माघ १७, काठमाडौं । चितवनमा तीन अर्ब लगानी गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने घोषणा भएकै दिन चार करोड बढी रकम संकलन भएको छ ।
चितवनमा बनाउने घोषणा गरिए पनि कार्यक्रम भने राजधानीको राष्ट्रिय सभागृहमा गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न दलका शीर्ष नेताको ऐक्यबद्धताबाट सुरु गरिएको घोषणासभामा विभिन्न व्यापारिक समूह र व्यापारीले सहयोगको घोषणा गरेका हुन् ।
कार्यक्रममा एस ट्राभल्सले तीन करोड, उद्योग वाणिज्य संघ चितवनले ५० लाख, अल्का अस्पतालले २५ लाख, आरएम ग्रुप, मुक्तिनाथ विकास बैंकले पाँच÷पाँच लाख सहयोग गर्ने घोषणा गरेका छन् । यसैगरी, रविराज सिंहले ११ लाख, गायक बद्री पंगेनी, मह सञ्चार र भद्रगोल टोलीले एक÷एक लाख सहयोग गर्ने घोषणा गरेका हुन् ।
कार्यक्रममा रंगशाला निर्माण गर्ने सम्झौता पत्रमा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले हस्ताक्षर गरेका छन् । फाउन्डेसनले निर्माण सुरु गरेकै दिन हस्तान्तरणको मिति तोकेर काम पूरा गर्ने प्रतिबद्धता घोषणासभामा गरेको छ । ‘धुर्मुस’ले भने, ‘हामी बढीमा साढे दुई वर्षसम्ममा निर्माण गर्ने गरी मिति घोषणा गर्नेछौँ ।’
रंगशाला निर्माणमा इन्जिनियर रमेश ढकाल, अनिल पोखरेल र रविभूषण दाहाल सक्रिय रहेको भन्दै धुर्मुसले प्राविधिक रूपमा परिकल्पना गरेको भन्दा सुन्दर रंगशाला बन्ने दाबी गरे । उनले रंगशालालाई अझ सुन्दर बनाउन स्वदेश र विदेशका विज्ञसँग सहयोगको अपिलसमेत गरेका छन् । ‘यो महान अभियानमा हातेमालो गरिदिनुहोस् । यो देशको इज्जत बढाउने काममा सबै सहभागी बनौँ’, उनले भने, ‘बाँचुन्जेल असल कर्म गरौँ, धेरैभन्दा धेरै अभियन्ता कमाऔँ ।’
रंगशाला बनाउने क्रममा संकलन भएका रकम र गरिएका खर्च पारदर्शी गरिनेसमेत बताए । ‘आदरणीय मदनकृष्ण दाइले खर्चपर्चको विषयमा जोगिनुपर्छ भन्नुभएको छ’, धुर्मुसले भने, ‘प्रतिबद्धता जनाउनुछ, म पापको खोल ओडेर धर्ती छोड्न चाहन्न..र मसँग कुनै पनि स्वार्थ छैन ।
मेरेर जाँदा पनि फलानो व्यक्ति इमान्दारपूर्वक काम गर्न जन्मिएको थियो भन्ने बनाउन चाहन्छु ।’ उनले स्वदेश र विदेशमा बसेर दुःख गरेर कमाएको कसैको पनि रकम दुरुपयोग गर्ने मनसाय आफ्नो नरहेको विश्वास दिलाए । उनले हरेक हिसाब पारदर्शी बनाउनका लागि वरिष्ठ चार्टर एकाउन्टेन्ट मदन शर्मालाई जिम्मेवारी दिएको समेत जानकारी गराए ।
प्रधानमन्त्री ओलीले धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण अभियानमा सरकार सहयोगी बन्ने प्रतिबद्धता जनाए । उनले नेपालमा भएका रंगशाला पनि स्तरोन्नति गर्नुपर्ने अवस्था रहेको बताए । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण हुनेछ । डिपिआर तयार भएको २ वर्षभित्र निर्माण सम्पन्न हुने रंगशाला निर्माणको लागि तीन अर्ब लाग्नेछ । रंगशालाको डिपिआर ६ महिनाभित्र तयार हुने बताइएको छ ।
२० बिघा ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने रंगशाला २५ हजार दर्शक क्षमताको रंगशालामा ४ गेट रहने छ । मुख्य गेटको डिजाइन स्तूप रहनेछ । रंगशालासँगै अभ्यासका लागि दुई छुट्टै अभ्यास मैदानसमेत हुनेछ । यस्तै, क्रिकेट एकेडमी सहितको बन्न लागेको रंगशाला परिसरमा फुटबल, स्विमिङ, बास्केटबल, भलिबल, डन्डीबियोलगायत खेलको मैदानसमेत बन्नेछ ।