काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गर्न संसदसमक्ष आग्रह गरेका छन्।
आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन्।
'हामी यसै पनि ढिलो भइसकेका छौं, अब हाम्रा कामलाई संसदले, सरकारले र हरेक ठाउँबाट तीब्र गतिमा बढाउन जरुरी छ, नत्र हामी वास्तवमै पछाडि पर्छौं', प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने, 'अरु विषयहरुमा म फेरि आफ्ना कुराहरु राख्नेछु। अहिले हामीले थुप्रै विधेयकहरु पारित गरेर ऐन निर्माण गर्नुपर्ने छ, प्रस्तावहरु पारित गर्नुपर्नेछ। र, हामीले धेरै अगाडिदेखि गर्दै आएको, विभिन्न चरणहरु पार गर्दै आएको, ६–७ जना प्रधानमन्त्रीहरु गुजार्दै आएर अहिले संसदसमक्ष अनुमोदनका लागि प्रतीक्षा गर्दै आएको एमसीसी लगायतका कुराहरु पारित गर्नुपर्ने छ।'
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले दलहरुको एकताबद्ध पहलकै कारण संविधानसभाबाट संविधान जारी भएको र संविधान बनेपछि आम निर्वाचन पनि सहज रुपमा सम्पन्न भएको स्मरण गरे। 'यी सबै कुराले हामीलाई एकताबद्ध ढंगले अघि बढ्न सन्देश दिएका छन्', प्रधानमन्त्रीले भने, 'अब हाम्रा अजेण्डा, हाम्रा विषयहरुलाई पनि हामीले सुशासन र विकासतर्फ केन्द्रित गर्न जरुरी छ।'
अब सम्झौतालाई महत्वपूर्ण ठान्ने र सत्यलाई कम महत्व दिने कुरा गर्ने समय नरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले तीब्र गतिमा अगाडि बढेको दुनियाको गतिलाई हामीले पक्डिन नसके समयले पनि नपर्खने बताए ।
सरकारको लोकतन्त्रप्रतिको निष्ठाप्रति शंका नगर्न आग्रह गर्ने शैलीमा प्रधानमन्त्रीले भने, ]मेरो सबैमा आग्रह छ, आज हामी यस गतिलाई समाउन सकौं । यस कामको नेतृत्व अहिलेको सरकारले गर्छ, हामीले लडेर ल्याएको प्रणाली, त्यस प्रणाली अनुकुलको संविधान, त्यस संविधान अनुकुलका कानुनको निर्माण र कार्यान्वयन, यी कुराहरुमा सरकार प्रतिबद्ध छ ।]
प्रधानमन्त्री ओलीले यतिबेला स–साना कुरा र आग्रहमा अल्झिने तथा अनावश्यक बहसमा अल्झिने कुरा गर्न उपयुक्त नहुने समेत बताए ।
उनले भने, 'केही दिनपछि म आजको राजनीतिक अबस्था, विभिन्न चर्चामा रहेका समसायिक सान्दर्भिक विषयहरु र हामीले गर्नुपर्ने काम, तत्सम्बन्धमा नेपाल सरकारको दृष्टिकोण बारेमा छुट्टै कुरा राख्नेछु ।'
प्रधानमन्त्रीले सरकारले अगाडि सारेको नेपाल भ्रमण बर्ष २०२० को शुरूआतमै प्राकृतिक कारणले केही धक्का लागे पनि सरकारले त्यसलाई सावधानीपूर्वक सामना गर्नेगरी तयारी गरिरहेको बताए ।