झापा । जिल्लाको हल्दिवारी गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत कार्यक्रममा गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, वडासदस्यमाथि भएको आक्रमणमा दुई जना गम्भीर घाइते भएका छन् ।
बुधबार शुरु भएको गाउँपालिकाको सातौँ गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम वडाध्यक्षसहित परिषद सदस्यहरुले अध्ययन गरेपछि मात्रै पारित गर्नुपर्ने आवाज उठाएपछि सोही अनुसार २०७७ असार २९ गते गाउँसभा सम्पन्न गर्ने भन्दाभन्दै आफूमाथि आक्रमण भएको अध्यक्ष रवीन्द्रप्रसाद लिङदेनले बताए ।
‘अल्पमतमा रहेका सदस्यहरूले समानुपातिक रूपमा बजेटको बाँडफाँड हुनुपर्ने, बजेट वितरणको अवस्था र नीति तथा कार्यक्रम अध्ययन गर्न पाउनु पर्ने माग राखेपछि स्वभाविक मागलाई मैले अल्पमत, बहुमतभन्दा पनि नीतिगत कुरालाई ध्यान दिँदै बीचबीचमा छलफल गरेर २९ गते समापन गर्ने भन्दै थिएँ, त्यही बेला नेकपाका कार्यकर्ताले आक्रमण गर्दै मलाई लछार–पछार पारे ।’ उनले भने, गाउँसभा जस्तो गरिमामय कार्यक्रममा मै माथि नैं आक्रमण हुन थालेपछि बचाउने क्रममा वडा सदस्यसहित अरु पनि घाइते भए ।
‘बहुमतको दम्भले गाउँसभामा भएको घटना सिर्जिएकाले त्यसको जिल्मा नेकपाले लिनु पर्ने अध्यक्ष लिङदेनले बताए । कार्यक्रममा एक कम्युनिष्ट नेताका नाममा बाटोको नामाकरण गर्न नेकपाको जवरजस्ती र व्यक्ति विशेषका नाममा नभइ सबैलाई अपनत्व हुने नामाकरण गरिनुपर्ने अन्यले धारणा राखेपछि त्यसमा मतभेद सिर्जना भएको थियो ।
नीति तथा कार्यक्रम अध्ययन गर्न पाउनु पर्ने परिषद् सदस्यहरूको अधिकारमाथि जबरजस्ती बहुमतले पेल्न खोजेको अर्का एक परिषद् सदस्यले बताएका छन् । गाउँपालिका उपाध्यक्ष डम्बर गिरी, वडाध्यक्ष त्रिलोचन सापकोटा, महेश मेचेलगायत नेकपा समर्थकहरुले गाउँपालिका अध्यक्ष सहितलाई आक्रमण गरी घाइते बनाएको वडा नं।–४ का वडाध्यक्ष होम चुडालले जानकारी दिए ।
अन्धाधुन्ध भएको आक्रमणका क्रममा गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, वडा नंं–४ का वडाध्यक्ष होम चुडाल, ५ नम्बर वडाका वडाध्यक्ष शेरबहादुर नेम्वाङसहित वडा सदस्य मदन तामाङको छातीमा चोट लागेको बताइएको छ ।
घटनामा भएका अन्य घाइते भीम तुम्बापो र भिमराज फियाकको विर्तामोडस्थित विर्ता सिटी हस्पिटलमा उपचार भइरहेको छ । झडपका क्रममा गाउँपालिका रहेको भवनको झ्यालका शिशासमेत फुटेको छ । घटनापछि अध्यक्ष लिङ्देनसहित केही वडाध्यक्षहरु सभा छोडेर बाहिरिएका थिए ।
झडप भएर गाउँपालिका अध्यक्ष बाहिरिएपछि नेकपा समर्थित जनप्रतिनिधिहरूले उपाध्यक्ष डम्बर गिरीको सभापतित्वमा सभा सञ्चालन गरी बजेट तथा नीति कार्यक्रम पारित गरेको गाउँपालिका स्रोतले बताएको छ ।