दैलेख । कर्णालीमा कर्मचारी नआउने समस्या देखिएको वेला जिल्लाको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य राज्यमन्त्री नवराज रावत जाजरकोट पुगेका छन् ।
दुर्गम जिल्लाको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर आफू स्थलगत अनुगमन तथा निरीक्षणमा कर्णालीका विभिन्न जिल्लामा पुगेको मन्त्री रावलले बताए । ‘सुर्खेत, रुकुम पश्चिम, सल्यानलगायतका जिल्लाका स्वास्थ्य संस्थाको निरीक्षण कार्य भईरहेको छ,’ उनले भने, ‘स्थलगत रुपमा कर्णालीका जिल्लाहरूको समस्या बुझेर स्वास्थ्य क्षेत्रमा प्रभावकारी कदम चाल्न स्थलगत भ्रमण शुरु गरिएको हो ।’
स्वास्थ्यकर्मीले सुगम मात्र रोजेर नहुने उल्लेख गरेका मन्त्री रावतले सरकारी छात्रवृत्तीमा पढ्ने तर सुगम मात्र बस्न खोज्दा दुर्गमका जनताले स्वास्थ्य सेवा सुलभ रुपमा नपाएको बताए । ‘सरकारले खटाएको ठाउँमा नजाने तर मन्त्री र मन्त्रालयको वरीपरी घुमिरहने कर्मचारीलाई अब टुलुटुलु हेर्न सकिन्न,’ उनले थपे, ‘स्वास्थ्यकर्मीको थप सेवा सुविधाका विषयमा बरु हामी छलफल गर्न तयार छौं ।’ कर्णालीका सबै जिल्लाका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीहरु बस्न नमान्दा समस्या आएको भन्दै मन्त्री रावतले यहाँ आउने स्वास्थ्यकर्मीलाई सरकारले विशेष सेवा दिन लागेको खुलासा गरे । कतै स्वास्थ्य संस्थाको अभाव, कतै स्वास्थ्यकर्मीको अभाव त कतै निर्माण व्यवसायीले काम नगरेको गुनासो आफुले प्रशस्त भेटेको बताएका मन्त्री रावतले संविधानमा उल्लेख भएको बाँच्न पाउने अधिकारबाट बञ्चित कर्णालीका नागरिकलाई कसरी प्रभावकारी स्वास्थ्य सुविधा दिन सकिन्छ भन्नेमा आफू निकै गम्भीर भएको जिकिर गरे ।
जाजरकोट जिल्लाको समग्रः स्वास्थ्य समस्या, औषधि खरिद, एम्बुलेन्सको अभावलगायतका समस्याप्रति जिल्ला स्वास्थ्य कार्यालयले मन्त्री रावतको ध्यानाकर्षण गराएको छ । वास्थ्य संस्थामा कर्मचारी नहुँदा काम गर्न समस्या भएको भन्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशीला बस्नेतले तत्काल यस्ता समस्याको समाधान गरी कामको गति बढाउने कार्यमा चाँसो बढाईदिन मन्त्री रावतलाई आग्रह गरिन् ।
कार्यक्रममा भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले ५० शैयाको अस्पताल अवधारणा त गरियो तर व्यवस्थापनका हिसाबले सवै सेवा प्रवाह हुन नसकेको भन्दै आफूले गरेका निर्णयको कार्यान्वयन गर्न आग्रह गरे ।