काठमाडौं । राष्ट्रिसभामा बोल्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनले नेपालको सीमा अतिक्रमण गरेको झूटो प्रतिवेदन बनाउने कारखानाको खोजी भइरहेको बताएका छन् ।
नेपाल चीन सीमामा कुनै समस्या नभएको उल्लेख गर्दै मन्त्री ज्ञावलीलिे नागरिकमा भ्रम छर्ने खालको प्रतिवेदन बनाएर सञ्चार माध्यममा दिने व्यक्ति खोजि भैरहेको जानकारी दिए ।
सञ्चार माध्यममा कृषि मन्त्रालयको नापी शाखाको प्रतिवेदनलाई हवाला दिएर चीनले सात जिल्लामा सीमा अतिक्रमण गरेको समाचार प्रकाशित भएको थियो । यसको कृषि मन्त्रालयले गएको असार १० मै खण्डन गरेको थियो । आज बसेको राष्ट्रिय सभाको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले चीनले सात स्थानमा नेपाली सीमा अतिक्रमण गरेको भनेर आएको समाचार गलत भएको जानकारी दिए ।
'गोरखाको रुई गाउँ चीनले अतिक्रमण गरेको खबर पनि गलत हो ' मन्त्री ज्ञावलीले भने, 'दुई देशबीच औपचारिक सीमा निर्धारण हुनुअघि नै रुई र साना गाउँ लेकबेंसी जस्तो थियो । दुई देशले सीमा निर्धारण गरेपछि ११० घर कुरियालाई कता बस्ने भनेर रोज्न दिएको भन्दै उनले भने, ६० घर कुरियाले रुई र ४० घर कुरियाले यता बस्ने भनेर रोजे । त्यहाँ जबरजस्ती भएको होइन।’
विक्रम संवत २०१६ चैत ९ मा भएको सीमा सम्झौता र २०१८ असोज १९ मा भएको सीमा सन्धिअनुसार ९८ वटा बाउन्ड्री मार्कर (सीमा चिह्न) बनेको उल्लेख गरेका ज्ञावलीले निकै विकट भएका कारण सीमा चिह्न ३७ र ३८ कोर्न नसकिएको प्रष्ट पारे । नेपाल, भारत र चीनको त्रिदेशीयबिन्दु तोक्न बाँकी छ । नेपाल र भारतको सीमा विवाद समाधान भएपछि त्रिदेशीय बिन्दु निर्धारण गर्ने परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।
दुई देशबीच भएको सहमतिअनुसार नेपाल चीन सीमामा जीपीएस जडान गर्न बाँकी छ । मन्त्री ज्ञवालीले भने, ‘यसबाहेक नेपाल चीन सीमामा अरू कुनै समस्या छैन ।’ तर चीनले नेपाली सीमा अतिक्रमण गरेको समाचार कसरी आए ? फेक प्रतिवेदन कहाँ तयार भयो ? भनेर सरकारले खोजी गरिरहेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।