पाँचथर। याङ्वरकमा वर्षेनी महानवमीका दिन नचाइने निशान यस वर्ष कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण नचाइएन। नेपाल एकीकरणका क्रममा तत्कालीन लिम्बूवान पक्षले पाएका ताम्रपत्र र दुई निशान याङ्वरक(४ स्थित कालिकाधाममा नचाउने गरिएको थियो।
कोभिड-१९ को महामारीका कारण इतिहासमै पहिलोपटक निशान नचाउने काम स्थगन भएको निशान मेला व्यवस्थापन समितिका अध्यक्ष एवम् वडाध्यक्ष शहरनन्द योङ्हाङले बताए।
निशान नचाउने कार्यक्रम राखिए ठूलो संख्यामा दर्शनार्थी सहभागी हुने र सङ्क्रमण फैलन त्रास रहने भएकाले निशान नचाउने मेला स्थगन गरिएको जनाइएको छ। यस वर्ष मेला स्थगन भए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै निशानसहितका हातहतियार र कालिकाधाममा पूजार्चना भने गरिएको छ।
नेपाल एकीकरणका क्रममा तत्कालीन गोरखा र लिम्बूवान फौजबीच कयौँ पटकका लडाइँमा हारजीत हुन नसकेपछि दुई पक्षबीच सम्झौता हुँदा लिम्बूवान पक्षले पाएको ताम्रपत्र र निशान नचाउने गरिएको थियो।
कोरोना भाइरस सङ्क्रमणको त्रासले करिब अढाइ सय वर्षपछि पहिलो पटक निशान नचाउने क्रम यस वर्ष रोकिएको अध्यक्ष योङ्हाङले जानकारी दिए।
एकीकरणका क्रममा लडाइँमा गोरखा फौजले प्रयोग गरेका हातहतियारसहितका दुई निशान प्रत्येक वर्ष महानवमीका दिन याङ्वरक(४ स्थित कालिकाधाममा प्रदर्शन गर्ने तथा पशु बलि दिने गरिएको थियो। युद्धकै शैलीमा पुराना हातहतियारसहित नचाइने निशान हेर्न देशविदेशबाट समेत दर्शनार्थी आउँथे। कालिकाधाम र सँगै रहेको याङ्वरक (पैसाको पोखरी) दर्शनले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ।
श्रीजङ्ग र श्रीकम्फू निशान प्रदर्शन हेर्न पाँचथरसहित पूर्वका ताप्लेजुङ, तेह्रथुम, धनकुटा, इलाम, झापालगायत जिल्लाबाट तथा भारतका सिक्किम र दार्जिलिङ तथा भुटानबाट समेत दर्शनार्थी आउने गरेको मेला व्यवस्थापन समितिका अध्यक्ष योङ्हाङले बताए।
विगतमा नवरात्र सुरु भएसँगै घटस्थापनाका दिनदेखि यहाँ पूजार्चना हुन्थ्यो। यस वर्ष भने त्यस्तो हर्षोल्लास नदेखिएको स्थानीयवासीले बताएका छन्। निशान र हातहतियार वि।सं। १८३१ देखि केही समय पाँचथरको याङ्वरकमै राखिएकामा वि।सं। १८८० देखि श्रीकम्फू र वि.सं. १९१२ देखि श्रीजङ्ग निशानसहितका हतियार प्रदर्शन गर्न थालिएको हो।