काठमाडौं । पार्टी भित्रको विवाद उत्कर्षमा पुगेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक बोलाउने तयारी भएको छ ।
पार्टीका नेताहरुबीचको दूरी बढ्दै गएपछि भोलि सचिवालय बैठक बोलाउने तयारी गरिएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै परामर्श गरेपछि महासचिव विष्णु पौडेलले शनिबार सचिवालय बैठक बोलाउने तयारी गरेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीका विश्वश पात्रका रुपमा रहेका महासचिव पौडेल लगायतका नेताहरु वालुवाटारकै सल्लाहमा स्थायी कमिटि बैठकको तयारीमा दौडधुप गर्न थालेका छन् ।
प्रचण्डले अहिले देखिएका विवाद बैठकबाट समाधान गर्नुपर्ने बताएका छन् भने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली पहिले अध्यक्षद्वयबीच छलफल हुनुपर्ने पक्षमा छन् । तर, विवाद थप बढ्न थाल्ने अवस्था आएपछि बैठकमार्फत निकास खोज्न ओली सहमत भएका छन् । बैठक बोलाउन सहमत भए पनि ओलीले मितिमा सहमति जनाउन बाँकी छ ।
महासचिव पौडेलले ओलीसँग थप परामर्श गरेर भोलिको कुनै समय बैठक बोलाउने एक सचिवालय सदस्यले नागरिकखबरलाई जानकारी दिए । मन्त्रिपरिषद् हेरफेर र बिस्तार, राजदूत नियुक्ति, कर्णाली प्रकरण र पछिल्लो समय रअ प्रमुखसँग प्रधानमन्त्रीको भेटवार्ताका विषयमा विवाद बढेको छ ।
प्रचण्डद्वारा आन्तरिक छलफल तिब्र
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग रुष्ट बनेका पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संवादका लागि धमाधम ‘दूत’ खुमलटार पठाउन थालेपछि प्रचण्डले पनि ओलीसँग अब कसरी प्रस्तुत हुने भन्ने विषयलाई लिएर आन्तरिक छलफललाई तिब्रता दिएका छन्।
प्रचण्डले खासगरी दुई दिन यता पूर्वमाओवादी पृष्ठभूमिका आफू पक्षका नेताहरु, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसँगै उनीहरु पक्षधर नेताहरुसँग पार्टीको आगामी बाटोबारे निरन्तर छलफल गरिरहेको उनी निकट एक नेताले बताए।
‘अहिले सबै एकै ठाउँमा बस्ने स्थिति छैन। तर सम्भव भएअनुसार प्रचण्डले नेताहरुलाई पालैपालो खुमलटार बोलाएर छलफल गरिरहनु भएको छ। केहीसँग फोनबाटै सल्लाह–सुझाव लिइरहनु भएको छ,’ती नेताले भने।
छलफलका क्रममा ओलीबाट पार्टी स्थायी कमिटी र केन्द्रीय सचिवालय बैठकको निर्णय उल्लंघन मात्रै नभई, राष्ट्रघाति कामसमेत हुन थालेको र अब अन्तिम कदममा जुट्नु पर्ने साझा धारणा आइरहेको ती नेताको भनाई छ।
तर ठोष निर्णय लिनका पुरानै गठबन्धन अर्थात भैँसेपाटी गठबन्धन गहन छलफलमा जुट्नु पर्ने उनीहरुको मान्यता छ। त्यसका लागि शुक्रबार या शनिबार नै उक्त गठबन्धनको बैठक डाक्ने तयारी भइरहेको ती नेताले बताए।
‘हामीले पहिले पनि पार्टी जोगाउन ओलीसँग अनेक सम्झौता गरेका हौँ। तर ओलीले त्यसको सम्मान होइन, मनलाग्दी काम गर्नु भयो। अब उहाँलाई छुट दिन सक्ने अवस्था छैन,’ती नेताले भने।
प्रचण्डलाई छलफलका लागि आफैले फोनमार्फत पटकपटक बालुवाटार बोलाउँदा पनि नआएपछि ओलीले दुई दिनमा आफ्ना विश्वासपात्रहरु विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेललाई ‘दूत’का रुपमा खुमलटार पठाइसकेका छन्। र, ओली पक्षका नेताहरु सिहंदरबार र बालुवाटार बराबरी आन्तरिक समीक्षा पनि गरिरहेका छन्।
माधवकुमार नेपालको साथले हालै कर्णाली घटनामा जित हाँसिल गरेका प्रचण्ड अहिले पनि नेपालसँगै खनाल, गौतम र श्रेष्ठको साथ आफूले पाउनेमा ढुक्क रहेको र त्यसैअनुसार उनीहरुका सल्लाह–सुझाव लिएर ओलीविरुद्ध उत्रिने रणनीति उनले बनाएको बुझिएको छ।
