सागर परियार/हस्त बुढा
जुम्ला । चन्दननाथ नगरपालिकाका मेयर र उपमेयरका बीचको विवाद सतहमा आएको छ । लामो समय अधिकार क्षेत्रका विषयमा भएको विवादका बारेमा उपमेयर अप्सरादेवी न्यौपाने महतले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेपछि विवाद सतहमा आएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार मेयर सेजुवालले आफ्नो कार्यक्षेत्रमा समेत हस्तक्षेप गरेको आरोप लगाएकी उपमेयर न्यौपानेले नगरपालिकाका थुप्रै कामहरू कानून विपरीत अपारदर्र्शी रूपमा अघि बढेको खुलासा गरेकी छन् । ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ उपदफा ४ बमोजिम योजनाहरूको अनुगन तथा मूल्यांकनको जिम्मेवार स्थानीय तहको उपमेयर/उपाध्यक्षलाई तोकेको छ ।’ उनले भनिन्, ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा १ ले न्यायिक समितिको संयोजक पनि उपमेयर/उपाध्यक्षलाइनै तोकेको छ । यति मात्र होइन, अनुगमन समितिको प्रतिवेदन बिना कुनै पनि योजनाको भुक्तानी गर्ने नहुने कानूनी व्यवस्था छ । तर जुम्लाको चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले ऐन विपरीत २०७५/०७६ यताका सबै योजनाको अनुगमन समेत आफैले गर्नु भएको छ ।’
मेयर सेजुवाल आफैले अनुगमन नगरेरै योजनाको भुक्तानी दिने, काम सम्पन्न गर्न ढिला भएका योजनाहरूका ठेक्कामा नियम विपरीत म्याद थप्ने लगायत थुप्रै कामहरू ऐन विपरीत गर्ने गरेको खुलासा गरेकी उपप्रमुख न्यौपानेले प्रचलित ऐन कानून मिचेर मेयर सेजुवाल आर्थिक अनियमिततामा संलग्नता रहेको गम्भीर आरोप लगाईन् ।
२१ सदस्यीय कार्यपालिका भएको नगरपालिकामा उपमेयर न्यौपाने सहित ६ जना वडा अध्यक्ष र ४ जना कार्यपालिका सदस्य गरेर ११ जनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा आर्थिक वर्ष २०७४/०७५ को सबै योजना मेयर सेजुवालले ऐन विपरीत आफै अनुगमन गरेको, वर्षभरीको कुनै पनि बजेट नियम अनुसार खर्च नभई अनियमितता भएको आरोप लगाइएको छ । चन्दननाथ नगरपालिका–२ का वडा अध्यक्ष धनराशी भण्डारीका आर्थिक वर्ष २०७४/७५ मा चालुतर्फ विनियोजित १८ करोड बजेट मध्ये अपुग २ करोड रकम अहिलेसम्म मिलान नभएकाले बजेटको नीतिगत अनियमितता भएको देखिन्छ ।
‘नगरपालिकाको बजेटमा निकै अपारदर्शी देखिएपछि कार्यपालिकाको बहुमतले आर्थिक वर्ष २०७५/०७६ को सार्वजनिक सुनुवाईसमेत स्थगित गरेको थियो ।’ उपमेयर न्यौपानेले थपिन्, ‘मेयरले कार्यालयको भन्दा आफ्नो घरको काम प्रयोजनमा प्रयोग भएको सवारी साधन सञ्चालन बापत एक लाख ५० हजार बराबरको इन्धन खर्च भएको छ ।’ नगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ कै बजेटमा तलिउम, शनिगाउँ, क्याम्पस सडकलगायतका योजनामा झण्डै १ करोड २० लाख बजेटमा समेत अनियमिता भएको आशंका कार्यपालिका बहुमत पदाधिकारीले गरेका छन् ।
यस बारेमा मेयर सेजुवालले आफूलाई उपमेयरले आरोप मात्रै लगाएको दावी गरेकी छन् । तथ्यहिन कुरामा उपमेयरले समय खेर फाल्न नहुनेमा सुझाव दिएकी उनले सबै आरोपहरू निराधार रहेको दाबी गरिन् । बिना आधार मेरो चरित्र हत्या गर्ने मनसायले निकालिएको प्रेस विज्ञप्तिको खण्डन केही दिनमा गर्छु,’ मेयर सेजुवालले भनिन्, ‘बिना प्रमाण चरित्र हत्या गर्ने खालका कामहरू जिम्मेवार व्यक्तिबाट नभएको भए राम्रो हुन्थ्यो ।’
