काठमाडौ । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आज बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता हुँदैछ।
काठमाडौं। ५९ सदस्यीय राष्ट्रिय सभाका सदस्यमध्ये १९ जनाको आउँदो २० फागुनमा पदावधि सकिँदैछ।
त्यसमध्ये १८ जनाको निर्वाचनको माध्यमबाट र एक जना सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुने छ।
राष्ट्रिय सभाका सदस्यको पहिलोपटक एकतिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एकतिहाइको चार वर्ष र बाँकी एकतिहाइको छ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ।
दुईवर्षे कार्यकाल पूरा गर्ने सदस्यको खाली पदका लागि यो निर्वाचन हुन लागेको हो ।
राष्ट्रिय सभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ।
यी हुन् कार्यकाल पूरा हुने सदस्यहरू
राष्ट्रियसभामा पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यहरूमा सरिता प्रसार्इं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली छन्।
२० फागुनमा दुईवर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नौ, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक जना सदस्य छन्।
राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्षरउपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन्।
यो निर्वाचनमा पहिलो हुने निर्वाचित हुने अर्थात् धेरै मत प्राप्त गर्ने नै विजयी हुने निर्वाचन प्रणालीबाटै उम्मेदवारको चयन हुनेछ ।
राष्ट्रियसभाको आगामी निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य सातजना निर्वाचित हुनेछन्।
संघीय संसद्को माथिल्लो सभाका रूपमा रहने राष्ट्रियसभामा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका प्रबुद्ध व्यक्तिको प्रतिनिधित्व हुने संविधानले परिकल्पना गरेको छ।
कुन दलबाट को उम्मेद्वार ?
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा उम्मेद्वारका लागि १६ जनाको नाम टुंग्याइसकेको छ।
१८ पुसमा बसेको नेकपा सचिवालय बैठकले प्रदेश १ बाट इन्दु गौतम, देवेन्द्र दाहाल र गोपी अछामी, प्रदेश २ बाट तुलसा दाहाल र राधेश्याम पासवान, प्रदेश ३ बाट गंगा बेलवासे र डा। बेदुराम भुसाललाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको छ। त्यस्तै गण्डकी प्रदेशबाट भगवती न्यौपाने र नारायणकाजी श्रेष्ठ, प्रदेश ५ बाट विमला घिमिरे, गोपाल भट्टराई र जगप्रसाद शर्मा, कर्णाली प्रदेशबाट सुमित्रा बिसी र मायाप्रसाद शर्मा उम्मेद्वार छन्।
तारामान स्वाँर र शारदा भट्टलाई सुदूरपश्चिम प्रदेशबाट उम्मेद्वार बनाउने नेकपा सचिवालयको निर्णय छ।
प्रतिपक्ष नेपाली कांग्रेसले प्रदेश १ बाट निरबहादुर विश्वकर्मा, मिना पुलामी मगर र राजेन्द्र घिमिरे प्रदेश २ बाट नागिना यादव र भोला पन्जियार प्रदेश ३ बाट हरिशरण श्रेष्ठ, छलीकुमारी शर्मा र सूर्यप्रसाद रेग्मी, कर्णाली प्रदेशबाट विमला गौचन, प्रदेश ५ बाट बालकृष्ण पाण्डे, गिरिजा न्यौपाने र मेराज हलवाई, कर्णाली प्रदेशबाट डिल्लिराम पाठक र सवित्रा पौडेल, सुदूरपश्चिम प्रदेशबाट प्रताप ठगुन्ना र तुलसी देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै, राजपा नेपालले प्रदेश २ बाट मृगेन्द्रकुमार सिंह यादव र शेखरकुमार सिंहलाई र संघीय समाजवादी पार्टीले रामप्रीत पासवानलाई उम्मेदवार बनाउने भएको छ ।
पासवान अहिले पनि राष्ट्रिय सभा सदस्य छन् । प्रदेश २ मा नेकपाले राष्ट्रिय जनता पार्टी र कांग्रेसले संघीय समाजवादी पार्टीसँग तालमेल गर्ने भएका छन्।