काठमाडौं। बागलुङकी ६५ वर्षीया महिला कोरोना भाइरसको संक्रमणबाट मुक्त भएकी छन्। नेपालमा छैटौँ केसका रूपमा संक्रमण देखिएकी बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया महिलाको तेस्रो र चौथोपटकको रिपोर्ट नेगेटिभ आएको हो।
उनलाई डिस्चार्ज गर्ने तयारी भइरहेको धौलागिरि अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा। शैलेन्द्र वि पोखरेलले बताए।
आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको अन्तिम परीक्षण रिपोर्ट नेगेटिभ आएको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताए। “पहिलो रिपोर्ट नेगेटिभ आएको २४ घण्टापछि उनको दोस्रो परीक्षण गरिएको थियो”, उनले भने, “त्यो रिपोर्ट पनि नेगेटिभ आएको छ।”
मेयर पौडेलले महिलाको घर अस्पताल नजिकै रहकाले आजै डिस्चार्ज गर्न लागिएको जानकारी दिए।
धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पोखरेलका अनुसार पनि सकेसम्म आजै नभए भोलि ती महिलालाई घर पठाउइनेछ।
४ चैतमा बेल्जियमबाट कतार हुँदै कतार एअरको क्यूआर ६५२ को फ्लाइटबाट उनी नेपाल आएकी थिइन्। उनीसँगै आएकी बागलुङ ३ कै १९ वर्षीय युवतीमा कोरोना संक्रमण देखिएपछि ६५ वर्षीया महिलामा देखिएको थियो।
युवतीको भने परीक्षणको रिपोर्ट अझै नेगेटिभ आइसकेको छैन। बागलुङ पुगेकी उनलाई १७ चैतमा गते कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा भर्ना गरी उपचार भइरहेको थियो ।
अस्पतालबाट डिस्चार्ज भएकपछि ती महिलालाई अझै केही समय घरकै क्वारेन्टाइनमा बस्नुपर्ने चिकित्सकहरूले बताएका छन् ।
यसअघि आज मात्रै संक्रमित दोस्रो १९ वर्षीया युवती प्रसिद्धि श्रेष्ठलाई डिस्चार्ज गरिएको थियो। उनी पनि ४ चैतमा बेल्जियमबाट फ्रान्स हुँदै कतार एअरकै क्यूआर ६५२ को विमानमा आएकी थिइन्।
नेपालमा पहिलोटक कोरोना भाइरस संक्रमण देखिएका युवा पनि डिस्चार्ज भइसकेका छन्। कोभिड-१९ परीक्षणमा दुईपटक रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्ने गरिन्छ।