तर, कमजोर देखिएपनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाल समुहले मागेको राजीनामा सहजै स्वीकार गर्ने पक्षमा उहाँ देखिनुहुन्न ।
पहिलो रणनीति यसअघि जस्तै अध्यक्ष प्रचण्डसँग मिलेर जाने देखिन्छ । त्यो उपाय काम नलागे बहुमतमा लागि प्रयास हुनेछ । त्यसमा पनि सफल नभए अरु बाटोहरु खोज्नेमा प्रधानमन्त्री ओलीको रणनीति छ ।
संसद विघटन गर्ने, संकटकाल लगाउने वा दल विभाजन खुकुलो बनाउने, अध्यादेश फेरि जारी गर्ने र संसदीय दलमा बहुमत पुर्याएर सरकार नछाड्ने विकल्प आउनेसक्ने भित्र बहस भइरहेका छन् ।
निकटस्थका अनुसार तर ओली प्रचण्ड सके गलाउने नभए फकाउने, संसदीय दलमा बहुमत कायम राख्ने दुईवटा रणनीतिलाई पहिलो प्रयोग गर्ने मनस्थितमा हुनुहुन्छ । अरु विकल्व पछि आउन सक्ने ओली निटकका एक नेताले बताउनुभयो ।
नौ सदस्यीय सचिवालयका ६ र ४४ सदस्यीय स्थायी कमिटीका ३० सदस्यले ओलीको राजीनामा माग्ने सहमति गरेका छन् ।
सिद्धान्त अनुसार बहुमत सदस्यले एकमत गरेको विषयमा पार्टी नेतृत्व जान तयार हुनुपर्छ । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित सचिवालय र स्थायी कमिटीका बहुमत नेताले ओलीलाई प्रधानमन्त्री पदबाट हटाउने निष्कर्ष निकालीसकेका छन् ।
राजीनामा दिन माग आएपनि प्रधानमन्त्री ओली राजीनामा दिन तयार नभएको उहाँको मन्त्रिपरिषद्का सदस्य लेखराज भट्टले जानकारी दिनुभयो । ‘राजीनामा माग्न सकैले सक्छन तर माग्दैमा दिनुपर्छ भन्ने छैन ’ उहाँले भन्नुभयो, ‘राजीनामा समस्याको समाधान होइन। एक ठाउँमा बसेर सम्वाद गरेर सहमतिबाट निकास खोज्नुपर्छ । ’
नेकपाको अन्तरिम विधानमा एकता महाधिवेशनसम्म दुई अध्यक्षको सहमतिमा पार्टी सञ्चालन हुने व्यवस्था छ । तर, सहमति नभए बहुमतीय प्रक्रियाबाट निर्णय गर्न सकिने व्यवस्था छ ।