सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले कानून निर्माण गरेर आमसञ्चार प्रतिष्ठान गठन गर्ने बताएका छन् । कानून नहुँदा प्रतिष्ठान गठन गर्न विविध समस्या आइपरेको उल्लेख गर्दै अब प्रदेश सभामार्फत यस सम्बन्धी कानून निर्माण गरेर प्रक्रिया अघि बढाउने जानाकारी दिए ।
नवौं विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) कर्णाली प्रदेश कमिटीले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्र्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले गठन आदेशबाट प्रतिष्ठान गठनको काम हुन नसकेपछि संसदमा विधयककै रुपमा पारित गरेर अघि बढ्ने तयारी भइरहेको खुलासा गरे ।
कर्णाली परिवर्तनका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै मन्त्री भण्डारीले सञ्चार माध्यम बिना विकास र समृद्धिको लक्ष्य हाँसिल गर्न नसकिने बताए । ‘प्रदेश सरकारले पत्रकार दुर्घटना बिमा, पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ती दिने जस्ता कार्यक्रमहरु अघि बढाएको छ ।’ उनले भने, ‘पत्रकार र सञ्चार माध्यममा भएका अभावहरु न्यूनीकरण गर्न कर्णाली प्रदेश सरकार सचेत छ ।’
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमाया ढकालले पत्रकारको जीवन तथा कामको सुरक्षितका लागि सरकारले ध्यान दिनुपर्ने बताइन् । कानून अभावमा स्थानीय तहमा सोचे अनुसारका कामहरु गर्न नसकिएको भन्दै उनले त्यसमा पनि सञ्चार माध्यमको सहयोगको अपेक्षा गरिन ।
कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोको सवालमा कर्णाली प्रदेश नमूना भएको बताए । राज्यको ध्यान नपुगेका यहाँका विभिन्न क्षेत्रमा रेडियोले नमूना काम गर्न सफल भएको जिकिर गरे । सामाजिक सञ्जालमा आउने विभिन्न खालका फेक समाचारको दोष रेडियो टेलिभिजन, पत्रपत्रिका जस्ता सञ्चार माध्यामलाई दिनु नहुने उल्लेख गरे । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले स्थानीय जनता र समुदायका आवाज बोल्ने रेडियोहरु थुप्रै चुनौतीको सामना गर्दै अगाडि बढ्न सफल भएको बताए । ‘संघीयता पछि रेडियोको मुख्य चुनौती कानून हो ।’ उनले भने, ‘यसले रेडियोलाई खुम्च्याउँने देखिन्छ । स्थानीय तहले मनपरी रेडियोसम्बन्धी ऐनहरु बनिरहेका छन् ।’
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन शुरु गरिएको थियो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई विश्व रेडियो दिवसका रुपमा मनाउने घोषणा गरिएको थियो ।