगठनका पदाधिकारीलाई अनिबार्य उपस्थितिका लागि निर्देशन दिएका हुन् । शुक्रबार साँझ सामाजिक सञ्जालमा सूचना जारी गर्दै बोगटीले भनेका छन्, ‘आगामी माघ ९ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनको सिलसिलामा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कार्यालयको अगुवाईमा हुने पार्टीका उम्मेदवारहरूको उम्मेदवारी दर्ता कार्यक्रमका लागि सुर्खेतमा उप्लब्ध पार्टी केन्द्रीय सदस्यहरू, प्रदेश कमिटी सदस्यहरू, प्रदेशसभा सदस्यहरू तथा जनवर्गीय संगठनका पदाधिकारीहरूलाई पुस २० गते आइतबार दिउँसो १ः३० बजे प्रदेश पार्टी कार्यालय, सुर्खेतमा उपस्थित हुन आग्रह गर्दछु ।’