पोखरा । कपडा व्यवसायी एशोसियशन कास्कीले पोखराको व्यावसायिक विकासमा समाचार सम्प्रेषणका माध्यमबाट कलम चलाउने एक जना सञ्चारकर्मीलाई प्रदान गर्ने गरी आर्थिक पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।
एशोसिएशनको आज सम्पन्न २०औँ साधारणसभाले संस्थाको प्रत्येक अधिवेशनमा एक जना पत्रकारलाई रु ११ हजार १११, दोसल्ला र सम्मानपत्रसहित सम्मान गर्ने निर्णय गरेको हो । त्यस्तै प्रत्येक साधारणसभामा महिला उद्यमी सम्मान, प्लस टू र स्नातकोत्तर उतिर्ण व्यवसायीका छोराछोरीलाई नगदसहित सम्मान गर्नुका साथै विपत्तिमा परेका व्यवसायीको क्षतिको आँकलन गरी अधिकतम रु २५ हजारसम्म सहयोग गर्नेलगायत निर्णय गरिएको एशोसिएशनका अध्यक्ष विष्णुप्रसाद तिमल्सीनाले जानकारी दिए ।
यसअघि साधारणसभाको उद्घाटन गर्दै पोखरा उद्योण वाणिज्य सङ्घका अध्यक्ष दामु अधिकारीले व्यवसाय सञ्चालनमा थुप्रै नीतिगत समस्या रहेको जानकारी दिए ।सरकारले विभिन्न वाहनामा व्यवसायी माथि कर आतङ्क थपेको भन्दै उहाँले त्यसको समाधानका लागि आफूहरुले निरन्तर पहल गरिहेको बताए । एशोसिएशनका संस्थापक अध्यक्ष रामजीप्रसाद बाँस्तोलाले व्यावसायिक हित र विकासका लागि व्यवसायीबीचको एकता जरुरी हुने आवश्यकता औँल्याए ।
व्यापार मेलामा १५ हजारले अवलोकन
पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा नयाँ बजारमा शुक्रबारबाट शुरु समृद्धि स्टील्स व्यापार मेलाले गति लिएको छ । शुक्रबार झरीले अवरोध गरे पनि आज करिब १५ हजार दर्शकले मेलाको अवलोकन गरेको सङ्घका महासचिव अर्जुन पोखरेलले जानकारी दिए ।
मेलाअन्तर्गत आजैदेखि खुल्ला एकल नृत्य, पञ्चेबाजा लगायतका प्रतियोगिता सुरु भएको उनले बताए । आजको एकल नृत्य प्रतियोगिताबाट सोनिका गुरुङ तथा अनिल परियार दोस्रो चरणमा पुगेको सङ्घका सांस्कृतिक उपसमितिका संयोजक सोवित पौडेलले जानकारी दिए ।
मेलामा आज प्रजापति पराजुली लगायतका कलाकारको लोकदोहोरी प्रस्तुत गरिएको थियो । उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नाराका साथ आयोजित मेला पुसको २८ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।