सर्मिला रोकाया
कोल्टी (बाजुरा) । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं १ पिपलडालीका महाचन्द्र कार्की, उमेरले ८१ बर्ष पुग्नुभयो । उनको स्वास्थ्यले पहिले जस्ता काम गर्दैन । आँखा, कान लगायत शरीरका अन्य अंगले काम गर्न छोडे तर पनि आफुसँग भएको सीपलाई छाड्नुभएको छैन ।
उमेरले डाँडो काट्ेर शरीरका अंगप्रत्यगंले राम्रोसँग काम गर्न छाडे पनि कार्कीले आफूले सिकेको सीप गर्न छाड्न नसक्ने बताउँछन् ।
ऊनका कपडा, निगालोका डोका, डाला, खारे, पुजामा प्रयोग हुने टपरी बनाइरहने कार्की आफूले पुर्खाबाट सिकेको सीप आफ्ना छोरा नातीले पनि सिकोस भन्ने चाहाना राख्छन् । तर पछिल्लो समय नयाँ पुस्ताले यस्ता सीप सिक्ने प्रति कुनै चासो नदेखाएको प्रतिक्रिया उनको छ ।
‘जिजुबाजे (वा र हजु वा) देखि गर्दै आएको सिप हामीले पनि छारा नातीलाई सिकाउन पाए हुन्थ्यो भन्ने लाग्छ’, मलिन अनुहार लगाएर उनले नेपालवोटसँग भने ‘पछिल्ला छाचुरी (वालवालिका) क्यापो नयाँ पुस्ता भनन्नार (नयाँ पुस्ताका नाममा) हाम्बा (हाम्रो) सिपप्रति चासो नराखेपछि यो सिप हारउँदै जान्या भैगो (लोप भएर जाने भयो) ।’
एक छोरी, दुई छोराका वुवा कार्कीले घरको गर्जो टार्न यहि पेशालाई प्रयोग गर्दै आएको बताए । ‘२२ वर्ष अघि जोइ (श्रीमती) काल (मृत्यु) भयादेखि अट्को पड्डा (समस्या पर्दा) निगालाको डोको, खारे, भेडाका उन (रौं) को लिउ बेचेर समस्या टार्ने यो पेशा पटक्कै छोड्न मन लाग्दैन । तर क्यारु (के गरु) दुःखको कुणा (कुरा) म म¥याका दिन (मेरेको दिन) म सँगै यो पेशा पनि मोर (आर्यघाट) बाइजान्या (जाने) छ’ कार्कीले थपे ।
आफू सानो छँदा गाउँमा सिप गरेका व्यक्तिको कमि भएपछि निकै टाढा गएर सिकेको सिपलाई पछिल्लो पुस्ताले सिक्ने चासो नदेखाएपछि चिन्तित देखिएका कार्की भारतको रुपडिया र वनवास नाकाबाट आउने प्लाष्टिकका सामानले आप्mनो सिपको मूल्य घट्दै गएको उल्लेख गरे । ‘उहिले (उतिबेला) अहिलेको जस्तो आधुनिक प्रविधिको विकास भएको थिएन । जुन घर गएपनि आफैले बुनेका डोका, खोरे, लिउ प्रयोग गरेको देख्दा आत्मै देखि खुशी हुने कार्की बजारमा अहिले सबै सामान प्लाष्टिकका आउन र ति सामान निकै कम मूल्यमा किन्न पाइने भएपछि आप्mनो सिप विस्थापित भएको गुनासो गर्छन् । उनि भन्छन् ‘मैले सानै उमेर देखि घरका बान्ना (पर्खाल) चिन्ने, ऊनका कपडा, निगालोका डोका, डाला, खारे, पुजामा आवश्यक पर्ने टपरी बुन्ने, हलो बनाउने जस्ता थुप्रै सिपका काम गर्थे । पछिल्लो समय प्लाष्टिकका सामग्रीले पुर्खाबाट आर्जन गरेका मौलिक सीप हराउँदै जान थाले ।’
चालीस वर्ष पहिले गाउँभरी त्यस्तो सिप गर्ने आफू मात्रै भएको दावी गरेका कार्कीले पछि बिस्तारै अरुलाई पनि सिकाए । कार्कीले सिकाएपछि निगालोबाट डोको, खारे बुन्न सिकेको बताउनै सोही गाउँका ५१ वर्षिय गणेश कार्कीले पनि पछिल्लो पुस्ताले गाउँका कुनै सिपका बारेमा चासो नदेखाएकोमा चिन्ता गरे । उनका अनुसार निगालोबाट बनाइने डोका, खारे भन्दा प्लाष्टिकका सामान, भेडा र बाख्राको रौं बाट नुन्ने लिउ, फरुवा भन्दा बजारमा पाइने कार्पेट छरितो र सस्तो हुने भएपछि हरेक वर्ष आफूले बनाएका सामानको विक्रीमा कमी हुँदै गएको छ ।
‘एकातर्फ हामीले बनाएका सामान गाउँ र बजारमा पनि कम विक्री हुन थाले भने अर्कोतर्फ यो पेशालाई थप आधाुनिक र व्यवस्थित बनाउन स्थानीय, प्रदेश र केन्द्रको सरकारले पनि चासो नदेखाएपछि आप्mनो जीवन जिउने सारथी बनेको पेशा आफैसँग जाने भयो ।’ कार्कीले दुखेसो पोखे ।