काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या चार हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा थप ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि संक्रमितको संख्या चार हजार नाघेको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ संक्रमितसहित देशैभर कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको जानकारी दिए । उनका अनुसार महात्तेरीमा ५० जना, धनुषामा ४५, चितवनमा २४, रौतहटमा २१, रुपन्देहीमा २०, कञ्चनपुरमा १९, सर्लाहीमा १६ र नवलपुरमा १५ जनामा संक्रमण भएको छ ।
यस्तै सल्यान, नवलपरासी र सिराहामा १२÷१२, बाग्लुङमा ११, कपिलवस्तु र दार्चुला १०÷१०, बाँके ९, डडेलधुरा र सप्तरीमा ७/७, दाङ ६, सुर्खेत ४, मोरङ ३, जुम्ला र नुवाकोट २÷२ जनामा कोरोना संक्रमण भएको छ ।
त्यसैगरी इलाम, सुनसरी, धादिङ, म्याग्दी, सर्लाही र कैलालीमा एकएक जनामा संक्रमण पुष्टि भएको छ । इलाममा आज पहिलो पटक संक्रमित फेला परेका हुन् ।