बाँके । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बाँके र बर्दियालाई कर्णालीमा मिसिने भए जनदबाब सिर्जना गर्न आवश्यक रहेको बताएका छन् ।
उपचारको सिलसिलामा नेपालगञ्ज पुगेका मुख्यमन्त्री शाहीले बाँके र बर्दियालाई मिसाउन कर्णालीले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘साँच्चै तपाईहरू (बाँके र बर्दिया) ले कर्णाली प्रदेशमा मिसिने भित्रि चाहना गर्नुभएको हो भने केन्द्रयस्तरका नेता र नेपाल सरकारको ध्यान केन्द्रित गर्ने खालका जनदबाब सिर्जना गर्नतर्फ लाग्नुहोस् ।’
‘हाम्रो (कर्णाली प्रदेश) तर्फबाट कुनै कसर बाँकी राख्दैनौं, तपाईहरूले यताबाट दबाब सिर्जना गर्नुस्,’ नेपालगञ्जका व्यापारीहरूसँगको भेटमा उनले भने, ‘सबै (सरकार र राजनीतिक दल) को ध्यान केन्द्रित गर्ने गरी संयुक्त दबाबका लागि हामी तयार छौं ।’
५ नम्बर प्रदेशमा रहेको बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा मिसाउनु पर्ने आवाज उठिरहेको बेलामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री शाहीले त्यस्तो प्रतिक्रिया दिएका हुन् । शाहीको प्रतिक्रियाले कर्णाली प्रदेशमा मिलाउनुपर्छ भन्ने बाँके र बर्दियाका अगुवाहरू खुशी देखिएका छन् । विगतदेखि नै बाँके र बर्दियासँग कर्णालीको गहिरो साइनो रहेकाले यी दुई जिल्ला कर्णालीबाट अलग हुन नसक्ने उल्लेख गरेका शाहीले भने, ‘बाँके र बर्दियालाई जोड्दा कर्णाली प्रदेश हिमालदेखि तराईसम्म फैलिने मात्रै होइन, यसले समृद्ध प्रदेश बनाउन ठूलो सहयोग पु¥याउँछ ।’ बाँके र बर्दियाका जनतालाई पनि कर्णालीमा मिसिँदा फाइदा हुने उनको तर्क थियो ।
उद्योग वाणिज्य संघ बाँकेको निर्वाचनको माहोल चलिरहेको बेलामा नेपालगञ्ज आइपुगेका मुख्यमन्त्री शाही दुवै प्यानलको सचिवालयमा पुगेका थिए । नेपालगञ्जका व्यापारीले शाहीलाई सम्मानसमेत गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले बाँके र बर्दियालाई कर्णालीमा मिसाउने एकसूत्रीय अभियान थालेका छन् । त्यसमा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले पनि साथ दिइरहेको बेला मुख्यमन्त्री शाहीको अभिव्यक्तिलाई महत्वका साथ हेरिएको छ । साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा सँगै भएका बाँके र बर्दिया राज्यको पुर्नसंरचनाले अहिले ५ नम्बर प्रदेशअन्तर्गत पर्दछन् ।
फोटो क्याप्सनः नेपालगञ्जका व्यापारीहरूसँगको भेटमा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही ।
तस्वीरः कर्णालीपत्र