ओलीले प्रचण्डसँगको सम्बन्ध सुधार गर्न नसकिरहेका बेला नेता नेपाललाई दुई पटक बालुवाटार बोलाएर सहकार्यका लागि आग्रह गरेको भएपनि नेता नेपाल ओलीको विश्वास गरिहाल्ने स्थितिमा नभएको बुझिएको छ।
त्यसका कारण प्रचण्डले नेपाललाई कर्णाली विवादमाझैँ ओली विरुद्धको अभियानमा साथ दिन आग्रह गरेको नेपाल निकट एक नेताले बताए। उनले भने,‘ओलीका कारण प्रचण्डलाई पहिले भन्दा झन अप्ठ्यारो परेको छ। उहाँ नेपालको साथ चाहिरहनु भएको छ। त्यसका लागि उहाँहरुबीच निरन्तर छलफल भइरहेको छ।’
यसो त ओलीको कार्यशैली नबदलिएपछि नेपाल पनि ओलीसँग रुष्ट नै छन्। ‘ओलीले केही पनि काम गर्नु भएन। त्यसले राष्ट्रव्यापीरुपमा असन्तुष्टि उब्जिएको छ। आक्रोश पनि त्यतिकै छ। ओलीको विरोधाभासपूर्ण कामको परिणाम के हुन्छ आज त भन्न सक्दिनँ तर यसको परिणाम गम्भीर आउनेमा म ढुक्क छु,’ओलीसँग रुष्ट एक प्रभावशाली नेताले भने। उनले नेकपामा पार्टी एकता भएयताकै गम्भीर समस्या देखिएको बताए।
यता ओली पक्षका केही नेताहरुले भने भैँसेपाटी गठबन्धन ब्युताउन थालेपछि प्रचण्ड–नेपाल पक्षले ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको भन्दै सूचना दिन थालेका छन्।
बिहीबार ओली निकट एक नेताले भने,‘संवादबाट हल हुने विषयलाई लिएर प्रधानमन्त्रीलाई सत्ताबाट हटाउने खेल भइरहेको छ। मेरो जानकारी आए अनुसार ओलीविरुद्ध प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन्।’
उनले बाहिर पार्टी निर्णय उल्लंघन गरेको भन्दै अफवाह फैलाएपनि भित्र भने सत्ताका लागि प्रचण्ड–नेपाल समूहले मन्त्रिको ‘बार्गेनिङ’ गर्दै आएको बताए।
भदौँ २५ गतेको स्थायी कमिटीबाट पारित १५ बुँदे प्रस्तावले असोज मसान्तसम्म पार्टी एकताका बाँकी काम सक्ने भनेको छ। खै सकेकोरु महाधीवेशनको कार्ययोजना तय गर्न केन्द्रीय कमिटी बैठक कार्तिक १५ देखि १७ गतेसम्म गर्ने भनिएको थियोरु खै बैठक बसेको रु प्रचण्डका ध्यान मात्र सत्तामा छ। त्यसैले पुनः विवाद उत्पन्न भएको हो,’ ती नेताले भने।
नेकपामा यसअघिका अधिकांश विवाद ओली र प्रचण्डबीच कामकारवाहीमा तालमेल नमिल्दा उत्पन्न भएका छन्। पछिल्लो पटक ओलीले दुवै पदबाट राजनीनामा दिनुपर्ने अवस्था आएपछि र पार्टी विभाजनको डिलमै पुगेपछि त्यसलाई बचाउन गत साउन ३० गते ‘समस्या समाधान सुझाव कार्यदल गठन गरिएको थियो।
कार्यदलले भदौ ६ गते ओली र प्रचण्डबीच गत वर्ष मंसिर ४ गते भएको कार्यविभाजनसम्बन्धी सहमतिलाई पुर्नब्याख्या गर्दै स्पष्ट पार्दै अन्य पार्टी एकतासम्बन्धी प्रस्तावसहित प्रतिवेदन ओली र दाहाललाई बुझाएको थियो।
भदौ २५ गते पारित १५ बुँदे प्रस्तावमा ओली पूर्णरुपमा सरकारको कामकारवाहीमा केन्द्रीत हुने, प्रचण्ड पार्टीको कामकारवाहीमा केन्द्रीत हुने तर एकअर्कासँग समन्व्य गर्दै अघि बढ्ने निर्णय गरिएको थियो।
यस्तै संवैधानिक नियुक्ति, राजदूत नियुक्ति र मन्त्रिपरिषद् हेरफेर गर्दा पार्टीको सल्लाह–सुझाव लिनुपर्ने निर्णय समेत प्रस्तावमा गरिएको छ। तर स्थायी कमिटी बैठकबाट प्रस्ताव पारित भएको एक महिना नपुग्दै प्रधामन्त्री ओलीले आफूखुशी राजदूत नियुक्ति गरेर प्रचण्ड–नेपाल समूहलाई चिड्याएका थिए।
त्यसलगत्तै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदा, ओलीले आफ्ना विश्वास पात्रलाई मात्रै मन्त्रिपरिषदमा स्थान दिँदा, भारतीय जासुसी संस्था ९रअ० प्रमुखलाई भेट्दा र ओली पक्षका नेता–कार्यकर्ताबीचको झडपमा पर्सामा पूर्वमाओवादी पृष्ठभूमिका नेताको मृत्यु हुँदा प्रचण्ड–नेपाल पक्ष ओलीसँग आक्रोशित बन्न पुगेका छन्।