सिमकोट। हुम्लाको सिमकोट गाउँपालिकाले पशुवस्तुको माहामारीका रुपमा चिनिने पिपिआर रोग विरुद्धको खोप अभियान सुरू गरेको छ ।
वर्षेनि पिपिआर रोगका कारण थुप्रै पशुवस्तु मर्न थालेपछि गाउँपालिकाले पशु शाखा मार्फत खोप अभियान विहिबार विहान ८ वजेदेखि शुरु गरेको हो ।
अभियानको शुरुवात गाउँपालिका वडा नम्वर ६ को तिनधाराबाट गरिएको पशुहरुलाई फैलने माहामारी पिपिआर रोग विरुद्धको खोप अभियान सुरू गरिएको पशु शाखाका नायव पशु प्रविधिक विष्णु बुमीले बताए ।
सिमकोट लगायत जिल्लाभर पछिल्लो समय पशुवस्तुमन विभिन्न रोग देखा पर्न थालेपछि गाउँपालिका पशु शाखाको आयोजना र पशु अस्पताल तथा पशु सेवा कार्यालय हुम्लाको समन्वयमा पिपिआर खोप अभियानको थालनी गरिएको शाखाका नायव पशु प्रविधिक बुमीले जानकारी दिए ।
'गाउँपालिकाका आठ वटै वडामा भएका बाख्रालाई पिपिआर, गाईबस्तीलाई चरचरे र भ्यागुत्ते, कुखुरालाई रानीखेत र कुकुरलाई रेविज रोग विरुद्धको खोप दिइने छ', बुमीले नेपालवोटसँग भने, 'खोप अभियान शुरु गरिएको पहिलो दिनमै वडा नम्वर ६ माथिल्लो गाउँका २ सय ६० गाईगोरु, १ सय ८० बाख्रा, ४१ वटा कुखुरा र ६ वटा कुकुरहरुलाई उक्त खोप लगाइएको छ ।'
विहान ८ वजे सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदी, जनप्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागितामा खोप अभियानको उद्घाटन गरिएको थियो ।