काठमाडौं, २ माघ
। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे जथाभावी बोल्दै नहिँड्न कडा निर्देशन दिएका छन ।
पुस २८ गते सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले एमसीसीबारे मन्त्री र केही नेताहरुले नबुझिकन बोल्ने गरेकोमा आपत्ति जनाउँदै यस्तो निर्देशन दिएका हुन ।
बैठकमा एक मन्त्रीले एमसीसीबारे बाहिर विरोध भइरहेको र पाटीकै नेताहरूसमेत एमसीसीको विपक्षमा उभिएको प्रसंग निकालेपछि प्रधानमन्त्रीले एमसीसी नेपालको जलविद्युत र सडक विकाससँग जोडिएको भन्दै यसको विरोध गर्नुको औचित्य नभएको बताएका थिए ।
उक्त बैठकमा पार्टीका स्थायी समिति सदस्य भीम रावलले एमसीसीको चर्काे विरोध गरेको र उनलाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएको प्रसंग समेत निस्किएको थियो । यो प्रसंग उठ्ने वित्तिकै प्रधानमन्त्री ओली कड्किन पुगेका थिए ।
‘को वालुवाटार, के को बालुवाटार, सरकारलाई बद्नाम गराउन अनेक बहाना बनाउने ? पार्टीको जिम्मेवार व्यक्तिले यस्तो अर्मुत कुरा गर्न मिल्छ ?’, प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै एक मन्त्रीले नाम नखुलाइदिन आग्रह गर्दै भने, ‘आफूले भनेको भएन भनेर जे पायो त्यहीँ बोल्दै हिँड्ने ? यो ठिक भएन ।’ प्रधानमन्त्री बोलीरहँदा मन्त्रीहरूभने चुपचाप सुनिरहेका थिए ।
‘एमसीसी सम्झौता नयाँ पनि होइन, पुरानै सम्झौता हो । यसलाई हामीले निरन्तरता दिन मात्रै खोजेको हो । त्यसैले अहिले एमसीसीबारे जेजे भ्रमहरूछरिएका छन् । ती मुख्य विषयहरुको श्वेतपत्र बनाएर प्रस्तुत हुनुको विकल्प छैन । बरु त्यसो गर्न सकिन्छ’, प्रधानमन्त्री ओलीले बैठकमा प्रधानमन्त्रीले आफ्नो योजनासहितको धारणा सुनाएका थिए । प्रधानमन्त्री ओली यतिमा मात्रै रोकिएन, उनले अरु स्पस्ट पार्ने प्रयास पनि गरेका थिए । ‘केही मन्त्रीहरुले नबुझेरै एमसीसीबारे बोलेको पनि सुन्छु । बरु बोल्नुनै छ भने बुझेर बोल्दा राम्रो हुन्छ’, प्रधानमन्त्री ओलीको भनाई थियो ।
उनले संसद सुचारु भएपछि एमसीसी प्रकृयामा जाने पनि बताएका थिए । ‘अव संसद चलेपछि एमसीसी प्रकृयामा जान्छ । त्याहाँ छलफल हुन्छ । करेक्सन गर्नुपर्ने भएपनि त्यहीबाट करेक्सन हुन्छ अनि त्यहीँबाट वैधानिकता पाउँछ र पास हुन्छ’, उनले अन्तिममा निर्णय सुनाएका थिए– ‘तपाईँहरूकोही पनि भ्रममा नपर्नुस, एमसीसी पास हुन्छ ।’