काठमाडौं । पार्टीको निर्देशन विपरित संविधान संशोधनको पक्षमा मतदान नगरेपछि समाजवादी पार्टीले आफ्ना प्रतिनिधिसभा सदस्य सरिता गिरीलाई पार्टी र सांसद पदबाट बर्खास्त गर्ने तयारी गरेको छ ।
समानुपातिक निर्वाचन प्रर्णालीबाट पार्टीको कोटामा सांसद बनेकी गिरी पार्टी निर्णयविरुद्ध उभिएपछि गिरीलाई समाजवादी पार्टीले बर्खास्त गर्ने तयारी गरेको हो ।
समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राइले पार्टी निर्णय नमान्नेलाई पार्टीले कारबाही गर्ने बताए । नेपालबोटसँग् कुराकानी गर्दै उनले भने,‘हामी छलफलमै छौँ । उहाँको कुरा सुनेर कारबाही गर्ने वा सिधैँ बर्खास्त गर्ने भन्ने मात्र टुंगो लागेको छैन । सकभर प्रष्टिकरणको मौका पनि दिएर कारबाही गरौँ भन्ने विषयमा छलफल चलिरहेको छ ।’
पार्टीको संसदीय दलले ह्वीप जारी गरे पनि सांसद गिरीले संविधान संशोधन प्रक्रिया बहिष्कार गरेकी थिइन् । यसअघि संविधान संशोधनको विपक्षमा उभिने सरिता गिरीका सम्बन्धमा छलफल गर्न बसेको समाजवादी पार्टीको संसदीय दलको बैठकले संविधान संशोधनको पक्षमा मत नहाल्नेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।
संसदीय दलको कार्यालयमा बसेको बैठकले भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटिएको नक्सालाई संविधानको अनुसूची ३ को निशानछापमा अध्यावधिक गर्ने प्रस्तावको पक्षमा मत हाल्न आफ्ना सबै सांसदलाई निर्देशन दिए पनि गिरीले बैठक नै बहिष्कार गरेकी थिइन् ।
मत बाझिदै
सांसद गिरीलाई कारबाही गर्ने विषयमा समाजवादी पार्टीभित्र मत बाझेको छ । पार्टी र सांसद दुबै पदबाट सँधैका लागि हटाउने वा केही समयका लागि हटाउने भन्ने बारेमा फरकफरक विचार पार्टीमा देखिए पछि पछिल्लो समय पार्टीमा मत विभाजन भएको हो ।
एक नेताका अनुसार नयाँ राजनीतिक तथा प्रशासनिक नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी सांसद गिरीलाई पार्टीको ह्विप नमानेको कारण देखाउँदै कारबाही गर्ने तयारी भएपनि पार्टीको एक पक्षले उनको बचाउ गरेपछि मत बाझिएको हो ।
‘हिजो नै संसदीय दलको बैठक बसालेर पार्टीबाट निस्कासन गरिएको जानकारी गराउने तयारी भएको थियो । तर संसदीय दलका नेता नभएको र बाहिर भए पनि मातहतका पदाधिकारीलाई कुनै निर्देशन नदिएका कारण अघि बढेन ।’ उक्त स्रोतले भन्यो ।
अहिले पार्टी नेता उपेन्द्र यादव छोराको विहेका लागि विराटनगरमा, डा. बाबुराम भट्टराई गोरखा र प्रमुख सचेतक उमाशङ्कर अरगरिया उदयपुर पुगेका कारण पनि सांसद् गिरीलाई कारबाही गर्न ढिला भएको हो ।
संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान छ ।