काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गर्दै नेकपा सचिवालयका ६ जना नेता उनीविरुद्ध एकजुट भएर अघि बढ्न सहमत भएका छन् । भेलामा सचिवालय सदस्यसहित स्थायी कमिटीका ३१ जनाको सहभागीता रहेको थियो ।
ललितपुरको झम्सीखेलमा भएको पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डु' वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, पार्टी उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश' र सचिवालय सदस्य रामबहादुर थापा 'बादल' सहभागी भएको भेलामा ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने सहमति बनेको एक नेताले जानकारी दिए ।
बैठकले आफ्नै पार्टीका नेताविरुद्ध आफू निकट पत्रकार र नेताहरु लगाएर विभिन्न आरोप लगाएकाले अब ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । ओलीले नेकपा एमाले दर्ता गर्नका लागि महेश बस्नेतलाई खटाएको र आफू अध्यक्ष भएकै बेलामा अर्को पार्टी दर्ता गर्नु नैतिक हिसाबले पनि उनी एक मिनेट पनि प्रधानमन्त्री तथा अध्यक्षमा बस्ने नैतिकता हैसियत गुमाएको भेलाको ठहर छ ।
भेलामा सचिवालयका सदस्यहरुले ओलीले पार्टी दर्ताका लागि पठाएका प्रमाणका विषयमा पनि छलफल भएको छ । झम्सीखेल बैठकमा पहिलो पटक गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी भएका छन् । भेलामा आफ्नो विचार राख्दै गृहमन्त्री थापाले प्रधानमन्त्री ओलीले पार्टी र सरकारको तर्फबाट सही नेतृत्व दिन नसकेकाले तत्काल उनको विकल्प खोज्नुपर्ने बताएका एक स्थायी कमिटी सदस्यले नागरिकखबरलाई जानकारी दिए ।
पछिल्लो समय प्रधानमन्त्री ओली निकट भनेर चिनिएका बादल झम्सीखेल बैठकमा गएपछि सचिवालयमा ओलीसँग दुईजना मात्र सदस्य भएका छन् ।
यसैबीच प्रधानमन्त्री ओलीले पनि आफू निकट नेताहरुसँग बालुवाटारमा छलफल गरेका छन् । महासचिव विष्णु पौडेल, सचिवालय सदस्यसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहितका नेताहरुसँग बालुवाटारमा स्थायी कमिटी बैठकको रणनीतिका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।