४२ लाखका योजना अनुगमन बिनै भुक्तानी
जुम्ला जिल्ला सदरमुकामसमेत रहेको चन्दननाथ नगरपालिकाको आर्थिक वर्ष २०७४÷७५ को वार्षिक कार्यक्रममको ४२ लाखका योजना मेयर सेजुवालले अनुगन बिनै तथा एकल निर्णयमा भुक्तानी गरेको पाइएको हो । चन्दाननाथ नगरपालिका–८ लामासिम सडक निर्माणको १० लाख, वडा नम्बर २ अन्तर्गत खाली भदाली सडकको १४ लाख, जुगाडखोला तटबन्द निर्माण १० लाख र नगरपालिकाको कम्पाउण्डको पर्खाल निर्माणको ८ लाख ५० हजार गरी करिब ४२ लाख ५० हजारका योजना अनुगमन बिनै भुक्तानी भएको तथ्य बाहिर आएको ।
‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ उपदफा ४ बमोजिम सबै योजनाहरूको अनुगन तथा मूल्यांकनको जिम्मेवारी उपमेयरलाई दिएको भए पनि आफूसँग कुनै समन्वय नगरेरै प्रमुखको एकल निर्णयमा बजेट भुक्तानी भएको उपप्रमुख न्योपानेले बताइन् । ‘नगरपालिकामा स्वेच्छाले बजेट खर्च गर्ने परिपाटीको अन्त्य गरी नगर विकासका लागि संयुक्त रूपमा अगाडि बढ्ने निर्णय भए पनि पटक–पटक मेयर सेजुवालले कार्यपालिकाले गरेको निर्णय उलंघन गर्दै आउनु भएको छ ।’ उनले भने, ‘कानूनका बारेमा जानकार भएर पनि मेयरले किन यसरी नगरविकासमा बाधा पु¥याउन खोजेकी हुन् भन्ने विषयमा सबै कार्यपालिका सदस्य अनविज्ञ छौं ।’ प्रमुख जिम्मेवार व्यक्तिबाटै कानूनले दिएको काम अधिकार क्षेत्रलाई हस्तक्षेप गर्नु भनेकै पारदर्शीतामा समस्या पैदा भएको उल्लेख गरेकी उपमेयर न्यौपानेले अब पनि सुधार नभए नगरपालिका भित्रका बेथितिका प्रमाणलाई समेत सार्वजनिक गर्ने बताइन् । ‘०७४/७५ को बजेटमा २ करोड अपुग थियो, अनुगमन बिनै बजेट भुक्तानी भएको थियो ।’ उनले भनिन्, ‘अडिट कसरी सम्पन्न भयो भन्ने विषय पनि अनुसन्धानमै रहेको छ । अख्तियार पनि मुखमा बुझो लगाएपछि चुप लाग्दा रैछन् भन्ने उदाहरण चन्दननाथमा देखिएको छ ।’
मेयर उपमेयरबीच बोलचाल छैन
स्थानीय तहको निर्वाचन भएको दिन देखिनै शुरू भएको चन्दननाथ नगरपालिकाका मेयर र उपमेयर बीच लामो समयदेखि बोलचाल नै बन्द भएको छ । मेयर उपमेयरबीच विवाद हुनुको वास्तविक कारण के हो भन्ने बारे कसैलाई जानकारी नभए पनि नगरपालिका स्रोतका अनुसार मेयर सेजुवाल र उपमेयर न्यौपानेबीचको सम्बन्ध पानी बाराबारको अवस्थामा पुगेको छ । मेयर र उपमेयर लामो समयदेखि एकै कार्यक्रममा जानै छोड्नु भएको छ ।
आफ्नो नाम उल्लेख नगर्ने शर्तमा नगरपालिकाकै एक जना अधिकृतका अनुसार अहिले दुवैजना एकै मञ्चमा बस्नसमेत छोडिसक्नु भएको छ । ‘सार्वजनिक कार्यक्रममा समेत मेयर आए उपमेयर नआउने, उपमेयर आए मेयर नआउने अवस्था छ ।’ उनले भने, ‘उनीहरूको विवादले नगरपालिकाभित्रको विकास निर्माणको काम जुन रूपमा हुनुपर्ने थियो त्यो हुन सकेको छैन ।’ अर्काको कार्यक्षेत्र मिचेर काम गरेकाले केही विवाद सृजना भएको स्वीकार गरेकी उपमेयरले कानूनी व्यवस्थालाई समेत लत्याउन खोज्दा आफूलाई असह्य भएको उल्लेख गरिन् । तर, विवादका बारेमा मेयर सेजुवालले बाहिर आएजस्तो विवाद नभएको उल्लेख गर्दै नगरपालिकाको सम्बन्धमा उपमेयरले समन्वय गर्न आफू कहाँ आउनुपर्ने उल्लेख गरिन् । आफूले आवश्यक परेको खण्डमा समन्वय र साझेदारी गर्दै आएको दाबी गरेकी सेजुवालले मनका कुण्ठा पोखेर हिड्नुभन्दा कमजोरीलाई प्रमाणित गर्न चेतावनी दिइन् ।