काठमाडौँ: राष्टिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच पार्टी एकता घोषणा भएको छ। तराईं मधेस केन्द्रित दुई दलले बुधबार मध्यराति पार्टी एकता गर्ने सैद्धान्तिक सहमति गरेका हुन्।
नयाँ एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ। पार्टीको झण्डा समाजवादीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा राख्ने र चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता राख्ने सहमति भएको छ।
सरकारले दल विभाजनका लागि खुुकुलो हुने गरी राजनीतिक दल सम्बन्धी ऐन अध्यादेशबाट संशोधन गरेपछि समाजवादी विभाजन हुने निश्चित भएको अवस्थामा दुई दलले एकता घोषणा गरेका हुन्। दुवै दलसँग संघीय संसदमा १७/१७ जना सांसद रहेका छन्।
समाजवादीका कम्तिमा सातजना सांसदले एक दुई दिनभित्रै पार्टी विभाजन गर्ने अन्तिम तयारी गरेपछि राजपा र समाजावादी त्यसलाई समेत रोक्ने गरी एकताका लागि तयार भएको एक नेताले जानकारी दिए।
यी दुईं पार्टीबीच एकताका लागि यसअघि नै गृहकार्य हुँदै आए पनि समाजवादी सरकारमा भएका कारण रोकिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस केन्द्रित दललाई विभाजन गर्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि उनीहरु काउण्टर दिन एक ढिक्का भएका हुन्।


मध्यरातमा बाबुरामले यस्तो भने
मध्यरातमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी, नेपालबीच एकताका लागि सहमत भएका छन् । दुबै दलहरूले बुधवार राति दुबै पार्टीका शीर्ष नेताहरूबीच छलफल पश्चात ४ बुँदे सहमती घोषणा भएको छ । जसमा दलको झण्डा, नाम र चुनाव चिन्हहरूका बारेमा उल्लेख छ ।
सहमती पश्चात समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईले अब देशमा देशमा कम्युनिष्ट र कांग्रेसको विकल्पमा भरपर्दो अग्रगामी लोकतान्त्रिक शक्ति निर्माण भएको घोषणा पनि गरेका छन् । उनले सहमती पश्चात ट्वीट गर्दै सबैलाई एकतावद्ध हुन आग्रह पनि गरेका छन् ।