बाजुरा । बाजुराका ९ वटा स्थानीय तहमध्ये सदरमुकाम मार्तडी समेत रहेको बडिमालिका नगरपालिकामा २५ वटा सामुदायिक विद्यालय छन् ।
जहाँ २ हजार ७ सय १८ जना विद्यार्थी पढ्छन् । नगरपालिकाले सन् २०२२ सम्म सबै विद्यालयलाई बालमैत्री बनाउने लक्ष्य सहित काम गरिरहेको छ । तर त्यसअनुसारका भौतिक संरचना नबन्दा बालबालिकाको सिकाई प्रभावित हुने गरेको छ । नगरभित्रको शैक्षिक स्थितीमा सुधार ल्याउन विद्यालयमा तीन ताराको अवधारणा अनुसार काम गरेको एक बर्ष पुरा भयो ।
आगामी दुई वर्षभित्र तीन तारा प्राप्त गर्न विद्यालयले बालबालिकाका लागि पर्याप्त सुविधा सहितको भौतिक संरचना निर्माण गरेको हुनुपर्नेछ । यद्यपि अहिले नगरपालिका भित्रका विद्यालयमा त्यस्तो कुनै सुविधा देखिँदैन । चर्पीमा ढोका छैन भने बालबालिकाले आफैं धाराबाट पानी बोकेर शौचालय जानुपर्ने अवस्था छ । २० जनाको लागि एउटा शौचालय हुनुपर्ने मापदण्ड तोकिएकोमा अहिले ९७ जना विद्यार्थीका लागि एउटा मात्र शौचालय हुँदा घरमा आएर सौच गर्नुपर्ने बाध्यता रहेको मष्टेश्वरी आधारभुत विद्यालय रापकका शिक्षक हेमकला रावल बताउनुहुन्छ ।
नगरपालिका भित्रका सबै विद्यालयमा बालमैत्री संरचनाका लागि आवश्यक पर्ने आधारहरु कुनै पनि पूरा भएका छैनन् । कतिपय विद्यालयमा अहिले पनि गाउँबाट खानेपानी बोकेर पु¥याउनुपर्ने बाध्यता रहेको कैलाश आधारभुत विद्यालयका प्रधानाध्यापक धन बहादुर कार्कीले बताउनुभयो । बालबालिकाको शिक्षा सम्बन्धि अधिकारलाई सुनिश्चित गर्न विद्यालय पु¥याएर मात्र पुग्दैन, उनीहरुको इच्छा अनुसार सहज वातावरणमा पठनपाठन गराउनु पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
बालअधिकार सम्बन्धी महासन्धीले सबै बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि विना कुनै भेदभाव गुणस्तरीय शिक्षा पाउनुपर्ने कुरामा जोड दिएको छ । नेपालको कानुनले पनि सुरक्षित वातावरणमा पढ्न लेख्न पाउनुपर्ने बालबालिकाको अधिकारलाई सुनिश्चित गरेको छ । यद्यपी बाजुराका अधिकांश विद्यालयमा बालबालिकाहरु सहज रुपमा पढ्ने वातावरण छैन । बाजुराका विद्यालयको भौतिक संरचना हेर्दा कुनैपनि कोणबाट बालमैत्री छैनन् । कक्षा १ देखि ३ सम्मका बालबालिकालाई एउटै कक्षामा राखेर पढाउनु परेको शिक्षकहरु गुनासो गर्छन् ।
बालमैत्री विद्यालय बनाउने नगरपालिकाको अभियान राम्रो भएपनि प्रभावकारी देखिएको छैन । तर नगर प्रमुख पदम बडुवाल नगरपालिका आगामी दुई वर्ष भित्र काम हुनेमा आशाबादी हुनुहुन्छ । २०७४ सालको तथ्याङ्क अनुसार, बाजुरामा २ सय २३ वटा प्रारम्भिक बाल विकास केन्द्र, १ सय ७६ वटा आधारभुत विद्यालय र ६३ वटा माध्यमिक विद्यालय छन् । ती सबै विद्यालय बालमैत्री संरचना निर्माणको प्रक्रियामा रहेका छन् ।