काठमाडौं। नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्यतालिकामा भने कोभिड(१९ का कारण सामान्य हेरफेर हुने जनाएको छ।
पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा १४औं महाधिवेशन निर्धारित समयमै गर्ने र अन्य अधिवेशनका तालिकामा भने हेरफेर गर्नेबारेमा छलफल भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
सो निर्णय पार्टीको आगामी केन्द्रीय समिति बैठकबाट पारित गराउन कांग्रेसले यही असार १६ गते दिउँसो १ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ।
कांग्रेसले गत माघ १३ गतेको केन्द्रीय समिति बैठकबाट पार्टी मातहतका निकायका अधिवेशन र १४औं महाधिवेशन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको थियो।
सो तालिकाअनुसार २०७६ फागुनदेखि २०७६ चैतसम्म पार्टीको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने कार्यसम्पन्न गर्ने अवधि तोकेको थियो।
उक्त कार्यतालिका अनुसार जिल्लामा क्रियाशील सदस्यता फाराम पुर्याउने काम भए पनि कोभिड(१९ का कारण वितरण र नवीकरण कार्य प्रभावित भएको थियो।
कांग्रेसले १४औं महाधिवेशनका लागि गाउँरनगर वडा अधिवेशन आगामी कात्तिक १६ गते, गाउँरनगरपालिका अधिवेशन कात्तिक १८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ गतेका लागि निर्धारण गरेको थियो।
यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २५ गते, प्रदेश अधिवेशन आगामी मंसिर २९ गते र केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका सार्वजनिक गरिएको थियो ।
कांग्रेसको १३औं महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्ममा काठमाडौंमा भएको थियो। कांग्रेसका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्ष हुने विधानमा उल्लेख भए पनि विधानकै अर्को व्यवस्थाअनुसार एक वर्ष समयावधि यसअघि नै थप गरिसकिएको छ।