काठमाडौं। अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था मिलाउन काठमाडौं उपत्यकामा दुई दर्जन मोबाइल पसल (घुम्ती पसल) सञ्चालन गरिने भएको छ। निजी डिपार्टमेन्टल स्टोरसँगको सहकार्यमा सरकारले २४ ओटा मोबाइल पसल शुरू गर्न लागेको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई सरकारी कम्पनी ९साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी० र उपत्यकामा सञ्चालित निजी डिपार्टमेन्टल स्टोरहरूलाई मोबाइल भ्यानमार्फत घुम्ती पसल सञ्चालन गर्न निर्देशन दिइसकेको छ। आपुर्ति मन्त्रीले उपत्यकामा दुई दर्जन घुम्ती पसल सञ्चालन गर्न निर्देशन दिएका हुन्।
मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेशनले ४ ओटा र खाद्य व्यववस्था तथा व्यापार कम्पनीले दुई ओटा घुम्ती पसल सञ्चालन गर्नेछन्। १८ ओटा घुम्ती पसल भने निजी क्षेत्रबाट सञ्चालन हुनेछ।
आपुर्ति मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीका अनुसार मन्त्रीको निर्देशनपछि भोलिदेखि नै उपत्यकामा घुम्ती पसल शुरू गर्ने तयारी छ। जहाँ खाद्यान्न र अत्यावश्यक वस्तु उपलब्ध हुनेछ।
कम्पनीहरुले निश्चित स्थानमा भन्दा पनि ग्राहकको मागअनुसार धेरै वस्ती भएका ठाँउहरुमा मोबाइल भ्यानमार्फत अत्यावश्यक वस्तुहरू विक्रीका लागि पुर्याउने छन्। यसका लागि गृहमन्त्रालयसँग सहकार्य भइसकेको पनि आपूर्ति मन्त्रालयले जानकारी दिएको छ।
घुम्ती पसल ग्राहकको मागअनुसार उपत्यकाका प्रत्येक स्थानमा पुग्ने बताइएको छ। त्यसका लागि सम्बन्धित कम्पनीको ल्याण्डलाइन नम्बरमा फोन गरेर अर्डर गर्न सकिने छ।
‘११ चैतदेखि नै सञ्चालनमा ल्याउने भनिए पनि उक्त दिन घोडेजात्राको विदा परेकाले सम्भव भएन’, केसीले भनिन्, ‘सोहीकारण, हिजो मन्त्रालयमा भएको बैठकबाट मन्त्रीज्यूले सरकारी तथा निजी क्षेत्रका कम्पनीहरुलाई घुम्ति पसल सञ्चालन गर्न निर्देशन नै दिनुभएको छ।’ बैठकमा निजी क्षेत्रले सञ्चालन गरेका ठूला डिपार्टमेन्टल स्टोरहरुका सञ्चालकहरू पनि उपस्थित थिए। भाटभटेनी, बिगमार्ट, सेल्सबेरी लगायत उपत्यकामा सञ्चलिन निजी डिपार्टमेन्टल स्टोरहरुले यो सेवा दिने मन्त्रालयले जानकारी दिएको छ।
साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले पनि मन्त्रालयको निर्देशन अनुसार मोबाइल पसल सञ्चालन गर्ने काम अघि बढेको बताइन्। जसका लागि उपत्यकामा रहेका ठूला खाद्यान्न पसलहरूसँग समन्वय भइरहेको उनले जानकारी दिइन्। साल्ट ट्रेडिङले भोलिदेखि नै केही मोबाइल पसल संचालनमा ल्याउने उनको भनाई छ।
साल्ट ट्रेडिङले लकडाउनपछि काठमाडौं उपत्यका, भक्तपुर र काभ्रेमा गरी छ वटा पसल शुरू गरिसकेको छ। बनेपा, भक्तपुर, कोटेश्वर, सतुङ्गल, कालिमाटी र जावलाखेलमा नयाँ पसल शुरू गरिएको श्रेष्ठले बताइन्।
घुम्ती पसलमा खाद्यान्न, तरकारी, फलफूल, माछामासु, दुध तथा दुधजन्य पदार्थ, पानी, सरसफाई सामाग्री, चिनी, तेल जस्ता वस्तु उपलब्ध हुनेछन्।